• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काभ्रेकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

    418
    SHARES

    काभ्रे । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसँगै काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्र झाले बताए ।

    उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकी थिइन् । हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको छ ।

    नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ ।

    पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् । एक सय ५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् ।

    यस्तै अस्पताल पुर्‍याएर पनि समयमा उपचार नपाउँदा झापामा एक वृद्धाको मृत्यु भएको छ । झापाको मेचीनगर–५ कि ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे मृत्यु भएको हो ।

    श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो ।

    तर, धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बनेको पारिवारका सदस्यहरूको दाबी छ । अस्पताल पुर्‍याउँदा पनि गेटबाट प्रवेश नै नदिएर तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्रममा गरेको स्वाब सङ्कलनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

    कोरोना सङ्क्रमण पुष्टि भएपछि तिम्सिनाको सोमबार बेलुका ८ बजे झापाको कनकाई घाटमा परिवारका सदस्य र आफन्तजनका साथमा नेपाली सेनाले दाहासंस्कार गरेको बताइएको छ । स्व.तिम्सिनाका छ छोरा र चार छोरी छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ