• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोनाले बन्द भएको ७ महिनापछि खुले विद्यालय, विद्यार्थीहरु खुसीले गदगद

    435
    SHARES

    काठमाडाैं । इटालीमा कोभिड १९ अर्थात् कोरोना भाइरस अति प्रभावित भएका क्षेत्रहरुमा ७ महिनापछि विद्यालय खुलेका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गएको फ्रेबुअरी २१ देखि विद्यालय जान नपाएकोमा सेप्टेम्बर १४ अर्थात् सोमबारदेखि विद्यालय गएका हुन् । कोडोग्नो इटालीको कोरोना भाइरसबाट अति चपेटामा परेको क्षेत्रमध्ये एक हो ।  विद्यालय जान पाएकोमा उनीहरु खुसि छन् ।

    देशको उत्तरी क्षेत्रमा पर्ने कोडोग्नोमा महामारी उत्कर्षमा पुगेको थियो । इटालीमा दुई महिनासम्म कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । कोरोनाका कारण बालबालिकाहरुले अभिभावक र आफन्त गुमाएका छन् ।

    विद्यालय खुल्नु लकडाउन भन्दा अगाडिको अवस्थामा फर्कन निक्कै महत्वपूर्ण कदम भएको अभिभावक र शिक्षामा सरोकार राख्नेहरुले प्रतिक्रिया दिएका खबरमा उल्लेख छ । बालबालिकाको मात्रै नभएर देशको भविष्यका लागि पनि विद्यालय खुल्नु महत्वपूर्ण भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए ।

    यस्तै कोरोना भाइरस महामारीको केन्द्रका रुपमा चिनिएको छिमेकी राष्ट्र चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएका छन् । उहानमा गत वर्षको डिसेम्बर अन्त्यमा कोरोना भाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो ।

    शहरमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो । गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ ।

    आन्तरिक उडान नियमित हुन थालेपछि विभिन्न कम्पनीले सेवा सुरू गरेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए ।

    यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ ।

    अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहरसहित नयाँ दिल्ली लगायतका गन्तव्यमा शुरु भइसकेका छन् । चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् ।

    आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा संक्रमित भएका ८५ हजार १८४ जनामध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो ।

    तर इजरायलमा भने कोरोना भाइरसको संक्रमण बढेपछि दोस्रो पटक लकडाउन गरिने भएको छ । महामारी फैलन नदिन भन्दै इजरायलमा शुक्रबारदेखि दोस्रो पटक लकडाउन गर्न लागिएको हो । यो लकडाउन तीन सातासम्म जारी रहने जनाइएको छ ।

    दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिन थालेपछि प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले फेरि लकडाउन गर्न लागिएको जनाएका हुन् । लकडाउनको विरोधमा एक मन्त्रीले भने राजीनामा दिएका छन् ।

    जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ९० लाख जनसंख्या भएको इजरायलमा कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु भएको छ भने १ लाख ५३ हजारभन्दा बढीलाई संक्रमण भएको छ। यसअघि त्यहाँ मार्चको अन्त्यदेखि मेको पहिलो सातासम्म लकडाउन गरिएको थियो।

    अर्को छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ४९ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    मंगलबार बिहानसम्म भारतमा ८१ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २१४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ ।

    यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार ८०८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ