• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    पुल्चोक घटनापछि प्रशासनले बल्ल चाल्यो यस्तो कडा कदम, अब के हुन्छ ?

    725
    SHARES

    काठमाडौं । ललितपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।

    बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
    कोरोना महामारीको जोखिमबीच स्थानीय र गुठियारहरूको भीडले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएसँगै दुई पक्षीय झडप सुरु भएको थियो । सो क्रममा प्रहरीले पानीको फोहोराका साथै अश्र्रुग्यास र लाठीचार्ज गरेको छ । यस्तै स्थानीयले पनि ढुंगामुढा प्रहार गरेका थिए ।

    कोभिड १९ का कारण सरकारले भेला भएर विभिन्न चाडपर्व मनाउन निषेध गरेको छ । तर सरकारको निर्णयविपरित निषेधाज्ञा तोडेर रथ तान्न थालेपछि झडप भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

    भोलिपनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। कोरोनाको महामारीका बीच चाडपर्वको नाममा भीडभाड गर्न नहुने कतिपयको भनाइ छ भने कतिपयले चाहिँ सामाजिक दूरी कायम गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्ने आवाज उठाएका छन् ।

    रातो मच्छिन्द्रनाथको रथ तान्न किन उर्लियो भीड? किन भयो झडप?

    निषेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीय र प्रहरीबीच बिहीबार झडप भयो। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरे। आक्रोशित भीडले प्रहरीमाथि ढुंगा बर्सायो।

    काठमाडौं उपत्यकाका लागि जात्रा भनेका संस्कृति, सम्पदा र परम्पराका धरोहर हुन्। तर, यही जात्राले यस्तो हिंसात्मक रूप कसरी लियो? यसमा स्थानीय सरकारको दोष छ कि प्रहरी–प्रशासनको? कि जात्रा आयोजक र रथ तान्न आएकाहरूको गल्ती छ?

    अहिले हाम्रो सामाजिक सञ्जाल रातो मच्छिन्द्रनाथ जात्राका क्रममा भएको झडपका तस्बिरले भरिएका छन्। हरेकले आ–आफ्नो विचार दिइरहेका छन्। धेरैले यसलाई ‘मूर्खता’ को संज्ञा दिँदै कोरोना संक्रमण बढ्ने चिन्ता व्यक्त गरेका छन्। कतिपयले त रथ तान्न आउनेहरूलाई तथानाम गाली गर्दै यहाँको संस्कृति र जात्रापर्वको खिल्लीसमेत उडाएका छन्।

    हामीले रथ तान्न आएकाहरूसँग कुरा गर्दा यो कुनै नियोजित कार्यक्रमजस्तो देखिँदैन। न उनीहरूलाई कसैले डाके, न औपचारिक रूपमा रथ तान्न आह्वान गरे। यहाँ एक जना, दुई जना गर्दै भीड बढ्दै गएको देखिन्छ। लामो समयदेखि थाती रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्न स्थानीय आफैं सडकमा आए भन्ने हल्ला एक कान दुई कान हुँदै मैदान भयो। त्यही हल्लाले जुर्मुराएर स्वतस्फुर्त पुल्चोकमा भेला हुन थालेको हामीले कुरा गरेका मान्छेहरूले बताएका छन्।

    जो रथ तान्न भनेर सडकमा आए, उनीहरूलाई पनि कोरोनाको डर नभएको होइन। काठमाडौं उपत्यकामा दिनप्रतिदिन संक्रमित थपिँदै गएको उनीहरूबाट पनि छिपेको छैन। तर, जोखिम थाहा हुँदाहुँदै उनीहरू किन ज्यानको माया मारेर यति ठूलो संख्यामा भेला भए त? यसको पछाडि गुठी संस्थान, स्थानीय सरकार र जात्रा व्यवस्थापन समूहबीच समयमै तालमेल नहुनु मुख्य कारण देखिन्छ।

    रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने साइत चैत २७ गते परेको थियो। तर, कोरोना महामारीका कारण रथ बन्न सकेको थिएन। यसले जात्रा होला कि नहोला भन्ने अन्यौल नै थियो।

    यसैबीच असार १० गते लकडाउन खुकुलो भएका बेला गुठी संस्थानले रथ बनाउने काम सुरू गर्न अनुमति दियो। सम्बन्धित गुठियारहरू दिनरात रथ बनाउनमा लागे। रथ निर्माण भएपछि विधिपूर्वक जात्रा हुनेमा गुठियार र स्थानीयहरू आशावादी भए।

    गुठी संस्थानले त्यति बेलै गुठियारहरू भेला गराएर यसपालि जात्रा गर्न सकिँदैन भनेर सरसल्लाह गरेका भए कुनै न कुनै विकल्प निकाल्न सकिन्थ्यो। अहिलेको अवस्था आउने नै थिएन। संस्थानले भने स्थानीय र गुठियारलाई विश्वासमा लिनुको साटो पटक–पटक रथयात्राको साइत तोक्ने र पछि सार्ने काम गरिरह्यो।

    रातो मच्छिन्द्रनाथ भनेको बुंगमतीको बुंगद्यः हो। बुंगद्यःसँग पाटनको मात्र होइन, सिंगो काठमाडौं उपत्यकाकै ठूलो आस्था र विश्वास जोडिएको छ। यसलाई काठमाडौंमा वर्षा गराउने सहकालको देउता मानिन्छ। त्यसैले, मनसुन सुरू हुनुअघि नै सम्पन्न भइसक्नुपर्ने यो जात्रा मनसुन सकिने बेलासम्म सुरू नहुनुले स्थानीय अन्यौलमा थिए।

    यति मात्र होइन, जात्रा हुने कि नहुने अन्यौलबीच रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराउने निर्णय गरियो। र, विधिपूर्वक यो कार्य सम्पन्न भयो। त्यसपछि त झन् रथयात्रा हुनेमा स्थानीय ढुक्क भए। तर, यति हुँदा पनि रथयात्रा सुरू गरिएन। बरू रातो मच्छिन्द्रनाथलाई महिनौंदेखि बीच सडकमा अलपत्र छाडियो।

    परापूर्वकालदेखिको जात्रा बीचैमा रोकिँदा र आफ्नो आस्थाको केन्द्र रातो मच्छिन्द्रनाथलाई बीच सडकमा छाडिँदा गुठियारहरू चिन्तित र आक्रोशित भए। उनीहरूले कोरोना महामारीको जोखिम ख्याल राख्दै सुरक्षा उपाय अपनाएर जसरी पनि जात्रा सम्पन्न गर्न सरकारसँग आग्रह गरे। कर्फ्यू लगाएर कसैलाई घरबाट निस्कन नदिई रथयात्रा चलाउन पनि उनीहरूले प्रस्ताव गरेका थिए।

    यही क्रममा रातो मच्छिन्द्रनाथका मूल पुजारी (पानेजु) कपिलमुनि बज्राचार्यका तर्फबाट ‘कर्फ्यू वा निशेधाज्ञा लगाएर भए पनि जात्रा गराउन’ राष्ट्रपतिका नाममा लिखित आग्रह पेस गरियो। कसरी सुरक्षित रथयात्रा गराउने भनेर खाकासमेत पेस गरिएको थियो। यसमा ललितपुर महानगरपालिका र प्रशासनले कुनै सुनुवाइ गरेन।

    रातो मच्छिन्द्रनाथका मूल पुजारी बज्राचार्य आजको झडपमा सरकारी निकायकै दोष देख्छन्।

    ‘हामीले कोरोनाको जोखिम हेरेर सुरक्षित रूपमा रथयात्रा सम्पन्न गर्न सरकारलाई पटक–पटक सुझाव दिएका थियौं। संक्रमण फैलिने जोखिम छ भने रथ तान्नेहरूको पिसिआर परीक्षण गराएर जात्रा सञ्चालन गरौं पनि भनेको हो। कर्फ्यू लगाएर अरू कसैलाई आउन नदिउँ पनि भनेको हो। सरकारले हाम्रो कुनै कुरा सुनेन,’ उनले भने।

    उनले अगाडि भने, ‘रातो मच्छिन्द्रनाथलाई यतिका समय रथमा राखेर हेलचेक्र्याइँ गरियो। हाम्रो आस्था जोडिएको संस्कृति र भगवानको मामिलामा यस्तो खेलाँची गर्न मिल्छ? पहिले रथ बनाउन लगायो, बुंगद्यःलाई रथमा विराजमान गरायो, अनि पछि जात्रा गर्न दिएन। सरकारको यही कुरा चित्त नबुझेर जनता आक्रोशित हुँदै सडकमा आएका हुन्।’ यसबाहेक बिहीबारको घटना हुनुमा अन्य दुई कारण पनि छन्, जसमध्ये एउटा रथयात्राको परम्परासँग जोडिन्छ भने अर्को रथयात्राको किम्बदन्तीसँग।

    केछ परम्परा ?

    यस वर्ष असोज २ गतेबाट मलमास सुरू हुँदैछ। मलमास सुरू भएपछि एक महिना रथ तान्न मिल्दैन। त्यो अवधिभरि रथयात्रा नगर्ने हो भने दसैंअगाडि जात्रा सम्पन्न गर्न सकिँदैन। जबकि, दसैंका लागि बुंगमतीमा मच्छिन्द्रनाथ नभई नहुने मूल पुजारी बज्राचार्य बताउँछन्। बुंगद्य:लाई मलमास अगाडि नै बुंगमति पुर्‍याउने उद्देश्यका साथ सयौंको भीड पुल्चोकमा भेला भएको स्थानीयको भनाइ छ।

    त्यस्तै, कुनै वर्ष रातो मच्छिन्द्रनाथको रथ तान्न सकिएन भने बुंगद्यःलाई भक्तपुर लगेर प्रतिस्थापन गराउनुपर्छ भन्ने किम्बदन्ती छ। भक्तपुरका राजा नरेन्द्रदेवको नेतृत्वमा १४ सय वर्षअघि भारतको आसामबाट रातो मच्छिन्द्रनाथ ल्याइएको थियो। त्यति बेला यसलाई बुंगमतीमा प्रतिस्थापन गराउँदा कुनै वर्ष रथयात्रा हुन नसके भक्तपुर फिर्ता लैजाने सहमति भएको स्थानीय विश्वास गर्छन्।

    यसपालि पटक–पटक रथयात्राको साइत टर्दै जाँदा यो किम्बदन्ती वास्तविकतामा परिणत होला र ललितपुरकै इज्जत गुम्ला भन्ने डर स्थानीयमा थियो। बिहीबारको भीड उग्र हुनुमा त्यो जनश्रुति पनि कारण रहेको स्थानीय बताउँछन्।

    बिहीबारको घटनाबारे हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग कुरा गरेका थियौं। उनले रथ कहिले तान्ने वा नतान्ने भन्ने निर्णय महानगरको नभएको बताए। यसको जिम्मा ज्यापु समाजको भएकाले अब के गर्ने भन्ने निर्णय गर्न बैठक बसिरहेको उनले जानकारी दिए।

    ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बिहीबारको घटनामा आफूहरूको कुनै भूमिका नभएको बताएका छन्। लामो समयदेखि रथयात्रा हुन नसकेर आक्रोशित जनता स्वतस्फूर्त सडकमा आउँदा यस्तो घटना भएको उनको भनाइ छ। ‘हामी अब कसरी विधिपूर्वक जात्रा सम्पन्न गर्ने र यो विवाद साम्य पार्ने भनेर छलफल गर्दैछौं,’ उनले भने।

    वर्षकै लामो रथयात्रा मानिने यो जात्राले करिब १४ सय वर्ष पुरानो इतिहास बोकेको छ। जात्रामा रथयात्रा गराइने मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त र ललितपुरका एक ज्यापूले भारतको आसामदेखि ल्याएको किम्बदन्ती छ।

    त्यो बेला गुरू गोरखनाथले आफूलाई कसैले भिक्षा नदिएको झोँकमा सम्पूर्ण नागलाई वशमा लिएछन्। नागलाई वशमा लिएपछि देशमा वर्षा भएन। अनिकाल लाग्यो। मच्छिन्द्रनाथ आएपछि गोरखनाथ उनको दर्शन गर्न उठ्दा नागहरू मुक्त भए, अनि वर्षा सुरू भयो भन्ने विश्वास छ।

    यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको बेलामा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको छ । गत आइतबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा गठित समितिले निषेधाज्ञाको अवधिमा होम डेलिभरी गर्ने मापदण्ड तयार पारेको हो ।

    काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा भदौ २४ गतेसम्म थपिएसँगै होम डेलिभरी गर्ने मापदण्ड तयार पारिएको हो । मापदण्ड बनेलगत्तै बिहीबारदेखि होम डेलिभरी सेवा सुचारु भएको नेपाल इकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमका संयोजक सागरदेव भट्टले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको मापदण्डमा होम डेलिभरी गर्दा पालना गर्नुपर्ने शर्तहरु र होम डेलिभरी गर्न पाइने सामानहरुको सूची राखिएको छ । होम डेलिभरी गर्न सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची, सरकारकाले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने शर्त मापदण्डमा छ ।

    यस्तै, सामान दिंदा सेवाग्राहीसँग कम्तिमा २ मिटरको दूरी कायम गर्नुपर्ने, सेवा वा वस्तु प्रदायकले अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजरले हात सफा गर्नुपर्नेछ । सेवाग्राहीको माग बमोजिमको गुणस्तर कायम नभएमा सामान फिर्ता लैजानुपर्ने समेत मापदण्डमा उल्लेख गरिएको छ ।

    दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मात्रै डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ । होम डेलिभरी गर्दा लिने व्यक्तिको नाम, ठेगाना र मोबाइल नम्बरको विवरण संकलन गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

    यस्तै, स्थानीय प्रशासन आफैंले वा अन्य निकायमार्फत होम डेलिभरी गर्ने कम्पनीको स्टोर, भान्सा र डेलिभरीको आकस्मिक अनुगमन गर्न सक्ने व्यवस्था पनि मापदण्डमा उल्लेख छ ।

    खाना, औषधि र औषधिजन्य उत्पादनहरु, बच्चाले प्रयोग गर्ने उत्पादन, मातृस्वास्थ्य स्याहारका सामग्री, छालाको सुरक्षासम्बन्धी उत्पादन, व्यक्तिगत सरसफाई, घरपालुवा जनावरको स्यहारसम्बन्धी उत्पादन, कृषिजन्य बीउ विजन, उपकरण र औषधिजस्ता सामग्री होम डेलिभरी गर्न पाइने मापदण्डमा उल्लेख छ । मापदण्डमा होम डेलिभरी गर्न पाइने सामग्रीको सूची उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ