• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    निषेधाज्ञा खुकुलो भएकै दिन काठमाडौंमा बिहानैदेखि चहलपहल सुरू, आज जोर की बिजोर

    0.9K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएसँगै बिहानैदेखि चहलपहल बढेको छ । जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् । यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ ।

    मोडालिटीले परिवर्तन गरेर उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएको हो । परिवर्तन गरिएको मोडालिटीले मजदुर, स्वरोजगारलगायत ‘गरिखाने वर्ग’ लाई केही राहत मिलेको छ । तयारी पोसाक तथा रेडिमेड मालसामान बिक्री गर्नेलाई बढी राहत मिलेको काठमाडौंका प्रजिअ दाहालले बताए । दसैं–तिहार, छठलगायत बढी आर्थिक कारोबार हुने चाडपर्व नजिकिँदै गरेकाले जनजीवन सहज बनाउँदै लैजान प्रशासनको पछिल्लो निर्णयले सहयोग पुग्ने देखिएको छ ।

    ०७६ चैत ११ बाट गरिएको लकडाउन गत साउन ६ गते खुला गरिएको थियो । त्यसपछि एक महिनाजति व्यापार–व्यवसाय सञ्चालन भए पनि संक्रमणको जोखिम बढेपछि भदौ ३ गतेबाट पुनः निषेधाज्ञा जारी गरिएको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको थियो ।

    निषेधाज्ञाको नयाँ मोडालिटीअनुसार निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न र स्वास्थ्य मापदण्ड पालना गरेर सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता, कस्मेटिकलगायत पसल सञ्चालन गर्न पाइनेछ । यस्ता पसल साताको तीन दिन (सोमबार, बुधबार र शनिबार) मात्रै खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसल आइतबार र मंगलबार मात्रै खोल्न पाउने बनाइएको छ । फर्निचर र अटो मोबाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्रै खोल्नुपर्ने छ ।

    कुल सिट संख्याको आधाभन्दा नबढ्ने गरी भौतिक दूरी कायम गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ । त्यसरी १६ सिटभन्दा बढीका (माइक्रो बसबाहेक) सवारीसाधन मात्रै गुडाउन पाइने छ । भाडाका ट्याक्सीमा तीन जनासम्म र परिवारको हकमा ५ वर्षमुनिका थप २ जना राखेर गुडाउन पाइनेछ । निर्माण सामग्रीसँग सम्बन्धित सवारीसाधनको हकमा दिउँसो २ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाउने बनाइएको छ ।

    होटल/रेस्टुराँमा टेक–अवे र अनलाइन डेलिभरी सेवा मध्याह्न १२ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरू बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न पाइनेछ । यात्रुवाहक सवारीसाधनले ढोकामै सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । मालवाहक सवारी र सरकारी तथा संस्थानका सवारीसाधनमा भने जोरबिजोर लागू हुनेछैन ।

    दैनिक उपभोग्य वस्तु बिक्री बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ । फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसल, इलेक्ट्रिक, डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र दिउँसो ४ देखि बेलुका ८ बजेसम्म खोल्न सकिनेछ ।

    सवारी मर्मतसम्बन्धी वर्कसप बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदार/मजदुरलाई कार्यस्थल परिसरमै खानेबस्ने व्यवस्था मिलाउनुपर्ने छ । जनस्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । शैक्षिक अनलाइन कक्षा सञ्चालन गर्न पाइनेछ । स्वाब परीक्षण लिएका मानिस रिपोर्ट नआएसम्म अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ