• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कुलमानको बहिर्गमनपछि लाइन जान थालेपछि ऊर्जामन्त्रीकाे सचिवालयले दियाे यस्ताे प्रष्टीकरण

    1.3K
    SHARES

    काठमाडौं । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम उपभक्ताको आशंका छ, अब फेरि लोडसेडिङ हुने त होइन ?

    लाइन काटिने क्रम बढेको गुनासो समाजिक सञ्जालमा चुलिएपछि सरकार पनि दबावमा आएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनको सचिवालयले सोमबार विद्युत कटौतीबारे प्रष्टीकरण नै दिनु पर्‍यो ।

    मन्त्रालयले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।

    ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रीको निजी सचिवालयका अनुसार सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराहृन १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सर्फमरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।

    ‘त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो,’ मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले फेसबुकमा लेखेका छन् । उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।

    सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर-११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सनिको उनले जानकारी दिएका छन् । उर्जा मन्त्रालय र विद्युत प्राधिकरण विद्युत आपूर्ति कटौती बढेको मान्न तयार छैनन् ।

    उपभोक्ताहरु भने झ्याप्प-झ्याप्प लाइन जाने क्रम बढेको गुनासो गरिरहेका छन् । काठमाडौं, मनमैजुका श्याम क्षेत्री हिजोआज पटक-पटक लाइन काटिन थालेको बताउँछन् । ललितपुर, टिकाथलीका सनम वैद्यले आइतबार साँझ गएको लाइन मध्यरातसम्म नआएको बताउँदै सोधे, ‘नो लाइटमा फोन नै उठेन । प्राधिकरणमा हाकिम नहुँदैमा विजुली काटिनुपर्ने कारण के हो ?’

    हेटौंडाकी दिलु घर्तीले फेसबुकमा आक्रोश पोख्दै लेखेकी छिन्, ‘हिजोआज कति जान थालेको हो यो लाइन पनि ! अब विद्युत प्राधिकरण घेराउ गर्न जानुपर्छ जस्तो छ ।’

    त्यस्तै, भरतपुरका प्रेम श्रेष्ठले लेखेका छन्- भरतपुर महानगरमा आज बिहान ७ः३० बजे गएको विद्युत अहिले १२ः०० बजेसम्म आएको छैन । फेरि लोडसेडिङको भारम्भ भएको कि कतै बिग्रेर हो ?’ यस्ता गुनासा अहिले समाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन् । धेरैले लोडसेडिङ हो कि भन्ने प्रश्न उठाएका छन् ।

    नेतृत्व परिवर्तनले हो ?

    भदौ २८ गते कुलमान घिसिङको कार्यकाल सकिएसँगै लाइन जाने क्रम बढेकाले पनि आंशकाहरु व्यक्त भएका छन् । घिसिङलाई औपचारिक विदाइ गरेको भदौ ३१ गते विद्युत वितरण प्रणाली सबभन्दा धेरै अवरुद्व भएको थियो ।

    ६३० मेगावाट आवर इनर्जी विद्युत आपूर्तिमा अवरोध भएको त्यो दिन २४ हजार ६१२ मेगावाट आवर माग थियो । खपत भने २३ हजार ९८२ मेगावाट आवर मात्र भयो । ६ लाख ३० हजार युनिट बिजुली माग भएर पनि वितरण हुन सकेन ।

    अविरल वर्षा, बाढीपहिरो र हावाहुरीका कारण वितरण लाइनमा विभिन्न अवरोध हुँदा मागअनुसार बिजुली पुग्दैन । तर, पछिल्ला दिनमा त्यतिधेरै माैसमी समस्या छैनन् । तर, भदौ ३१ पछिका दिनमा पनि विभिन्न स्थानमा प्राविधिक कारणले विद्युत कटौती भइरहेको छ ।

    यसैकारण गुनासो चुलिएको मन्त्रालयको आकलन छ ।

    तर नेतृत्व परिवर्तनपछि प्राधिकरणमा विद्युतको आपूर्तितर्फको व्यवस्थापन कमजोर देखिन थालेको मन्त्रालयका एक अधिकारी बताउँछन् । माग धान्न बिजुली पर्याप्त भएपनि पूर्वाधार कमजोर भएकाले आपूर्तिको व्यवस्थापन चुनौती रहेको उनको भनाइ छ ।

    वितरण केन्द्रलाई प्राधिकरण नेतृत्व तहबाट दिइने दबाब र प्रोत्साहन कम भएर हेलचेक्र्याइँ बढेको उनको निश्कर्ष छ । ‘नेतृत्व परिवर्तन हुने भएपछि एक महिनाअघिबाटै तलका बिजुली अड्डामा माथिको कुरालाई बेवास्ता गर्ने क्रम सुरु भएको थियो,’ उनी भन्छन्, ‘पहिले लाइन गयो भनेपछि माथिको गाली खाइन्छ भनेर छिटो हुने मर्मतका काम अहिले आनन्दले गर्ने शैली देखिन थालेको छ ।’

    प्राधिकरणका सम्बन्धित कर्मचारीले ग्राहकको फोनको रेस्पोन्स नगर्ने, गरेपनि ढिलो गर्ने र समयमै काम नसक्ने कारणले जनगुनासो चुलिएको ती अधिकारी बताउँछन् । कुलमानमाथि ग्राहकको बढी भरोसा भएका कारण पनि अहिले केहीबेर लाइन जानासाथ आशंका जन्मिने गरेको ती अधिकारीको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ