• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    डब्ल्युएचओको यस्तो नयाँ डरलाग्दो चेतावनीले विश्वभर त्रास, कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने

    1.6K
    SHARES

    एजेन्सी । सारा विश्व कोरोना महामारीसँग जुधीरहँदा यता विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भने अर्को डरलाग्दो चेतावनी दिएको छ ।डब्ल्युएचओले  दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानामले सोमबार संसारभरका मानिस दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेका हुन् ।

    दोस्रो महामारी पूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उनले संसारभरका सबै देशलाई आग्रह पनि गरेका छन् । त्यसो नभएमा विश्वमा दोस्रो महामारीले कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उनको भनाइ छ ।

    डा.टेड्रोसले कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएको बताए । सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताएका छन् ।

    डब्ल्युएचओको मुख्यालय जेनेभामा पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको विश्व व्यापी महामारी नै अन्तिम महामारीका रुपमा बुझ्न नहुने बताए । उनले भने, ‘इतिहासमा कयौँ महामारी आएको हामीले आधार हेरेका छौँ । यो महामारी जीवनको सच्चाइ हो । यो प्रक्रिया समाप्त हुँदैन । यो समाप्त नहुँदै दोस्रो महामारीको खतरा पनि बढेको छ । त्यसैले हामीले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गर्नुपर्छ ।’

    संसारभरका देशले सम्भावित महामारीको भ्याक्सिन र औषधिमा मिलेर अनुसन्धान गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘सार्वजनिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै लगानी गर्न आवश्यक छ । भ्याक्सिन र औषधिलाई तत्काल उत्पादन गरेर बजार लैजाने व्यवस्था गर्नुपर्छ । कुनै पनि महामारी फैलिँदासाथ हामीले नियन्त्रण गर्न सक्नेगरी तयारी गर्नु वुद्धिमता हुन्छ ।’

    डब्ल्युएचओका विशेषज्ञ माइक रयानले यो वर्षको अन्तिमसम्म कुनै पनि देशको कोरोनाविरुद्धको भ्याक्सिन बजारमा नआउने प्रष्ट पारेका छन् । उनले भने, ‘हामीले विश्वास गरेका थियौँ, अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन आउँछ भन्ने । तर, त्यो आशा समाप्त भएको छ । अनुसन्धान भने तिब्र गतिमा भइरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउन नयाँ वर्ष लाग्नुपर्छ । यो वर्षको अन्तिममा भ्याक्सिन बजारमा आउने सम्भावना छैन ।’

    डब्ल्युएचओले सन् २०२१ को सुरुवाती महिनामै भ्याक्सिन आउने सम्भावना रहेको जनाएको छ । माइक रयान कोरोनाविरुद्धको भ्याक्सिन संसारभर पुरयाउनका लागि डब्ल्युएचओबाट समन्वय गर्ने अधिकारी पनि हुन् । उनले ढिलोगरी भए पनि भ्याक्सिनले आशा जगाएको बताएका छन् । निराश हुनुभन्दा कोरोनाबाट बच्नका लागि विभिन्न उपायको अवलम्वन गर्न उनको सुझाव छ ।

    डब्ल्युएचओले छिटो बजारमा ल्याउने उद्देश्यले निर्माण गरेका भ्याक्सिनलाई मान्यता नदिने प्रष्ट पारेको छ । सबै प्रक्रियाको पालना गरेर आउने भ्याक्सिनले मात्रै मान्यता पाउने उनको भनाइ छ । डब्ल्युएचओका अनुसार ३७ वटा भ्याक्सिन अहिले विभिन्न क्लिनिकल परीक्षणको अवस्थामा रहेका छन् । १ सय ८८ भ्याक्सिनलाई डब्ल्युएचओले निगरानी गरिरहेको छ । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणमा रहेको डब्ल्युएचओले जनाएको छ ।

    यस्तै कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन प्रयोग भइरहेको प्रचलित पीसीआर विधिले मृत अर्थात निष्कृय भइसकेको कोरोना भाइरसको अंश पनि देखाउने विज्ञहरूले आशंका गरेका छन्। कोरोनाभाइरस सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्ने वैज्ञानिकहरूको तर्क छ ।

    तर, संक्रमणमुक्त भइसकेको वा संक्रमित व्यक्तिको शरीरमा निस्कृय वा मृत भइसकेको भाइरसको अंश पनि पीसीआर विधिको परीक्षणमा देखिने वैज्ञानिकहरूले आशंका गरेको बीबीसीले जनाएको छ ।

    यदी वैज्ञानिकहरूको यो आशंका पुष्टि भए वर्तमान महामारीको स्तर अतिशय रूपमा प्रस्तुत भइरहेको हुन सक्नेछ। ती आशंकाहरू जायज नै भए पनि संक्रमित व्यक्ति नछुट्ने गरी विश्वसनीय परीक्षण कसरी गर्न सकिन्छ भन्नेमा विज्ञहरू अलमलमा छन् ।

    यसबारे गरिएको एउटा अनुसन्धानमा संलग्न प्राध्यापक कार्ल हेनेगनले भाइरसबाट संक्रमित हो वा होइन भन्ने सरल परिणाम दिनुको साटो निश्चित मात्राभन्दा थोरै परिमाणममा भाइरस रहेका व्यक्तिको पोजिटिभ नतिजा नदेखाउने परीक्षण विधि हुनुपर्ने बताए।

    संक्रमित संख्या लगातार बढिरहने तर, अस्पताल भर्ना हुने बिरामीको संख्या स्थिर रहने अहिलेको अवस्थाले पीसीआर परीक्षण विधिमा भाइरसको पूरानै अंश पत्ता लगाइरहेको भन्ने आशंकालाई बल पुगेको प्राध्यापक हेनेगनले बताए।

    अक्स्फोर्ड यूनिभर्सिटीको सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिनले पोजिटिभ नतिजा आएका २५ वटा नमूनालाई पेट्री डिशमा राखेर अध्ययन गरेको थियो । ‘भाइरल कल्चरिङ’ भनिने उक्त विधिमार्फत् कतै परीक्षणले सक्रिय र संक्रामक भाइरस पत्ता लगाएको हो वा अन्यमा संक्रमण गर्न नसक्ने भइसकेको मृत भाइरस वा निष्क्रिय कण पत्ता लगाएको हो भन्ने जाँच गर्नेछ।

    गलत परिणामको जोखिम
    अहिलेको प्रचलित पीसीआर स्वाब टेस्टले रसायनहरूको सहयोगबाट भाइरसको आनुवंशिक संरचनालाई बढाएर हेर्न सघाउँछ। त्यसैले स्वाबका नमूनालाई प्रयोगशालामा विभिन्न चरणको प्रक्रिया पार गराएपश्चात् मात्र भाइरस देखिन्छ।

    यसैआधारमा कोरोनाभाइरसको परीक्षण गर्दा संक्रमण छ या छैन भन्ने परिणाम प्राप्त हुने गरेको छ । तर, ती नमूनामा कति मात्रामा भाइरस थियो र ती कति सक्रिय संक्रमण गराउन सक्ने खालका हुन्छन् भन्ने नखुल्दा यसले पार्ने असर मुल्यांकन नुहने दाबी सोधकर्ताहरूको छ ।

    ठूलो मात्रामा सक्रिय भाइरस शरीरबाट निष्काशन गरिरहेको व्यक्ति र संक्रमणबाट निको भइसकेको तर, मृत भाइरसका कण निष्काशन गरिरहेको व्यक्ति दुवैबाट संकलित नमूनाको परीक्षण गर्दा यो विधिले भाइरसको उपस्थिति भएको मात्रै संकेत दिने विज्ञहरू बताउँछन् । तर, प्राध्यापक हेनेगनका अनुसार प्रमाणहरू हेर्दा करिब एक सातापश्चात् कोरोनाभाइरसको संक्रामकता घट्न थाल्छ।

    कस्तो परीक्षण उपयोगी त ?
    सबै परीक्षणमा कति सक्रिय भाइरस थिए भनेर हेर्न सम्भव नहुने विज्ञहरू बताउँछन् । तर, निश्चित मात्राको भाइरस भए मात्र पोजिटिभ देखिने परीक्षण विधि विकास गर्न सकिए गलत पोजेटिभ नतिजा आउने सम्भावना कम हुने उनले बताए।

    यसले पूरानो संक्रमणले गलत परिणाम देखिने पनि कम हुनेछ। त्यसबाट मानिसहरूलाई क्वारन्टीनमा राख्नुपर्ने अथवा अनावश्यक रूपमा ‘कन्ट्याक्ट ट्रेस’ हुनबाट रोक्ने प्राध्यापक हेनेगन बताउँछन्। अनि त्यसले महामारीको वर्तमान मात्राबारे राम्ररी बुझ्न सहयोग गर्नेछ।

    ‘पब्लिक हेल्थ इङ्ग्ल्यान्ड’ पनि ‘भाइरल कल्चर’ कोरोनाभाइरस परीक्षण नतिजाको परिणामको आकलन गर्न उपयोगी हुनेमा सहमत भएको छ । उसले हालै त्यस विधिबाट विश्लेषण गरेको बताएको छ। यसले गलत नतिजा देखाउने खतरालाई कम गर्न प्रयोगशालाहरूसँग काम गरिरहेको जनाएको छ।

    ‘भाइरल कल्चर‘ कति चुनौतीपूर्ण ?
    यूनिभर्सिटी अफ रेडिङका प्राध्यापक बेन न्यूम्यानका अनुसार ‘बिरामीको नमूनाबाट भाइरस कल्चर गर्नु सामान्य काम होइन।’ यो धेरै नै जटिल र चुनौतीपूर्ण छ । उनी भन्छन्, ‘यस प्रकारको विश्लेषणले गलत तरिकाबाट सार्स-कोभ-२ भाइरस कल्चरको यसको संक्रमण फैलाउने सम्भावनासँग जोडेर देखाउन सक्छ।’

    इटलीको एमिलिया-रोमाग्ना क्षेत्रका एक संक्रामक रोग विशेषज्ञ प्राध्यापक फ्रान्सेस्को भेन्टुरेल्ली कोरोनाभाइरस संक्रमणमुक्त भएपछि पनि कति समयसम्म त्यो सक्रिय रहन्छ भन्ने ‘निश्चित’ नभएको बताउँछन्। ‘भाइरस कल्चरमा गरिएका केही अध्ययनअनुसार करिब १० प्रतिशत मानिसमा संक्रमण ठीक भएको आठ दिनपश्चात् पनि भाइरस पाइएको थियो,’ उनले भने।

    उनी कोरोनाभाइरस महामारी बेलायतमाभन्दा पहिले इटलीमा उत्कर्षमा पुगेको र आफूहरूले केही सातासम्म कोरोनाभाइरस संक्रमणलाई वास्तविकभन्दा निकै बढी आकलन गरिसकेको बताउँछन्। लन्डनस्थित इम्पीरीअल कलेजका प्राध्यापक पिटर ओपन्सअले भने, ‘पीसीआर परीक्षण भाइरस शरीरमा रहेका भाइरसका आनुवंशिक अंशको पहिचानका लागि एकदमै संवेदनशील विधि हो।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ