• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

    1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लजाने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।

    यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो।

    प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

    गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो । सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

    विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन । यस्तै कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको छ ।

    यसअघि बुधबार नै ओली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घण्टा भएको भेटमा सचिवालय बैठकका एजेण्डासहित गौतमलाई के गर्ने भन्नेमा छलफल भएको थियो ।

    वामदेवको संघर्षमय बायोग्राफी

    नेकपा उपाध्यक्ष वामदेव गौतमको जन्म विसं. २००५ साल असार २६ गते प्युठानको दाखाक्वाडीमा भएको हो । उनी अहिले ७२ वर्ष पुगेका छन् । गौतमका हजुरबा सामन्त थिए, पिता धनी किसानमा झरे । उनीचाहिँ आफूलाई मध्यम वर्गको भन्न रुचाउँछन् ।

    वामदेवको विगत निकै नै संघर्षपूर्ण आवेगहरुमा बितेको थियो । पाँच वर्षदेखि विद्यालय जान थालेका गौतमको ७ वर्षमै ब्रतबन्ध भयो । ९ वर्षको हुँदा ज्योतिष अध्ययन गर्न गुल्मीको गुरुकुलमा भर्ना भए । तर, उनको स्कुले जीवन निकै अस्थिर बन्यो ।

    संस्कृत पढ्न छाडेर उनी प्युठानकमै आधार पाठशालामा ५ कक्षामा भर्ना भए । मोहन विक्रम सिंहको संगतमा पर्नै लागेका थिए, यहीवीचमा लाहुरे बन्छु भन्दै घरबाट सुन लिएर भागे । तर, ठगले सुन लगेर विचल्लीमा पारिदिएपछि उनी घर र्फकन बाध्य भए ।

    त्यसपछि घर परिवार, स्कुल सबै ठाउँमा उनीमाथि अपमानजनक व्यवहार हुन थाल्यो । उनी मुक्ति हाईस्कुलमा ६ कक्षामा भर्ना भए । त्यहाँबाट ८ कक्षा पास भएपछि साहुका छोराहरुसँग लागेर बनारस गए । त्यहाँ घरेलु कामदारका रुपमा १५ दिन काम गरे ।

    प्युठानमा गौतमको परिवार कांग्रेस थियो । उनका मामा प्युठान कांग्रेसका संस्थापक एवं २०१५ सालका निर्वाचित सांसद थिए । बनारसमा निर्वासित जीवनमा रहेका मामाको साथ लागेर गौतम गोरखपुर पुगे । र, एउटा साथीको सहयोगमा नेपाल फर्किए । बेखर्ची अवस्थामा रहेका वामदेवलाई टिकुरीका घमानसिंह केसीले बाग्लुङ लगे ।

    भारतबाट फर्केपछि गौतमको बसाइ बागलुङको भीमगिठ्ठेमा भयो । बाग्लुङमै हुँदा कम्युनिस्ट पार्टीको सदस्य बने । असारे प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्द केकेले उनलाई पार्टी सदस्यता दिएका हुन् । उनी फेरि प्युठान आए । मुक्ति हाइस्कुलमै ९ महिना पढेर एसएलसी दिए र उत्तीर्ण गरे ।

    प्युठानमा कम्युनिष्ट पार्टीसँग सम्पर्क नभएपछि खर्चको जोहो गरेर भारतको मुम्बईमा पुगे । त्यहाँ जवलपुरमा १० दिनसम्म एउटा पसलमा काम गरे । त्यसपछि नेपालगञ्ज हुँदै सुर्खेत पुगे । त्यहाँस्थित रजेना प्राविको प्रअ बने । त्यहाँ पनि धेरै समय टिकेनन् र विद्रोह गरेर बर्दियातिर लागे ।

    अन्ततः बर्दिया नै नेता गौतमको राजनीतिक कर्मथलो बन्यो । त्यहाँ उनले केही समय जिल्ला पञ्चायत कार्यालयमा मुखियाको जागिर खाए । सब इन्स्पेक्टर बनेर ‘वनजाँचे’ को जागिर गरे । कम्युनिष्ट अध्ययन केन्द्र सञ्चालन गरे ।

    तर, गौतमको बसाई बर्दियामै स्थिर रहेन । सञ्चा कम्युनिस्ट बन्नका लागि भन्दै भारतको कानपुरमा फलामखानीमा काम गरे । त्यहाँबाट फर्केर केही समय रुपन्देहीमा बसे । राजमार्गतिर मजदुरी गर्न पाइन्छ कि भनेर काम खोजे । तर, नपाएपछि निराश बनेर फेरि भारततिरै फर्किए ।

    भारतको असाम जान भनेर हिँडेका उनी वीरगञ्जमा निस्किए । भैंसालोटनमा एक रात बिताएर फेरि भैरहवा फर्केर रक्सी कारखानामा एक हप्तासम्म काम गरे । लुम्बिनी पुगेर बुद्धशिला र अशोक स्तम्भको पहिलोचोटि दर्शन गरे ।

    फेरि भारत पुगेर एउटा कलेजमा तीन महिनाजति चौकीदारी गरे । अनि फेरि मजदुर बनेर कम्युनिस्ट पार्टीमा काम गर्छु भन्ने सोचेर नेपाल फर्किए । र, भैरहवाको ठुटेपिपलस्थित माछा फार्मको मुखिया बने । पक्लिहवा क्याम्पसमा भर्ना भए ।

    यही क्रममा जीवराज आश्रति मार्फत कम्युनिष्ट पार्टीको सम्पर्कमा आए । विद्यार्थी आन्दोलन भयो, गौतम पक्राउ परे । दोस्रोपट पार्टी सदस्यता लिए । मोदनाथ प्रश्रतिले गौतमलाई पार्टी सेलमा संगठित गरे ।

    गौतमले कम्युनिष्ट साहित्य अध्ययन गर्न थाले । सुरुमा कृषि फार्ममै काम गरे । त्यहीँ उनले सेल कमिटी गठन गरेपछि मोदनाथले उनलाई एरिया कमिटीमा बढुवा गरे । मोदनाथ पक्राउ परेपछि एरिया कमिटीका सचिव सीताराम किसान पलायन भए । र, गौतम एरिया कमिटीको सचिव बने । त्यसपछि उनले पूर्णकालीन कार्यकर्ता भएर भूमिगत बन्न पाउँ भन्दै पार्टीमा निवेदन हाले ।

    गौतमको भूमिगत राजनीतिको औपचारिक यात्रा पाल्पाबाट सुरु भयो । तर, एक महिनापछि नै उनी रुपन्देही फिर्ता भए र सालझण्डी क्षेत्रमा खटिए । जिल्ला कमिटीमा उक्लिए । पञ्चालतकालमा गौतमले रुपन्देही, नवलपरासी र कपिलवस्तुको इञ्चार्ज भएर काम गरे । २०२७ सालतिर किसान आन्दोलन चर्किँदा उनी सोही क्षेत्रमा कार्यरत थिए ।

    ०२९ सालपछि कार्यकर्ताहरुको भागाभाग, पलायन र विभाजन सुरु भयो । पुष्पलालको पार्टीभित्र विद्रोह भयो । ०३० सालपछि मुक्ति मोर्चा बन्यो । पुष्पलाल र तुल्सीलालवीच अन्तरविरोध चर्कियो । उनी को-अर्डिनेशन केन्द्रसँग नजिकिन थाले । सोहीबेला उनी पक्राउ परे र दुई वर्षजति जेल बसे । जेलभित्रैबाट उनले कोअर्डिनेसन केन्द्र तीनचोटि सदस्यता नवीकरण गरे । यो समूहलाई झापा विद्रोहवाला समूहका रुपमा चिनिन्थ्यो । २०३५ सालमा यो माले भयो र पछि एमाले भयो ।

    जेलबाट निस्केपछि वामदेव गौतम नेकपा (माले) को सम्पर्कमा पुगे । सुरुमा गण्डकी-धौलागिरीको इञ्चार्ज बने । एक समय सुदुरपश्चिमको पनि इञ्चार्ज बने । वामदेव ०४६ साल भदौको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बने । ०४६ सालको जनआन्दोलनका बेला मध्यपश्चिमबाट नेतृत्व गरे । र, ०४७ बैशाख ९ गतेदेखि खुल्ला राजनीतिमा आए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ