• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिन्धुपाल्चोक पहिरोमा बेपत्ता भएकाहरुको बिहानैदेखि खोजी सुरु

    501
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पहिरोमा बेपत्ताहरुको आज बिहानैदेखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् ।

    सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेका प्रहरीले जनाएको छ । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले ३५ जनाको टोली खटाएको छ । शनिबार राति परेको पहिरोमा २० जना बेपत्ता छन् । पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    घाइते तीन जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकमा गएको जेठ अन्त्यदेखि सुरु भएको मनसुनपछि लगातार बाढी पहिरो गइरहेको छ । भूकम्पले जमिनमा धाँजा फाटेको र थिलथिलो भएकाले मनसुनमा क्षति बढी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    २०७२ वैशाख १२ को भूकम्पले सिन्धुपाल्चोक, गोरखा, रसुवा, दोलखा, धादिङसहित १४ जिल्ला बढी प्रभावित भएका थिए । भू-गर्वका विज्ञ तारानिधि भट्टराईले बाढीपहिरोको जोखिमबारे अध्ययन नहुँदा हरेक वर्ष क्षति बढ्दै गएको बताएका छन्।

    यसैबीच आज कर्णालीबाहेक ६ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ । आज दिउँसो पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

    देशका अरु ठाउँमा भने आज दिउँसो मौसम सामान्य बद्ली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । आज राति पनि प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

    ठूलो पानी पर्ने ठाउँमा बग्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडकमा जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ