• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आफ्नो पक्षमा आन्दोलन चर्किएपछि कुलमानले समर्थकहरुलाई गरे यस्तो अपिल, बिज्ञप्तिसहित

    1K
    SHARES

    काठमाडाैँ ।  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई आग्रह गरेका छन् । कुलमानलाई प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा प्रदर्शन हुँदै आएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका कुलमानका समर्थकहरुलाई प्रहरीले दमनसमेत गर्दै आएको छ ।

    आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको कुलमानले बताएका छन् । उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    कुलमानले जारी गरेको विज्ञप्तिमा थप लेखिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

    सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताउँदै कुलमानले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

    प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने कुलमानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    यसैबीच लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रिय बनेका कुलमान घिसिङको पुनर्नियुक्तिलाई लिएर सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलेअनौठो प्रतिक्रिया दिएपछि जनता आक्रोशित बनेका छन ।

    नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्। शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक नभएको बताए। मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उनको भनाइ छ।

    ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन’ उनले भने।कुलमान घिसिङलाई नै नियुक्ति गर्नै परेमा पनि नयाँ कानुनअनुसार गरिने तर यसबारे सरकारले छलफल गरिरहेको उनले बताए।

    नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहे पनि उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले घिसिङको नियुक्तिमा उर्जा मन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनी बाहिर आएका समाचारमा पनि कुनै सत्यता नभएको बताए।

    सरकारका प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डल फेलबदल र पुनर्गठन सरकारको नियमित प्रक्रिया भएको बताउँदै मन्त्रिमण्डल पुनर्गठन हुनेतर्फ संकेत गरे। ‘प्रधानमन्त्रीलाई कस्तो टिमसँग काम गर्दा काम सहज र सफल हुन्छ भन्ने लाग्छ त्यस्तो व्यक्तिलाई सरकारमा राख्नु स्वभाविक हो, पुनर्गठन हुँदापनि कार्य मूल्यांकनका आधारमा हुन्छ’ उनले भने।

    पार्टी भित्रको सन्तुलन समेत मिलाउँदै र सरकारको कामलाई प्रभावकारी गराउनेगरी मन्त्रिपरिषद पुनर्गठन हुने उनले बताए। उनले प्रदेशका मुख्यमन्त्री फेरबदल नगरी मन्त्रिमण्डल पुनर्गठन गर्न सकिने बताए। मन्त्री ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनैतिक पहलमा फिर्ता गर्ने कार्य प्रारम्भ भएको स्पष्ट पारे। प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा छलफल भरहेको समेत उनले बताए।

    जनताको साथबाटै कोरोना पराजित गर्न सकिनेमा सरकार विश्वस्त रहेको उनले बताए। ‘सरकार के कुरामा विश्श्वस्त छ भने कोरोना मात्रै होइन मुलुकमा उत्पन्न हुन लागेको आर्थिक संकट र नागरिकको दैनिकीमा देखा परेको समस्याको समाधान समेत नागरिकसँगको सहकार्यमा गरिनेछ’ मन्त्री ज्ञवालीले भने।

    यस्तै यता ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।

    मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् ।

    चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

    ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ,’ चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ