• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डोनाल्ड ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने

    430
    SHARES

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको साधारण सभामा व्यक्तिगत रुपमा भाषण दिने आफ्नो योजनालाई त्यागेको ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मेडोजले पत्रकारहरुलाई बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

    राष्ट्रपति कार्यालय ह्वाईट हाउसका मुख्य सचिव मार्क मेडोसले यस बारेमा पत्रकारहरुलाई जानकारी दिएका हुन् । उनले राष्ट्रसंघीय ७५औँ महासभामा राष्ट्रपति ट्रम्पले भिडियोमार्फत सम्बोधन गर्ने तयारी भएको पनि स्पष्ट पारे ।

    संयुक्त राष्ट्रसंघको महासभा गत मंगलबारदेखि शुरु भएको र यही सेम्टेम्बर ३० सम्म चल्ने तय भएको छ । महासभामा अहिले उच्चस्तरीय विभिन्न अन्तरक्रिया तथा छलफलहरु भइरहेको अधिकारीहरुले जनाएका छन् ।

    महासभामा विश्वका ११९ जना राष्ट्र प्रमुख र ५४ जना सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि मध्य अगस्टमा राष्ट्रपति ट्रम्पले महासभास्थलमै पुगेका आफू सहभागी हुने योजना रहेको पत्रकारहरुसँग बताएका थिए । तर त्यो योजना अहिले परिवर्तन भएको हो ।

    कोरोनाभाइरसको महामारीका कारण विश्वभरी नै नकारात्मक असर गरिरहेका बेला पनि विद्युतीय माध्यमबाट महासभा सञ्चालन गरिएको हो । यसैबीच अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् ।

    राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे । उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै ट्रम्पलाई विश्वासन नगर्न पनि आह्वान गरे ।

    अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा प्रतिश्पर्धी ट्रम्प र बाइडेनले कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्ने प्रयासका विषयलाई लिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन् ।

    बाइडेनले कोरोनाभाइरस विरुद्धको खोपमा ट्रम्पले राजनीति गरेको हुनसक्ने आशंका पनि गरेका छन् । सार्वजनिक स्वास्थ्य विज्ञहरुसँग कोरोनाभाइरसको नियन्त्रण र त्यसका लागि गर्नु पर्ने र गर्न सकिने कामका बारेमा परामर्श गरेपछि उनले यस्तो बताएका छन् ।

    उनले भने “मैले बैज्ञानिकहरुलाई विश्वास गर्छु, मैले खोपमा विश्वास गर्छु, तर म डोनाल्ड ट्रम्पलाई विश्वास गर्दिन ।” उनले अमेरिकी नागरिकहरुले पनि आफूले जस्तै बैज्ञानिकहरु र खोपमा विश्वास गर्ने, ट्रम्पलाई विश्वास नगर्ने दाबी गरे ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ