• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ ? यातायात विभागले गर्यो यस्तो अपिल

    6.7K
    SHARES

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण झन्डै ६ महिनापछि संचालनमा आएका लामो दुरीका यातायात यात्रा गर्दा घरबाटै खाना बोकेर जान अपिल गरेको छ।

    बुधबार एक विज्ञप्ति मार्फत विभागले यात्राका क्रममा जथाभावी खाना/खाजा खाँदा, सवारी साधनमा चढ्दा/झर्दा र अनावश्यक याता गर्दा कोभिड १९ को संक्रमण झनै फैलिन सक्ने खतरा रहेको भन्दै यात्रुहरुलाई आफुलाई आबश्यक पर्ने खाना/खाजा सकेसम्म आफैले घरबाट नै प्याकिङ्ग गरि साथमा लिएर हिड्न अपिल गरेको हाे ।

    त्यस्तै अत्यावश्यक भएमात्रै लामो दूरीको यात्रा गर्न समेत विभागले अपिल गरेको हो । विभागले सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

    स्वास्थ्य मन्त्रालयको पनि अपिल

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले लकडाउन तथा निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यमामा कोरोना संक्रमण बढ्दै गएको बताए ।

    उनले देशभर कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा ५० प्रतिशतमा संक्रमण देखिएको बताएका हुन् । ‘निषेधाज्ञा समाप्त भएको केही दिनमै काठमाडौँमा संक्रमणको दर तीव्र रुपमा बढेको छ,’ डा गौतमले भने, ‘संक्रमित संख्या मध्ये करिव ५० प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा नै भएको पाइन्छ ।’

    डा गौतमले कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौँ, चितवनलगायतका जिल्लामा कोरोना संक्रमण बढेको बताए । उनले पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँ उपत्यका र चितवनमा कोरोना संक्रमण देखिएको बताए ।

    स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकाका मात्र ७५५ जना छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा १३७ जनामा कोरोना पुष्टि भएको छ ।

    उनले काठमाडौँ लगायतका घना बस्तीहरुमा जनस्वास्थ्यको मापदण्ड पालना नहुँदा कोरोना संक्रमण बढ्दै गएको पनि बताए । भिडभाड बढी हुने स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न सबैलाई अपिल गरे ।

    सामाजिक र आर्थिक क्षेत्रलाई परेको असरबारे ध्यानमा राखेर काममा केन्द्रित हुँदै गर्दा धेरैले कोरोनालाई विर्सिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचेक्याइ भएको उनको भनाइ छ ।

    डा गौतमले कोरोना संक्रमण केही होइन भनेर सोच्नु पनि अर्को ठूलो भ्रम भएको र त्यसले आफु र आफ्नो परिवारलाई असर पर्ने बताए । डा गौतमले परिवारका वयस्क व्यक्तिले घरमा पुर्‍याउने संक्रमण घरमै रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सर्ने र त्यसबाट उनीहरुलााई बचाउन ठूलो चुनौती भएको बताए ।

    ‘हामी कामकाजी युवाहरु घरबाट काममा निस्किन्छौं, यदी मैले सतर्कता नअपनाए, मेरो परिवारलाई कोरोना संक्रमण सर्ने कारण म नै हुनसक्छु भन्ने कुरा सदैब दिमागमा राख्नुपर्छ,’ डा गौतमले भने, ‘युवाहरुमा कोरोनाका संक्रमणका लक्षणहरु नदेखिए पनि उहाँहरुले परिवारका अन्य सदस्यहरुलाई संक्रमण सार्न सक्नुहुन्छ ।’

    कोरोना संक्रमण पनि बढ्दै गएको र चाडपर्व पनि नजिकिदै गरेको अवस्थामा विशेष सावधानी अपनाउन पनि डा गौतमलले आग्रह गरे ।

    ‘अब छिट्टै नै दशैँ पनि नजिकिदै छ । हामी विभिन्न शहर र घना बस्तिबाट आफ्ना गाउँमा आफ्ना बुबा आमा, वृद्ध हजुरबुबा हजुरआमासँग आर्शिवाद लिन जाने क्रममा कतै कोरोना कोसेली त बोकेर जाँदै छैनौं भनेर सोच्ने बेला आएको छ,’ डा गौतमलले भने, ‘अर्को कुरा कोरोना संक्रमण बढ्दै गएको र दशैँ पनि नजिकिदै गएको अवस्थामा कोरोनाबाट आफु र आफ्ना परिवारलाई कसरी बचाउने भन्ने दायित्व छ ।’

    डा गौतमलले लक्षणसहित संक्रमित बढ्दै गएको समयमा सीमित स्रोत साधन भएकाले नेपालमा संक्रमितको व्यवस्थापन र उपचारमा ठूलो चुनौती रहेको पनि बताए । उनले कोरोना संक्रमति भएर पछुताउनु भन्दा कोरोना संक्रमण लाग्नै नदिन सचेत हुनुपर्ने बताए ।

    डा गौतमलले कोरोना संक्रमितसँग भेटेको व्यक्तिले भेट भएको छैटौं दिनमा कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् । उनले होम आइसोलेसनमा बस्दा संक्रमितले विशेष सावधानी अपनाएर आफ्नो सामान आफैँले सफा गर्ने, अन्य व्यक्तिको सम्पर्कमा नआउने, व्यायम गर्ने र आफुलाई रुची लागेको काम गर्न पनि आग्रह गरे ।

    यस्तै नेपाल सरकारले १ अक्टोबर अर्थात असोज १५ देखि कतार, साउदी अरब र कुवेतबाट पनि नियमित उडान गर्ने निर्णय गरेको छ । सरकारको निर्णयपछि प्रवासी नेपालीहरूले खुसी प्रकट गरेका छन् ।

    स्वदेश फिर्तीको पर्खाइमा बसेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसीको कुरा लेखेका हुन् । कतिपयले सरकारले ढिलो गरेकोमा आक्रोश प्रकट गरे पनि घर फर्किन पाउने भएकोमा सन्तोष प्रकट गरेका छन् ।

    गजेन्द्र हर्मेल सामाजिक सञ्जालमा लेख्छन्, ‘हामी खाडी मुलुकमा विभिन्न कारणले स्वदेश फर्कनु पर्नेहरूको हकमा ढिलै भए पनि नेपाल सरकारले राम्रो निर्णय गरेको छ खुशी लाग्यो, अब स्वदेश फिर्तिको लागि टिकट पनि अलिक सस्तोदरमा उपलब्ध गराइयोस् ।’

    यस्तै, कतारबाट संखुवासभाका केदार जोगी लेख्छन्, ‘आशा छ, महिनौँदेखि बेरोजगार, अभाव कष्ट तथा परिवारसँगको विछोडको पिडाले बिरानो भूमिमा छटपटाइरहेका नेपाली जनको ढिलै भए पनि नेपाल फर्किने सपना पूरा हुने छ, खुशी लाग्यो ।’

    साउदी अरबबाट दीपक आले लेख्छन, ‘रेगुलर उडान भनेर पैसा अहिले जति नै त लिने होला नि ? तर, जे होस् ढिलै भए पनि धेरै घर जान पाउँछन्, त्यो नै खुशी मानौँ साथीहरू ।’ कतारबाट सुनसरीका वीरेन्द्र लिम्बू लेख्छन्, ‘नेपाल सरकारले ढिलै भए पनि सही निर्णय गरेको छ, अब कतारबाट म लगायत धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्वदेश फर्किन सहज हुने अपेक्षा राखेको छु ।’

    यस्तै कुवेत लगाय नियमित उडान सुरु भएका अन्य देशहरूबाट पनि नेपाल सरकारले गरेको यो निर्णयले लामो समयदेखि स्वदेश फिर्तिको पर्खाइमा रहेका हजारौँ नेपालीहरूले सरकारलाई धन्यवाद दिएका छन् । कतिपयले सरकारले यसअघि नै चार्टर्ड उडानमार्फत राम्रो आम्दानी गरिसकेको र त्यसपछि मात्र नियमित उडान खोलेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पनि पोखेका छन् ।

    सेप्टेम्बरका लागि तय गरिएको तालिकाअनुसार अहिले उडान भइरहेको छ । अब नयाँ उडान तालिकाअनुसार कतारबाट नेपाल एअरलाइन्सका न्यारोबडी, वाइडबडी जहाज र हिमालय एअरलाइन्सले उडान भर्नेछन् ।

    यसैगरी, कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ । साउदी अरबको रियादबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्ने जनाइएको छ । यसअघि सरकारले कतार, कुवेत र साउदी अरबमा पीसीआर जाँच सहज नभएको भन्दै नियमित उडानमा रोक लगाएको थियो ।

    सोमबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा खाडी मुलुमा रहेका नेपाली राजदूतहरूले कोरोना संक्रमणको जोखिमका कारण विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि नियमित उडान संख्या बढाउन सुझाव दिएका थिए । कतार, साउदी अरब तथा कुवेतबाट मात्रै ४० हजारको हाराहारीमा नेपालीहरू स्वदेश फिर्तिको पर्खाइमा रहेका छन् ।

    उता ओमानले १ अक्टोबर (असोज १५) देखि नेपालीसहित विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने भएको छ । ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २२ सेप्टेम्बरको निर्णय अनुसार आगामी १ अक्टोबर बाट लागु हुने गरी नेपाल लगायत विदेशबाट ओमान फर्किन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार ओमान फर्किन चाहने कामदारहरुले साबिकमा लिनुपर्ने परराष्ट्र मन्त्रालयबाट जारी हुने एप्रुभल लेटर लिनु पर्ने छैन । ६ महिना (१८० दिन) भन्दा बढी अवधि ओमान बाहिर रहनेहरूको हकमा कम्पनीले फर्किन अनुमति दिएको कागजात ‘नो अब्जेक्शन लेटर’ लिएर मात्र ओमान प्रवेश गर्न पाइने दूतावासले जनाएको छ ।

    ओमान सरकारको यो निर्णयसँगै अब विभिन्न समयमा विदामा नेपाल गएका तथा कोरोनाका कारण प्रतिबन्ध लगाएपछि रोकिएर बसेका नेपाली कामदारहरु ओमान फर्किन पाउने भएका छन् । अहिले ओमानबाट भिसा सकिएका र विभिन्न कारणले रोजगारी गुमाएका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्किरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ