एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको खास लक्षण ठ्याक्क यही हो भन्न सक्ने अवस्था छैन । मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षणविहीन नै छन् ।
यो अवस्थामा हालै बेलायतमा गरिएको एक अनुसन्धानले डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्षणहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ ।
क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानले बालबालिकालाई डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको हो ।
यस अनुसन्धानका लागि एक हजार बालबालिकालाई समावेश गरिएको बिबिसीले उल्लेख गरेको छ । मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकायत गरेका थिए ।
६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्ययनमा समावेश गरिएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।
यस अनुसन्धानको नेतृत्व गरेका अनुसन्धानकर्ता डाक्टर टम वाटरफिल्डले भने, ‘हामीलाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्रमित बच्चाबाट कति धेरै संक्रमण फैलियो ।’
उनले संक्रमित केहि बच्चामा डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यसलाई कोरोनाको लक्षणमा समावेश गर्न पर्याप्त भएको बताए । बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।
अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्षणको रुपमा मानिदै आएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ । स्रोत- बीबीसी
यस्तै रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको विश्वसनियता बढेको छ । रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ ।
खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो ।
तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू परीक्षण जरूरी रहेको बताइएको छ ।
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए। स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनामा गरिएको जनाइएको छ ।
प्रतिक्रिया