• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कुलमानको पुनर्नियुक्तिलाई लिएर प्रवक्ता श्रेष्ठले गरे यस्तो ट्वीट

    1K
    SHARES

    काठमाडौँ । लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रियता बढ्दै गएका बेला नेपाल कम्युनिष्ट पार्टी  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेको ट्वीटले नेकपामा नयाँ तरंग पैदा गरिदिएको छ । प्रवक्ता श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनःनियुक्त हुनेमा विश्वस्त रहेको बताएका छन् । प्राधिकरणमा घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको उनले बताएका हुन् ।

    घिसिङको गतराति १२ बजेबाट ४ वर्षे कार्यकाल सकिएको छ। उनको पुनर्नियुक्ति हुने नहनेमा अझै अन्यौल छ। सरकारले हालसम्म कुनै निर्णय गरेको छैन। कुलमानलाई फेरि ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको सिइओ बनाउनुपर्ने चौतर्फी जनदवाव उठिरहँदा सरकारले अझै निर्णय गर्न सकेको छैन। नेकपाकै प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत घिसिङको कार्यकाल लम्ब्याउन आफ्नै सरकारलाई आग्रह गरेका हुन।

    सामाजिक संजालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

    यस्तै मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन्।

    स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ। प्रचण्ड कुलमानलाई दोहोर्याउने पक्षमा रहेको भए पनि प्रधानमन्त्री ओलीले रुची नदेखाएको स्रोतको दाबी छ।

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुनर्नियुक्त गर्ने वा अर्को व्यक्ति पठाउने भन्ने भन्नेबारे पनि आजको बैठकले निर्णय गर्न सक्ने उनले बताए । अहिलेसम्म कुलमान घिसिङको प्रस्ताव मन्त्रिपरिषदमा नपुगेकोले तत्काललाई निमित्त कार्यकारी निर्देशक तोक्नेबारे पनि छलफल हुन सक्ने ती मन्त्रीले बताए ।

    यसअतिरिक्त आजको बैठकमा सरकारको प्रवक्ता तोक्ने तयारी पनि भएको छ । सरकारको प्रवक्तामा पर्यटनमन्त्री योगेश भट्टराईको नाम चर्चामा छ । यस्तै सिन्धुपाल्चोकमा पटकपटक पहिरो गएर धेरै जनधनको क्षति भएकामा त्यसबारे पनि केही निर्णय हुने सक्ने बताइएको छ ।

    राम्रो काम गरिरहेको व्यक्तिलाई फेरि नियुक्ति नगर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै कुलमानलाई दोहोर्याउन प्रचण्डले आग्रह गरेको स्रोतले बतायो। प्रधानमन्त्री ओली भने आफूले भारतसँग विद्युत किन्ने सम्झौता गरेकै कारण लोडसेडिङ हटेको भए पनि त्यसको सबै जस एउटा कर्मचारीले लिन खोजेको भन्दै कुलमानसँग असन्तुष्ट बनेका छन्।

    कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ। लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रियता बढ्दो छ। त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ।

    गौतमको नाम सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने गौतम निकट स्रोतले बतायो। भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारीमा आफू रहेको बताएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ