• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रिपरिषद् बैठक बस्दै, यस्ताे छ तयारी

    453
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे डाकेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल थप गर्ने लगायतका विषय छलफलमा छन् ।

    सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एक वर्षले थप गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो ।

    निर्देशक समितिको उक्त सिफारिसलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्ने तयारी छ । यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति तथा विभिन्न देशमा रिक्त राजदूत सिफारिसका विषयमा पनि निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

    पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले कोरोना महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायत महत्वपूर्ण संरचनाको पुनर्निर्माण सम्पन्न गर्न समय थप्ने सिफारिस गरेको जानकारी दिए।

    उनका अनुसार, थपिएको अवधिमध्ये करिब साढे ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम पूरा गर्नेछ। त्यसपछि बाँकी अवधिमा लेखापरीक्षण, फरफारक सकेर सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी जिम्मेवारी र पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्ने योजना रहेको ज्ञवालीले बताए।

    प्राधिकरणको अवधि आउँदो पुस १० गते सकिँदै छ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थपसम्बन्धी प्रावधान छ। उक्त दफामा उल्लेख छ, ‘प्राधिकरणको कार्यावधि पाँच वर्षको हुनेछ। कुनै कारणले सो अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभए नेपाल सरकारले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न वा प्राधिकरणले गरी आएको यस ऐनबमोजिमको काम अन्य निकायले गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ।’

    निर्देशक समितिको बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी मौजुदा बजेट योजना परिमार्जन गरी ४ खर्ब ८८ अर्बको संशोधित बजेट र कार्यक्रम स्वीकृत गरेको ज्ञवालीले जानकारी दिए।

    अब यही परिमार्जित बजेट तथा कार्यक्रमअन्तर्गत रहेर पुनर्निर्माणका चालू तथा बाँकी काम हुनेछन्। यसमा उल्लेख भएबाहेकका पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी काम विभिन्न तहगत सरकारलाई हस्तान्तरण गरिनेछ।

    यसअघि २०७६ पुस २८ गते बसेको निर्देशक समितिको १६ औं बैठकद्वारा गठित कार्यदलबाट पेस भएको प्रतिवेदन सदर गर्दै समितिले प्राधिकरणको समय थप एवं बजेट कार्यक्रममा परिमार्जनको निर्णय गरेको हो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया