• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अर्गानिक विजनेस

    काठमाडौं महानगरपालिकाले बिहीबारबाट खाद्यान्न, फलफूल, तरकारीको नियमित अनुगमन गर्ने

    0.9K
    SHARES

    काठमाडौं। काठमाडौं महानगरपालिकाले खाद्यान्न,फलफूल तथा तरकारीको नियमित अनुगमन गर्ने भएको छ। महानगरको उपभोक्ता हित संरक्षण समितिले महामारीको समयमा बिक्री वितरण गर्दा मूल्य र गुणस्तरमा हुनसक्ने ठगी रोक्न अनुगमन गर्न लागेको हो।

    उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको हो। ‘काठमाडौंको बजार नियमन र व्यवस्थापन गर्न धेरै कार्यालयहरुबाट अनुगमन गर्दा फितलो हुन्छ। नियमित र व्यवस्थित पेसा गर्नेलाई झर्को हुन्छ,’ बैठकमा उपमेयर खड्गीले भनिन, ‘उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने सबै पक्षलाई लिएर महानगरको नेतृत्वमा अनुगमन गरौं। अनुगमन मौसमी भयो भने बजार नियमन हुन सक्दैन, त्यसैले यसलाई नियमित गरौं।’

    कोभिडका कारण पछिल्लो समय खाद्यान्न, फलफूल र तरकारीको आयात घटेको छ। यही बहानामा मूल्य बढेको गुनासो आएको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए। ‘यो गुनासो व्यवस्थापन गर्नु अहिलेको पहिलो आवश्यकता हो,’ उनले भने।

    बजार अनुगमनमा जाँदा प्रचलित व्यवस्थाविपरीत काम गर्नेलाई दण्डित गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा छ। ‘महानगरपालिकाले संयन्त्र बनाउने हो भने यो अधिकार हामी प्रत्यायोजन गर्न सक्छौं,’ बैठकमा विभागका निर्देशक सागर मिश्रले भने, ‘त्यो संयन्त्र तयार नहुञ्जेल महानगरबाट हुने अनुगमनमा विभागको प्रतिनिधि सहभागी हुनेछन्।’

    विभागका प्रतिनिधिले त्रुटि गर्नेलाई अनुगमनकै क्रममा जरिवाना तिराउन सक्नेछन्। बिहीबारबाट बजार अनुगमन गर्न लागिएको छ। बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल चेम्बर अफ कमर्स र उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधिहरु सहभागी थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ