• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कोरोना संक्रमण ह्वात्तै बढेपछि काठमाडौँ उपत्यकामा आजबाट लागु भयो यस्तो नयाँ नियम

    1.2K
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा मात्रै प्रदान गर्दैछन् ।

    काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्म अत्यावश्यक सेवा मात्र दिइनेछ ।

    आजदेखि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द हुने प्रशासन कार्यालयहरूले जनाएका छन् ।

    यस्तै कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बस्दै छ । कोभिड–१९ सँग सम्बन्धित एरिया सिल, मापदण्ड पालना, क्षेत्रगत नियमन गर्न, भागेका संक्रमितको पहिचान र खोजीलगायत काममा स्थानीय प्रहरी र स्थानीय वडासँग समन्वय गरेर काम गर्ने गरी स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी निर्णय लिन बिहान १० बजेदेखि बैठक बस्न लागेको हो ।

    बैठकलगत्तै गैरसरकारी संस्था र उद्याेगी–व्यवसायी संघ संस्थाका प्रतिनिधिलाई पनि छलफलमा बोलाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

    आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक/एक जनाको मृत्यु भएको थियो ।

    उता प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।

    उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्छु,’ केसीले लेखेकी छन् ।

    भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

    उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् । कोरोना रिपोर्ट पोजिटिभ आएपछि केसीको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया