• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कृषि

    आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्, डिपोमा छ तर कर्मचारीले दिदैनन्

    417
    SHARES

    दमौली । तनहुँमा कृषकहरुले ८ घण्टा लाइन बस्दा पनि मल नपाएको गुनासो गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापाले मल आउने थाहा पाएपछि शुक्रबार बिहानै हिँडेर मल लिन दमौली आएर बिहान आठ बजेदेखि दिउसो ४ बजेसम्म लाइन बस्दा पनि रित्तै हात फर्किनु परेको बताइन।

    मल पाइने आशमा दिनभर लाइनमा साझ रित्तो हात फर्किनु पर्दा निराश भएको बताउदै थापाले डिपोका कर्मचारीले मल हुँदाहुँदै पनि नदिएको गुनासो गरिन्। मल हुँदाहुँदै पनि साढे ४ बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनको भनाई छ । उनले कसैले ३५ देखि ४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन् ।

    त्यस्तै कलेस्तीकी पूजा कुमालले बिहान साढे ९ बजेदेखि दिनभर लाइनमा बस्दा पनि मल लिन नपाएको बताइन् । सवारीसाधन नचल्दा बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसेर बेलुका भएपछि मल वितरण गर्ने कर्मचारीले भोलि आउनु भनेर पठाईदिएपछि साह्रै मन कुडिएको बताइन् ।

    कोरोनाको जोखिममा भीडभाड गरेर दिनभर लाइनमा बस्न बाध्य किसानले मल हाल्न नपाएर धान कुहिन लागेको टुलु-टुलु हेरेर बस्नु परेको गुनासो गरेका छन् । मल खोज्दाखोज्दै हैरान भएका किसानलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने रु,” कुमालले प्रश्न गरिन् ।

    यस्तै कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन् । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भने ।

    दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरेका छन्।

    प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।” प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पनि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया