काठमाडौँ । नेपालको राष्ट्रिय झण्डा जनाउने १ जनालाइ प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियाे छ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको हो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।
‘यस सम्बन्धमा अनुसन्धान गरिरहेका छौं। गायकको खोजी तीव्र भइरहेको छ,’ महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,’बितृष्णा फैलाउने गम्भीर कसुर गरेको छ। हामीले अनुसन्धान गरिरहेका छौं।’
महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।
यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले “देशद्रोही“ शीर्षकको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ । राप्रविसंका केन्द्रिय महासचिव जनक फडेराले मंगलबार एक बिज्ञप्ति जारी गर्दै गीतमा राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको शब्द प्रयोग गरिएको भन्दै यसमा संग्लनहरुमाथि कारवाहीको माग गरेका छन् ।
केही समय अगाडि “Mangol Hop official” नामक युट्युब च्यालनबाट युट्युबमा अपलोड गरिएको “देशद्रोहि“ शीर्षक भद्दा गितमा राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको , “ बाहुन क्षेत्रि चोर हुन् “ भन्ने जस्ता शब्द प्रयोग गरिएको , सामाजिक सदभाव खलबलाउने कार्य गरिएको प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ बिज्ञप्तिमा भनिएको छ ।
राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको भन्दै राप्रविसंले उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न जोडदार माग गरेको छ । यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी समेत बिज्ञप्तिमार्फत दिइएको छ ।
‘राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु नेपालको संविधानले पनि अपराध मानेको छ । र उक्त गीतलाई बन्देज गरी राष्ट्रद्रोहजस्तो अपराधमा संलग्न सबैलाई हदै सम्मको कारबाही गर्न राप्रविसं केन्द्रीय समिति जोडदार माग गर्दछ। यस्ता गलत कार्यमा संलग्नलाई कारवाही नगरिए राप्रविसं कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहन्छ।’ बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया