• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    बाहिरियाे ओली-प्रचण्डले नेता कार्यकर्ताका लागि जारी गरेको आन्तरिक सर्कुलर, हेर्नुहोस पूर्णपाठसहित

    494
    SHARES

    काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सर्कुलर बाहिरिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद हाललाई मत्थर भएको दावी गरेका छन् । अध्यक्षद्वयले जारी गरेको अन्तरपार्टी निर्देशन–५ (सर्कुलर) मा ओली र प्रचण्डले भनेका छन्, ‘१० असार २०७७ बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटीको पाचौँ बैठक २६ भदौ २०७७ मा सम्पन्न भयो । अप्रिय एवम् कटूतापूर्ण बन्दै गएको पार्टीभित्रको अन्तरविरोध, पार्टी तथा सरकारको काम र कोभिड– १९ को महामारी तथा सीमा समस्याजस्ता ज्वलन्त विषयहरूमा केन्द्रित भएको यो बैठक पार्टी इतिहासमै विशिष्ट महत्त्वको हुनपुगेको छ ।’

    सर्कुलरमा यसअघि ‘पार्टीभित्रको विवाद र अन्य समस्याको समाधान गर्न सकिन्छ या सकिँदैन, पार्टीको एकता अक्षुण्ण रहन्छ वा रहँदैन ?’ भन्नेजस्ता अन्योलता रहेपनि अब त्यो सबै अन्योल हटेको ओली–प्रचण्डले बताएका छन् ।

    भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा छलफलपछि बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गरेको र सोहीअनुसार तल्लो तहमा सर्कुलर गरिएको हो ।

    सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमी कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ ।

    यसैगरी सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गरिएको छ भने अतितमुखी नभइ भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प पनि गरिएको छ ।

    आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण पनि नेतृत्वले नेता कार्यकर्ता सामु गरेको छ ।

    ”नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनु ऐतिहासिक एवम् दूरगामी महत्वको घटना हो । यस एकताले राजनीतिक स्थायित्व सुनिश्चित गर्नुका साथै संविधाको रक्षा एवम् कार्यान्वयन गर्ने, सामाजिक न्यायसहितको विकास एवम् समृद्धि हासिल गर्ने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादतर्फ अधि बढ्ने बलियो आधार प्रदान गरेको छ ।

    संविधानसभाबाट संविधान निर्माण गर्ने जटिल जिम्मेवारी हाम्रो एकता र अग्रसरतामा सफल भएको थियो । असम्भवझैं ठानिएको चुनावी गठबन्धन र ऐतिहासिक पार्टी एकता पनि हाम्रै दूरदृष्टि, सुझबुझपूर्ण र साहसिक निर्णयको परिणाम थियो । तर अभूतपूर्व, असाधारण र ऐतिहासिक महत्वका कामहरूद्वारा इतिहासको गतिलाई तीव्रता दिने र नेपाली समाजको परिवर्तन तथा प्रगतिको प्रवाहलाई गतिदिने नेतृत्वपंक्तिको ध्यान एकता प्रक्रियाका बाँकी काम समयमै सम्पन्न गर्ने र आन्तरिक जीवनमा उत्पन्न अन्तर्विरोध समाधान गर्दै पार्टी एकतालाई बलियो बनाउने विषयमा केन्द्रित हुनसकेन ।

    पार्टी एकतालाई अक्षुण्ण राख्दै र पार्टीभित्रको अन्तर्विरोधलाई सकारात्मक ढंगले समाधान गर्दै उद्देश्य केन्द्रित भएर अघि बढ्नुको साटो पार्टी एकता नै संकटमा पर्ने गरी अन्तर्विरोध बढ्दै गयो । नेपाली जनता र नेपाल राष्ट्रको स्थायित्व र उन्नति देख्न नचाहने शक्ति, प्रवृत्ति तथा पात्रहरूले यस पार्टीमा विग्रह र विभाजनको अपेक्षा गर्नु अनौठो कुरा होइन । तर पार्टीभित्र उत्पन्न असमझदारी तथा अन्तरविरोध समाधान गर्नमा असमर्थ हुँदै जाँदा यस पार्टीमा विग्रह र विभाजन चाहने शक्ति र प्रवृतिलाई मद्दत पुग्ने स्थिति देखापर्यो ।

    फलस्वरूप एकताबद्ध पार्टी र यसको नेतृत्वमा विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको बाटोमा अग्रसर हुने वा विभाजन र सर्वनाशतर्फ धकेलिने भन्ने सम्मको स्थिति उत्पन्न भयो ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध, सुदृढ र सबल तुल्याउन नसक्दा संघीय लोकतान्त्रिक गणतन्त्रलगायत विगतका उपलब्धिहरूलाई जोगाउन, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता एवम् स्वाभिमानको रक्षा गर्न र विकास, समृद्धि एवम् सामाजिक न्याय सुनिश्चित गर्दै समाजवादतर्फ अघि बढ्न कठीन हुने कुरा छर्लङ्ग छ ।

    त्यसैगरी पार्टी एकता जोगाउन र जनता एवम् राष्ट्रको पक्षमा क्रियाशील रहन सक्दा मुलुकमा लामो समयसम्म यस पार्टीको अविच्छिन्न नेतृत्व रहने पनि सुनिश्चित छ । तसर्थ पछिल्ला दिनहरूमा पार्टीको आन्तरिक जीवनमा प्रकट भएका तिक्ततापूर्ण अन्तर्विरोधहरूले पार्टी एकताको औचित्य र पार्टी एकताबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई खण्डित गर्न सक्तैनन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न अन्तर्विरोधहरूको समाधान केवल यस पार्टीका लागि मात्र होइन, आम जनता र सिङ्गो राष्ट्रका लागि समेत अपरिहार्य हुन आएको छ । तदनुरूप कार्यकर्ता र जनताबाट व्यक्त भएको चासो, चिन्ता र खबरदारीले पार्टी एकता अक्षुण्ण राख्न र समस्या समाधान गर्दै अघि बढ्न प्रेरणा प्रदान गरेको छ । नेता, कार्यकर्ताबाट पार्टी एकताको पक्षमा भएका प्रयासहरू र नेतृत्वपङ्क्तिमा अन्तरनिहीत चाहनाले आपसी अन्तर्विरोध समाधान गर्दै सहमति र एकतातर्फ अग्रसर हुन सम्भव भएको छ ।” सर्कुलरमा भनिएको छ ।

    यस्तै सर्कुलरमा अध्यक्षद्वयको अधिकार क्षेत्र, एकताका बाँकी कार्यभार, संगठनात्मक विषय, सरकारका कामकारबाही, भारतसँगको सीमा समस्या, एमसीसीलगायतका विषयमा पनि नेता कार्यकर्तालाई स्पष्ट जानकारी दिइएको छ । हेर्नुहोस पूर्णपाठ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ