• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    झनै खुकुलो बनाइयो कर्फ्यु, लागु भयो यस्तो नयाँ नियम, अब ७ घण्टा खुला रहनेछन् यी क्षेत्र

    1.5K
    SHARES

    बुटवल । उद्योगी- व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

    शनिबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको हो । यसअघि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो ।

    बैंक तथा वित्तीय संस्थाहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उद्योग व्यवसाय अन्तर्गत नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड विपरीतका काम गर्न रोक लगाइएको छ ।

    सरकारी कार्यालयहरूमा भीडभाड नहुने व्यवस्था मिलाएर स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, स्पा, स्वीमिङ पुल, मनोरञ्जनस्थलहरू बन्द नै रहनेछन् ।

    उद्योग व्यवसाय स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पाउने छैनन् । सीमा नाकाहरूबाट गैरकानुनी रूपमा नेपाल-भारत आउजाउ गर्न पनि पाइने छैन । बेलहिया नाकाबाट हुने आवतजावत भने नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।

    यो निर्णय यही भदौ २१ गतेदेखि भदौ २८ गते राति १२ बजेसम्म कायम रहनेछ । जिल्लाभित्र सरकारले अनुमति दिइएका बाहेक कुनै पनि गाडी नचलाउन प्रशासनको आदेश छ । अत्यावश्यकीय वस्तु र सेवा अन्तर्गत पर्ने गाडी भने चल्न पाउनेछन् । रुपन्देही प्रदेश ५ को अस्थायी मुकाम जिल्ला हो ।

    कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा फेरि एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिदै थियो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जारी गरेको आदेश अनुसार अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

    बाहिर निस्कदा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

    सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गर्दै प्रशासनले जिल्लाभर जोर गते जोर र विजोर गते विजोर नम्बरका टयाक्सी तथा निजी सवारी साधन विहान ६ बजे देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न सकिने जनाएको छ ।

    शैक्षिक लगायतका सार्वजनिक भेला र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । तोकिएको मापदण्डमा कार्यालय सञ्चालन गर्न भने पाइने भएको छ ।

    कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योग सञ्चालन गर्न सकिने आदेशमा भनिएको छ । आंशिक रुपमा खुल्ने होटल तथा रेष्टुरेण्टले खाद्य बस्तु लिएर घर लैजान सक्ने गरी मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न अनुमति पाएका छन् ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरूष गरी थप १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए ।

    योसँगै कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ । शनिबारको पछिल्लो विवरण अनुसार नेपालमा अब संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।

    डा. गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, उदपयुरका ३ जना, ‍ओखलढुंगाका २ जना, झापाका ७ जना, मोरङका ३५ जना र सुनसरीका २० जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७ जना, पर्साका १० जना , बाराका १३ जना, महोत्तरीका २६ जना, सप्तरीका २० जना, सर्लाहीका १७ जना र सिरहका ४१जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३२६ जना, काभ्रेका ६ जना, चितवनका ४५ जना, दोलखाका ६ जना, धादिङका १० जना, नुवाकोटका एक जना जना, भक्तपुरका ४५ जना, मकवानपुरका ३५ जना, रामेछापका ५ जना, ललितपुरका ३७ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २३ जना, गोरखाका १७ जना, तनहुँका ३ नवलपरासी पूर्वका ५ जना, पर्वतमा एकजना, लमजुङका २२ जना, बाग्लुङका ६ जना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, गुल्मीका ६जना, दाङका ३९ जना, नवलपरासीका १३ जना, पाल्पाका ३ जना,प्युठानका एकजना, बर्दियाका ७ जना, बाँकेका ६२ जना, रुपन्देहीका ७१ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका ३ जना, दैलेखका ३ जना, सल्यानका २ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका ५ जना, कैलालीका ४ जना, डडेल्धुराका एकजना, डोटीका २ जना र बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा ९ जनासंक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो ।

    मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिलाको पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

    यस्तै पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको हो ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ । कुल संक्रमितका आधारमा ० दशमलब ६२ प्रतिशतको मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७ हजार १२७ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको २५ हजार ५६१ थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ