• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    आगामी ३ दिनसम्म मेघगर्जन सहित कहाँ कहाँ हुँदैछ भारी वर्षा ? भर्खरै आयो यस्तो जनाकारी

    425
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

    मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ र सुदुरपश्चिम बाहेकका प्रदेशमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । यस्तै, मंगलबार राति गण्डकी, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ ।

    बुधबार दिउँसो गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश १, प्रदेश २ र बागमतीमा एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ । बुधबार राति भने गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने संभावना छ ।

    यसैबीच वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएका कारण प्यूठानका ग्रामीण सडक अवरुद्ध भएका छन् । सवारीसाधन नचल्दा ऐरावती गाउँपालिकाका सिख्रे तिग्रापातल, तिल्केनी, चुत्रेनी जाबुनलगायतका नागरिकले समस्या भोग्दै आएका छन् ।

    हिउँदको समयमा मुश्किलले सवारीसाधन आवतजावत गरे तापनि वर्षात्का समयमा सवारीसाधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । आर्थिक वर्ष २०७३/०७४ बाट सडक डिभिजन कार्यालयले माण्डवी र ऐरावती गाउँपालिका जोड्ने चेरनेटा–चीन–जाबुने सडकखण्ड स्तरोन्नति गर्न लागेपछि सडकमा गाडी गुड्न पाएका छैनन् ।

    शुरुमा माटो र ढुङ्गाको उचित व्यवस्थापन नहुँदा सवारी सञ्चालनमा आउनसकेका थिएनन् । तिग्रापातलवासीले ठेकेदारका कारण समस्या भएको जनाउँदै इलाका वन कार्यालय बरौलामा मौखिक निवेदन दिएपछि रोकिएको निर्माणको काम माग पूरा गर्ने सर्तमा पुनःसञ्चालन भएको थियो ।

    वर्षात्का समयमा पानीको मात्रा बढेसँगै नयाँ सड्क भत्किनुका साथै ठाउँठाउँमा पहिरो गएको छ । वर्षात्का कारण माटो, ढुङ्गा अत्यधिकमात्रामा खोलामा मिसिन गई तिग्रा, धुवाङ्ग, कैरन बस्तीनै सङकटमा परेपछि स्थानीयवासीको विरोधका कारण रोकिएको काम अझै शुरु हुन सकेको छैन ।

    सडकमा रहेको ढुङ्गा माटो र पहिराका कारण मोटरसाइकलसमेत आवतआवत गर्नसक्ने अवस्था नरहेको स्थानीय तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङले बताए । गाउँघरमा कोही बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिनाइ भएको उनको भनाइ छ ।

    सडक डिभिजन कार्यालयका अनुसार करीब १९ किलोमिटर सडकको स्तरोन्नतिका लागि आठ करोड बजेट विनियोजन भएको थियो । हालसम्म चार करोड बराबरको काम भइसकेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अर्जुन खत्रीले जानकारी दिए ।

    वर्षात्को समयमा चौतर्फी विरोध भएपछि केही समय काम स्थगित गरिएको उनको भनाइ छ । ऐरावती गाउँपालिकाकै बरौला–नार्सिनेटा–दाङवाङ जोड्ने सड्क पनि अहिले अवरुद्ध छ । सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवातजावतमा समस्या परेको छ ।

    अत्यावश्यक काममा जानुपरेमा वा कोही बिरामी भएमा घुमाउरो सडकमार्फत अस्पताल पुर्‍याउने गरिएको स्थानीयवासी बताउँछन् । वर्षात्का समयमा जिल्लाका ग्रामीण क्षेत्रका विभिन्न कच्ची सडक अवरुद्ध हुन्छन् । थोरै बजेटमा जनताले सडक गाउँमा पुर्‍याउन खोज्नु, व्यवस्थितरुपमा सडक निर्माण नहुनु तथा सडकमा नाली निर्माण नगरिनुले ग्रामीण सडक अवरुद्ध हुने गरेका बताइएको छ ।

    यस्तै झिमरुक गाउँपालिकाभित्रका भित्री शाखाका सडक पनि वर्षात्को समयमा अवरुद्ध छन् । गौमुखी गाउँपालिकाका पनि अर्खा, गौमुखी जाने सडक पनि तथा नौवहिनी गाउँपालिकाका बाहाने–स्याउलीबाङ, बाहाने–लिगा, बल्लेखोला–मैरामारे सडकखण्ड पनि अवरुद्ध रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ