एजेन्सी । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।
भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो । अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् ।
यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ ।
यस्तै छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । भारतमा पछिल्लो समय हरेक दिन ९० हजार भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् । अहिले भारत विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा दोस्रो स्थानमा छ । भारतले केही दिनअघि ब्राजिललाई उछिन्दै कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार २ सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ६ पुगेको छ ।
त्यस्तै हालसम्म ३६ लाख २४ हजार १ सय ९६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया