धनुषा । नेपाली झण्डा अङ्कित रेल जनकपुर आइपुगेकाे छ । एउटा इन्जिन र चार वटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे जनकपुर आइपुगेकाे रेल विभागका महानिर्देशक बलराम मिश्रले फेसबुकमार्फत जानकारी दिएका छन् ।
नेपाली रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार दिउँसाे जनकपुर आइपुगेको हो, रेलकाे भव्य स्वागत गर्दै जनकपुरमा हस्तान्तरण गर्ने तयारी छ ।धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल नेपाल आइपुगेकाे हाे ।
६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो ।
कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । जनकपुरमा रेल आइपुगेपछि अहिले त्यहाँ ठूलाे भिड देखिएकाे छ । फाेटाे खिच्नेदेखि भिडियाे लिनेसम्मकाे ठूलाे उपस्थिति देख्न सकिन्छ ।
तस्बिर : रेल विभागका निर्देशक बलराम मिश्रकाे फेसबुकबाट
प्रतिक्रिया