• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु भएलगत्तै गृहले ७७ वटै जिल्लालाई दियो यस्तो कडा निर्देशन, कहिलेबाट हुन्छ लागु ?

    1.5K
    SHARES

    काठमाडौं ।बुधबार नेपालमा नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमणले बिकराल रुप लिने संकेत देखिएकै दिन गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो ।

    ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट भएको निर्देशन समेतको आधारमा हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्थालाई कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नभएसम्म साउन २९ गतेदेखि लागु हुने गरी वितरण नगर्नु नगराउनुहुन आदेशअनुसार अनुरोध छ’, मन्त्रालयको परिपत्रमा भनिएको छ ।

    संक्रमित र मृतकको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले जानकारी दिए । त्यस्तै स्वास्थ्य तथा जनंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

    बुधबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले कोभिड-१९को संक्रमण बढेसँगै स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र स्वास्थ्यकर्मीबाट सर्वसाधारण संक्रमण हुनबाट जोगाउन सबै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराइ काममा खटाउन अस्पतालहरुलाई अनुरोध गरेको हो ।

    कोरोना संक्रमण बढेसँगै स्वास्थ्यकर्मीहरु पनि संक्रमित बनिरहेका छन् । मन्त्रालयले अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ राखी नियमित स्वास्थ्य सेवाहरु प्रवाहमा कठिनाई हुन नदिने उपायहरु गर्दै जानुपर्नेमा पनि जोड दिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण बुधबार मात्रै ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् ।

    किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पताल र कोशी कोभिड अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंको टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको बुधबार विहान पुष्टि भयो । ज्वरो र झाडावान्ता भएपछि पाटन अस्पताल पुगेकी उनलाई २६ गते किस्ट लगिएको थियो ।

    बारा, कलैयाका ७७ वर्षीय पुरुषको बुधबार विहान मृत्यु भयो । २६ गते त्रिवि शिक्षण अस्पतालबाट रिफर भएर किष्ट पुगेका उनको पनि मृत्युपछि संक्रमण पुष्टि भयो ।
    जनकपुरकी ३८ वर्षीय महिलाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी १८ गते अस्पताल भर्ना भएकी थिइन् ।

    जनकपुरका ७२ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टर चार्टर गरेर अस्पताल ल्याइएका उनको एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुँवाकोटका ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि २४ गतेनजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकी पुगेका उनी भोलिपल्ट जिल्ला अस्पताल गएका थिए । स्वास्थ्यमा अवस्था थप गम्भीर भएपछि उनलाई २७ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

    कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मंगलबार राति मृत्यु भएको छ । उनी २५ गते भर्ना भएका थिए । सप्तरीको डाक्नेश्वरी–८ घर भई राजविराज ६ मा बस्ने ७२ वर्षका संक्रमितको मंगलबार राति मृत्यु भएको छ । चार दिनदेखि ज्वरो आएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । त्यही दिन साँझ उनको आइसोलेसन सेन्टर लैजाने क्रममा को एम्बुलेन्समै मृत्यु भएको छ ।

    मोरङ, बुढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको छ । सोमबार राम जानकरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका–६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

    मंगलबार दिउँसो वीरगञ्ज–१६ नगवास्थित सडकमा मृत भेटिएका बाराको बिश्रामपुर–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।

    मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । तर स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा महोत्तरी, बारा विश्रामपुर र मोरङका मृतक समावेश गर्न बाँकी छ ।

    समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

    तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । ‘सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो’, थापाले भने ।

    थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ ।

    अर्का सङ्क्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे रहेको उनले बताए । यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ । समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ ।

    बिहिबार बिहानै पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    १० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् । पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र २ जना छिपहरमाई गाउँपालिकाका रहेको नयाराणी अस्पताल प्रशासनले जनाएको छ । बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए ।

    थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ । संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक छन् । अहिलेसम्म कोभिड-१९ को कारण पर्सामा मात्रै २२ जनाको मृत्यु भएको छ । २२ मध्ये ३ जना पर्साभन्दा बाहिरका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ