• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कुलमानलाई नै फेरी प्राधिकरण प्रमुख बनाएको हल्ला चलेपछि उर्जामन्त्री पुनले मुख खोले, यस्तो छ यथार्थ

    3.3K
    SHARES

    काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

    विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने,- ‘कुनै निर्णय भएको छैन ।’

    मंगलबार मन्त्रीपरिषद बैठक सुरु भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलमानलाई पुन: प्राधिकरण प्रमुखमा नियुक्त गरिसेको भन्दै व्यापक हल्ला चलेका थिए । उक्त हल्लापछि उर्जा मन्त्रालयले मुख खोलेको हो ।

    तर प्राधिकरणको प्रमुखमा पुनः कुलमान घिसिङ नै नियुक्त हुने लगभग पक्कापक्कीजस्तै भएको स्रोत बताउछ । ४ वर्ष घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै कुलमानलाई दोहोर्याउनुपर्ने ब्यापक माग जनस्तरमा उठेको छ । यस बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका २ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भएको बुझिएको छ ।

    उक्त छलफलका क्रममा कुलमानलाई नै प्राधिकरणमा दोहोर्याउने बिषयमा ओली सहमत भएको स्रोतले बतायो । प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको भन्दै जनस्तरमा व्यापक अभियान चलेको र अहिले जनमतको बिरुद्धमा गए सरकार झनै नागिँने भन्दै प्रचण्डले ओलीलाई सुझाएका छन् ।

    भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको एघारौँ तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।

    कार्यकाल सकिन लागेपछि प्राधिकरणमा अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा चलखेल पनि जारी छ। कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ ।

    कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ ।

    कुलमानको कार्यकालमा यसरी भयो ‘मिराकल’

    नेपालमा विद्युत् उत्पादन कम भएको भए पनि यति धेरै लोडसेडिङ हुने अवस्था नरहेकोमा घिसिङ नियुक्ति अघि नै .जानकार थिए । लोडसेडिङ गरेर विद्युत्को व्यवस्थापन हुन नसक्नेमा पनि उनी विश्वस्त थिए । त्यसैको व्यवस्थापन गर्ने उद्देश्य सुरुमा आफूले लिएर आएको उनको भनाइ छ । त्यसैले उनले सुरुमै औद्योगिक फिडरमार्फत् बिक्री हुँदै आएको विद्युत्लाई रातिको समयमा मात्रै सीमित गरे । पिकआवरमा घरायसी उपभोक्तालाई मात्रै बिजुली दिने व्यवस्था मिलाए । त्यसो गर्नेेबित्तिकै लोडसेडिङमा ठूलो राहत मिलेको थियो ।

    अर्को लक्ष्य चुहावट नियन्त्रणको थियो । घिसिङ आउँदा विद्युत्को चुहावट करिब २६ प्रतिशत थियो । त्यसमध्ये केही चुहावट प्राविधिक कारणले हुन्थ्यो भने अरु चोरीका कारणले हुने गरेको थियो । बिजुलीको चोरीमा कर्मचारीहरुकै सक्रियता देखिएपछि उनले व्यापक सरुवा अभियान सञ्चालन गरेका थिए । यो सरुवाले वर्षौदेखिको अनधिकृत वितरण र चोरीको जालो हट्यो । यसले एकततिर विद्युत् बचत गराया, अर्कोतिर प्राधिकरणको नोक्सान घटायो । तर, त्यसमा संलग्नहरुलाई कारबाही भने अहिलेसम्म पनि भएको छैन ।

    यो अवस्थामा प्राधिकरणले नयाँ नेतृत्व कस्तो पाउँछ र त्यसले कसरी काम गर्छ भन्ने जोखिममा देशको समग्र विद्युत् क्षेत्र हुनेछ । त्यही जोखिमलाई कम गर्नकै लागि भने पनि एक कार्यकाल कुलमानलाई नै दोहोर्याउनुपर्छ भन्ने माग अहिले बलियो बन्दै गएको हो ।

    घिसिङले आफ्नो नियुक्तिको २ महिनामै लक्ष्मीपूजामा देशभर बत्ति नजाने व्यवस्था मिलाए । औद्योगिक वितरण बन्द गर्ने र कुलेखानीको पावर ब्याकअपको व्यवस्थापन गरेर यसरी लोडसेडिङ नहुने वातावरण उनले मिलाएका थिए । त्यो सफलतापछि उनीप्रतिको भरोसा बढ्दै गयो । फलस्वरुप त्यसको ४ महिनापछि घरायसी उपभोक्तालाई लोडसेडिङ नै नहुने घोषणा गर्न सफल भए । कुलमान भन्छन्, ‘लोडसेडिङ हुँदैन भन्ने घोषणा गर्नेबित्तिकै मागको व्यवस्थापन गर्न झनै सहज भयो । पहिले बत्ति आएको बेला ब्याट्री चार्ज गर्ने, ठूला मेसिन चलाउनेहरु अब चलाउन छाडे, व्यवस्थापन गर्न सहज भयो ।’

    कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ । सोही चलखेलका कारण उनी दोस्रो कार्यकालमा लागि प्राधिकरणमा रहने सम्भावना समेत कमजोर बन्दै गएको बताइएको छ । कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ ।

    लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ । तर, उर्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल अघि बढाइएका छन् । केही व्यक्तिहरुलाई पदको आश्वासन समेत दिइएको स्रोतको दाबी छ ।

    क–कसले गर्दैछ चलखेल ?

    कुलमानको दोस्रो कार्यकालको विपक्षमा यतिबेला त्रिपक्षीय लविङ सुरु भएको छ । त्यसरी विपक्षमा लबिङ गर्ने पहिलो नम्बरमा घिसिङको उत्तराधिकारीको रुपमा आफू वा आफ्नो अनुकुल व्यक्तिलाई ल्याउन चाहने व्यक्तिहरु छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकलाई सार्वजनिक संस्थानका कार्यकारी प्रमुखमध्येकै आकर्षक पद मानिन्छ ।

    नेपाल विद्युत् प्राधिकरण सरकारी लगानीको सबैभन्दा ठूलो वासलात भएको सार्वजनिक संस्थान हो । धेरै सम्पत्ति, ठूलो कर्मचारी संगठन र सर्वाधिक पुँजीको कारणले मात्रै प्राधिकरण सबैको आकर्षणको केन्द्र बनेको भने होइन । प्राधिकरण सार्वजनिक खरिदसम्बन्धी काममा सर्वाधिक रुपमा संलग्न हुने संस्थामध्ये पनि अग्रस्थानमै आउँछ ।

    त्यसमाथि यतिबेला प्राधिकरणले विभिन्न रणनीतिक महत्वका परियोजनाहरु सञ्चालन गर्दै आएको छ । विद्युतीय तारलाई अन्डरग्राउण्ड गर्ने, देशभर ग्राहस्र्थ ग्राहकलाई सिंगल फेजको स्मार्ट मिटर जडान गर्ने, विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनहरु निर्माण गर्ने, मल्टिसर्किट ट्रान्समिसन लाइनहरुको निर्माण गर्ने कामलाई प्राधिकरणले अहिले तीव्रताका साथ अघि बढाइरहेको छ ।

    त्यसो त, लोडसेडिङ हट्दा अरर्बौंको व्यापार र करोडौँको आम्दानी चौपट भएकाहरुको रिस पनि यतिबेला मरिसकेको छैन । इन्भर्टर, ब्याट्री, जेनेरेटर, चार्जिङ ल्याम्प, चार्जिङ सीएफएल बल्ब जस्ता सामानहरुको वार्षिक अर्बौँको व्यापार गर्दै आएकाहरुको व्यापार समेत लोडसेडिङ अन्त्य भएपछि ठप्प भयो । एलईडी बल्ब खरिदका लागि प्राधिकरणले चालेको प्रक्रियाले थप अर्बौंको व्यापार ठप्प हुने अवस्थामा पुगको थियो । त्यो रिसकै कारण भने पनि उनको कार्यकालमा क्रमभंगता चाहने व्यापारीहरुको जमात ठूलो छ ।

    उल्लेखित सबै कामका लागि ठूलो खरिद सम्झौता गर्नुपर्नेछ । सार्वजनिक खरिदलाई आफ्नो अनुकुल बनाउने र त्यसबाट अनधिकृत लाभ लिने उद्देश्य भएकाहरु समेत यो पदमा आफू अनुकुलको व्यक्ति ल्याउन चाहन्छन् । त्यसैका लागि पछिल्लो लबिङ सुरु भएको हो । त्यसमाथि प्राधिकरणले लगानी गरेका वा प्राधिरणको स्वामित्वमा रहेका सयौं ठूला आयोजनाको व्यवस्थापनमा समेत विद्युत् प्राधिकरणको महत्वपूर्ण भूमिका हुने भएकोले यो पदलाई आकर्षणको केन्द्र मानिएको हो । सोही कारण त्यो पदका आकांक्षीहरुले सो पदका लागि जोडबल गरिरहेका छन् ।

    कुलमानलाई दोस्रो कार्यकालमा देख्न नचाहने अर्को पक्ष सरकारकै उच्चपदस्थ व्यक्ति र कर्मचारीहरु हुन् । घिसिङका कारण विगत ४ वर्षदेखि प्राधिकरणमा उनीहरुको स्वार्थले काम गर्न छाडेको छ । कार्यकारी निर्देशकमा नियुक्त भएको पहिलो वर्ष कुलमानले तात्कालिन उर्जामन्त्री जनार्दन शर्माको सहयोगमा विद्युत् प्राधिकरणलाई स्वतन्त्र रुपले अघि बढाएका थिए । शर्मा उर्जामन्त्रीबाट बाहिरिने अवस्थामा पुग्दा उनले निकै ठूलो समर्थन पाइसकेका थिए । त्यही कारण उनलाई पद जोगाउनकै लागि कसैसँग सौदाबाजी गर्नुपर्ने अहिलेसम्म अवस्था आएन ।

    कुलमानको नेतृत्वमा विद्युत् प्राधिकरणको फड्को- वार्षिक नाफा ११ अर्ब नाघ्दा सञ्चित नाफा झण्डै ५ अर्ब

    कुलमानको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार प्राधिकरण अव संचित नाफामा पनि गएको छ ।

    प्राधिकरणले गत आवमा ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आव २०६७/०६८ सम्मको सञ्चित घाटा करिब २७ अर्व रुपैयाँ अपलेखन गरिदिएपछि घाटामा गइरहेको थियो । आव २०७२/७३मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आवहरुमा निरन्तर घटाएर गत आवबाट मुनाफा कमाउन सफल भएको हो ।

    आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका आवहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले आव २०७३/०७४ मा एक अर्व ४७ करोड, आव २०७४/०७५मा २ अर्व ८५ करोड, आव २०७५/०७६ मा ९ अर्व ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

    प्रणालीमा रहेको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ । आव २०७२/०७३मा २५.७८ प्रतिशत विद्युत चुहावट त्यसपछिका आवहरुमा निरन्तर घटाएर अहिले १५.२७ प्रतिशतमा झारेको हो । चुहावटलाई आव २०७३/७४मा २२.९, २०७४/७५ मा २०.४५, २०७५/७६ मा १५.३२ प्रतिशतमा झारिएको थियो ।

    चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ । प्रणालीको कूल चुहावटलाई १० प्रतिशतभन्दा पनि तल लग्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    गत आवमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत अवमा प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।

    ‘देश जतिबेला १४ घन्टासम्मको लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत खपतको करिव ३५ प्रतिशतविद्युत भारतबाट आयात गर्नु पर्ने अवस्था थियो । तर विद्युत खपत करिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशत करिव ३५ देखि ३७ प्रतिशतकै हाराहारीमा थियो, घिसिङले भने,’ तर, गत आवसम्म आइपुग्दा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ, चालु आवमा यो घटेर ५ देखि १० प्रतिशत मात्र आयातको अंश रहनेछ ।’

    आव २०७८/७९ बाट नेपाल विद्युतमा पूर्णत आत्मनिर्भर हुने र नेट निर्यातको क्रम सुरु हुने उनले बताए । आव २०७२/७३मा साढे ३१ लाख, २०७३/७४मा २६ लाख ९० हजार, २०७४/७५मा २९ लाख ४० हजार, २०७५/७४मा ३ करोड ४७ लाख र २०७६/७७मा १० करोड ७० लाख युनिट ऊर्जा निर्यात गरिएको हो ।

    आर्थिक वर्ष २०७२/७३ मा वाषिर्क विद्युत खपत ३ अर्व ७१ करोड ५८ लाख युनिट थियो । अघिल्लो वर्षभन्दा अर्थात् आर्थिक वर्ष २०७१/७२ भन्दा पनि त्यो वर्ष विद्युत उपयोग करिव ०.७ प्रतिशतले कमी भएको थियो ।

    यसरी प्रतिव्यक्ति वाषिर्क विद्युत खपत १३१ युनिट मात्र थियो । तर, त्यस यता विद्युत खपत लगातार बढेको छ । आर्थिक वर्ष २०७३/७४ को कूल विद्युत खपत ४ अर्व ७७ करोड ३८ लाख युनिट, आर्थिक वर्ष २०७४/७५ मा ५ अर्व ५५ करोड ७३ लाख युनिट, आर्थिक वर्ष २०७५/७६ मा कूल खपत ६ अर्व ३३ करोड ८१ लाख र आर्थिक वर्ष २०७६/७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ