• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोठामै आएर युवराज दीपेन्द्रले आङरिता शेर्पालाई भनेका थिए- ‘अब सक्नुहुन्न, हिमाल नचढ्नुस्’

    584
    SHARES

    काठमाडाैं।  ‘हिम चितुवा’ उपनामले चिनिएका पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । सन् १९४८ मा सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाको ७२ वर्षकाे उमेरमा काठमाडाैंकाे जोरपाटीमा निधन भएको हो । शेर्पा कलेजो र मस्तिष्कसम्बन्धी समस्या भएर केही समयदेखि उपचार गराइरहेका थिए ।

    सोलुखुम्बुको तत्कालीन खुम्जुङ गाविसको थामेमा जन्मनुभएका शेर्पाले सन् १९८३ देखि सन् १९९६ सम्म १३ वर्षको अवधिमा १० पटक अतिरिक्त अक्सिजन विना सगरमाथा आरोहण गरेका थिए ।

    हिमाल आरोहणका क्रममा अक्सिजनको सिलिण्डर अनिवार्य हुने भए पनि उनले अक्सिजनको सिलिण्डर विना १० पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । यही कारण उनलाई हिम चितुवाको उपनाम दिइएको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए ।

    पुर्ख्यौली पेसा चौरी पालन रहेका आङरिता शेर्पा गाउँघरमा साथीहरुसँगै हिमाल आरोहणमा लागेका थिए। १५ वर्षको उमेरदेखि आरोहण पेसामा लागेका शेर्पाले पहिलो पटक २० वर्षकाे उमेरमा चोयु हिमालको आरोहण गरेका थिए । शेर्पाको अन्तिम आरोहण सन् १९९६ मा भएको थियो ।

    त्यो वर्ष सगरमाथामा गएको हिउँ पहिरोका कारण १२ जना आरोहीको ज्यान गयो । त्यसपछि उनी आरोहणमा गएनन् । सगरमाथा आरोहणको इतिहासमा निकै ठूलो दुर्घटनाका रुपमा रहेको १९९६ को दुर्घटनामा साथीहरु गुमाएपछि उनी निराश बनेका थिए।

    त्यसबेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरमै भेट्न पठाएर स्वास्थ्य खराब भएकोले अब आरोहण नजान आग्रह गरेपछि आङरिताले आरोहण छाडेको शेर्पाका परिवारले बताएका छन् । युवराज दीपेन्द्र शाहले आङरिता शेर्पालाई भनेमा थिए, ‘अब सक्नुहुन्न, हिमाल नचढ्नुस्’ । दश पटकको विश्व कीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् ।

    शेर्पाले आरोहणमार्फत नेपालको नाम विश्वमा चिनाउनुको साथै विश्वका आरोहीहरुलाई आकर्षण गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेबापत सुप्रबल गोरखा दक्षिण बाहु पहिलो, त्रिशक्तिपट्ट तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएका थिए । तर पछिल्ला दिनहरुमा स्वास्थ्य अवस्था कमजोर हुँदा सरकारले बेवास्ता गरेको उनले गुनासो गर्थे।

    यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पाको असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपतिले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएकी हुन् ।

    दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गरेकी छिन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ