• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पहिरोमा पुरिएर स्याङ्जामा ९ जनाको मृत्यु, नामावलीसहित

    709
    SHARES

    वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बिहीबार बिहान घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए ।

    मृत्यु हुनेमा ७ महिनाका बालक पनि रहेको प्रहरीले बताएको छ । बच्चा कसको हो र नाम के हो भन्ने नखुलेको डीएसपी अधिकारीले बताए । डीएसपी अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेमा १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, १६ वर्षीया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

    पहिरोमा परी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । यसैगरी कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

    उता लगातार वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नारायणीमा बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको थियो ।

    बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले नदी तटका साथै पहाडी क्षेत्रका बासिन्दालाई पनि सजग रहन अपिल गरेका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम

    असोज ८ गते (बिहीबार) दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

    असोज ९ गते (शुक्रबार) दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    राति : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

    असोज १० गते (शनिबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ