• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    शक्तिशाली भूकम्प गएपछि सिन्धुपाल्चोकवासी त्रासमा, क्षतिको विवरणबारे सीडीओले दिए यस्तो जानकारी

    751
    SHARES

    काठमाडाैं । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ । यसको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चेबजार आसपास रहेको भूकम्पमापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ६ रिक्टर स्केलको थियो ।

    सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकबासीमा बुृधबारको भूकम्पले थप त्रास बढेको छ। यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन।

    बुधबार बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।

    यता भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तीनपटकसम्म भूकम्पले हल्लाएको बताए । अहिले सिन्धुपाल्चोकमा त्रास फैलिएपनि क्षतिको विवरण आइनसकेको बताए । उनले भने, ‘म पनि गाउँमा छु । अहिलेसम्म कहाँ के कति क्षति भयो भन्ने विवरण आएको छैन।’ यस्तै बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष सुशीला पाख्रिने पनि अहिलेसम्म क्षतिको विवरण नआएको बताइन् ।

    के भन्दछन् प्रमुख जिल्ला अधिकारी ?

    सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएपनि हालसम्म क्षतिको कुनै विवरण नआएको सुरक्षा अधिकारीहरुले बताएका छन् । यद्यपि यो भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए ।

    भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो । २०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

    बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले भने, ‘पहिरोको जोखिम बढ्यो, आर्मी र एपीएफलाई अलर्ट बस्न भनेको छु ।’ प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको बताए ।

    सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए । आफ्नो संयन्त्रमार्फत जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै उनले हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटना नभएको अधिकारीले जनाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ