• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती- राष्ट्रपति

    520
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको बताइन् ।

    ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्दछ र यसका लागि प्रेस काउन्सिलको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ भन्ने मैले ठानेको छु,’ शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, ‘सूचना र सञ्चारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुठा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौति बनेको छ । सञ्चार क्षेत्रमा देखिएको चुनौती सामना गर्न प्रेस काउन्सिलको भूमिका अझ सशक्त हुन आवश्यक छ ।’

    कोरोना महामारीका कारण सञ्चार माध्यम र सञ्चारकर्मीसमेत पीडित हुनु परेकोमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रतिकूल परिस्थितिमा समेत अविचलितरूपमा पेशाप्रतिको दायित्ववहन गर्ने पत्रकारिता क्षेत्रको उच्च मूल्याङ्कन गरेको बताइन् । उनले आमसञ्चारको क्षेत्रमा देखिएका कमी-कमजोरीहरू हट्दै जाने विश्वाससमेत व्यक्त गरिन् ।

    भण्डारीले पत्रकार परपीडक हुन नहुने भन्दै आमसञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । ‘स्वतन्त्रता र चेतनाको संवाहकका रूपमा रहेको प्रेसको निब परपीडक हुनुहुँदैन’ उहाँले भन्नुभयो ।

    प्रेस काउन्सिलको वाषिर्कोत्सवका अवसरमा हरेक वर्ष राष्ट्रपति कार्यालयमा कार्यक्रम आयोजना गर्ने परम्परा छ । यस कार्यक्रममा विभागीय मन्त्री, सचिव र मन्त्रालयका उच्च पदस्थ अधिकारीको उपस्थिति रहने गरेको थियो ।

    यसपालि सञ्चार मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले सम्भालेका छन् । उनी प्रेस काउन्सिलको कार्यक्रममा अनुपस्थित रहे । यसैगरी, सञ्चार मन्त्रालयका सचिव हरि बस्याल, तथा काउन्सिलका सदस्य सचिव समेत रहेका सूचना विभागका महानिर्देशक किरणराज शर्मा कार्यक्रममा गएनन् ।

    प्रेस काउन्सिल स्रोतका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले प्रेस काउन्सिलको कार्यक्रम ‘बहिष्कार’ गरेका हुन् । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसित प्रधानमन्त्रीको चिसो सम्वन्ध रहँदै आएको छ । उनले श्रेष्ठलाई काउन्सिलबाट हटाउन पटक-पटक प्रयास गरे पनि अदालतले रोकेका कारण सफल भएका छैनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ