• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कभर स्टोरी समाचार

    ओलीलाई मेन्सन गर्दै नरेन्द्र मोदीले गरे यस्तो ट्वीट, सामाजिक सञ्जालमा भाइरल

    14.4K
    SHARES


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि भैरहेको पछिल्लो प्रयासबारे छलफल भएको छ ।

    आज भएको टेलिफोन वार्तामा उहाँहरुबीच कोरोनाको सङक्रमण न्यूनिकरणका लागि मिलेर अघि बढ्ने समझदारी समेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वका विभिन्न देशहरुकोको प्रयास सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणबारे गएको अप्रिल १० मा भएको संवादसमेत स्मरण गराएका थिए । यस्तै उनीहरुबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमतिसमेत भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले भारतको ७४ सामाजिक सञ्जाल ट्विटर मार्फत स्वतन्त्रता दिवसको अवसरमा भारतीय नागरिकलाई शुभकामना समेत दिएका छन । यसैबीच स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि धन्यवाद फर्काएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ओलीलाई मेन्सन गर्दै उनले ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिएकोमा धन्यवाद व्यक्त गगेको हुन । उक्त ट्वीटलाई भारतीय पक्षधरले भाइरल बनाइरहेका छन् ।

    गत कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्धमा चिसोपना आएको थियो । त्यसपछि भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने बाटो निर्माण गरि उद्घाटन गर्‍यो । नेपालले भारतलाई पटक–पटक दुईपक्षीय वार्तामा बस्नको लागि आह्वान गर्दै आए पनि भारतले विभिन्न कारण देखाउँदै टार्दै आएको थियो । त्यसपछि नेपालले पनि आफ्नो भूभागलाई समेटेर लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेको थियो ।

    सीमा विवादमा वार्ता गर्न नचाहेको भारतका प्रधानमन्त्री मोदी सामु ओलीले अप्रिलमा कोरोना भाइरसको संक्रमणको विपदमा कुरा गरेपछि पहिलोपटक संवाद गरेका हुन् ।संवादमा सीमा विवादका बारेमा दुई प्रधानमन्त्रीबीच कुरा भएको वा नभएको बारे उल्लेख नगरे पनि उच्चस्तरमा भएको यो संवादले नेपाल र भारतबीच चलिरहेको लामो समयको तनावलाई केही कम गर्ने अनुमान गरिएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार ओलीले मोदीलाई छिमेकीसँगको सम्बन्धमा जोड दिने भनेर मोदीले शनिबार बिहान स्वतन्त्रता दिवसको अवसरमा गरेको भाषणाको सराहनासमेत गरे । मन्त्रालयका अनुसार दुवै प्रधानमन्त्रीले भविष्यमा पनि दुईपक्षीय छलफललाई जारी राख्ने कुरामा सहमति जनाएका छन् ।

    यसैबीच द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा गर्न नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको आठौं बैठक सोमबार हुँदै छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकर बैरागी र भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्दै छन् । भर्चुअल बैठक विशेषगरी भारतको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिमा केन्द्रित हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    संयन्त्रको सातौं बैठक ८ जुलाई २०१९ मा काठमाडौंमा भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सेप्टेम्बर २०१६ मा सम्पन्न भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार संयन्त्र गठन भएको हो । हुलाकी राजमार्ग, अन्तरदेशीय रेलमार्ग लगायतका भारतीय सहयोगका परियोजना वर्षौंसम्म सम्पन्न नहुनेलगायतका समस्या देखिएपछि प्रधानमन्त्री तहको बैठकमा उक्त संयन्त्र गठन गर्ने निर्णय गरिएको थियो । संयन्त्रको कार्यादेश द्विपक्षीय परियोजनाको कार्यान्वयन मूल्यांकन र समयमै सम्पन्न गर्नका लागि आवश्यक निर्णय लिने रहेको छ ।

    भारतले शिक्षा, स्वास्थ्य, खानेपानीका अतिरिक्त रेल, सडक, ऊर्जालगायतका आयोजनाका लागि पनि वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ । तीमध्ये पूर्वाधार आयोजनामा बेलैमा काम सम्पन्न नहुने र त्यसले लागत बढ्नेजस्ता समस्या देखिएका छन् । भारतीय सहयोगमा बनिरहेका हुलाकी राजमार्ग, एकीकृत भन्सार चौकी, अन्तरदेशीय रेल सेवा यी समस्याबाट बढी मारमा परेका छन् ।

    परियोजनामा हुने ढिलाइका पछाडि विशेषगरी जग्गा अधिग्रहण समयमा नहुनु र भारतीय अधिकारीहरूमा ठूला पूर्वाधार परियोजना कार्यान्वयनमा विशेषज्ञताको अभाव र परामर्शदाता र ठेकेदारका पनि प्राविधिक कमजोरी एवं लापरबाही हुनु प्रमुख कारण रहेका छन् । दिल्लीस्थित थिंक ट्यांक ब्रुकिंग्स इन्डियाले पनि यिनै कारणलाई औंल्याएको छ ।

    ब्रुकिंग्सद्वारा हालै सार्वजनिक ‘ह्वेन ल्यान्ड कम्स इन अ वे : इन्डियाज कनेक्टिभिटी इन्फ्रास्ट्रक्चर इन नेपाल’ अध्ययन प्रतिवेदनमा भारतीय पक्षलाई नेपालको जग्गा अधिग्रहण, सम्पत्तिमाथि अधिकारजस्ता विषयको विस्तृत अध्ययन गरी प्रस्ट मापदण्ड बनाउन सुझाइएको छ ।

    विश्व बैंक र एसियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय दातृ निकायले अवलम्बन गरेका जग्गासम्बन्धी राम्रा नीतिको मूल्यांकन गर्न पनि भनिएको छ । नेपाललाई पनि जग्गा अधिग्रहणसम्बन्धी कानुनी व्यवस्थालाई समयसापेक्ष ढंगले परिमार्जन गर्नुपर्ने, यसलाई राजनीतिक विवादबाट मुक्त राख्नुपर्ने जस्ता सुझाव पनि दिइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ