• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली-प्रचण्डबीचको ३ घण्टा लामो छलफल सकियो

    1.5K
    SHARES

    काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको ३ घण्टा  लामो छलफल सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए।

    छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए। आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले बतायो। ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो।

    उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए। प्रधानमन्त्री ओलीले ‘म आउन्न तर तपाईंहरू बस्ने भए बस्नुस् तर यसलाई स्थायी कमिटी बैठक नभन्नुस्’ भन्ने जवाफ फर्काएका थिए।

    प्रधानमन्त्री ओलीको उक्त जवाफपछि बालुवाटारमा भेला भएका प्रचण्ड र अर्का बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २९ जना स्थायी कमिटी सदस्य सहभागी भएर बैठक बसेको थियो। उक्त बैठकले एकलौटी रूपमा अध्यक्ष ओलीले बैठक रोक्नु विधानविपरीत र अनुचित भएको निर्णय गरेको थियो। उक्त बैठकले आगामी स्थायी कमिटी बैठकको मितिका लागि अध्यक्ष ओलीसँग सहमति गर्ने जिम्मा पनि प्रचण्डलाई दिएको थियो।

    बैठकले प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन। यो बीचमा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेलले एक पटक प्रचण्डसँग भेट गरेका थिए भने अर्को पटक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र पौडेल खुमलटार पुगेका थिए।

    नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उनको राजीनामा मागेको छ। जारी स्थायी कमिटी बैठक पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ। यसअघि शनिबार नेकपा अध्यक्ष प्रचण्डले अहिलेको विवाद पदका लागि नभई पद्दतिका लागि भएको बताएका थिए।

    यसअघि यस्तो थियो ओली–प्रचण्ड भेटवार्ताको शृंखला

    स्थायी कमिटी बैठकपछि संवानहीनताको अवस्था भए पनि असार १० मा स्थायी कमिटी बैठक सुरु भएदेखि ओली र प्रचण्डबीच पटक-पटक संवाद भएका थिए । मन्त्रिपरिषद् बैठकबाट संसद् अधिवेशन अन्त्यको सिफारिस गरेपछि स्थायी कमिटी बैठक स्थगित गरेर ओली–प्रचण्डबीच असार १८ मा छलफल भएको थियो ।

    त्यसपछि असार १९ मा अध्यक्षद्वयबीच करिब ४ घन्टा छलफल भएको थियो । असार २१ मा दुई अध्यक्षबीचको भेटमा भनाभन नै भयो । असार २२ र २३ मा ओली र प्रचण्डले आफ्नो अडान कायम राख्दै धारणा व्यक्त गरेका थिए ।

    त्यसपछि असार २६ मा फोन संवाद भएको थियो भने असार ३० मा दुई अध्यक्षबीच एक घन्टा छलफल भएको थियो । साउन १ मा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच दुई घन्टाभन्दा बढी छलफल भएको थियो ।

    यस्तै, साउन ३ दुई अध्यक्षबीच भेटवार्ता र सोही दिन सचिवालय बैठक बसेको थियो । बैठकमा ‘अर्ली’ महाधिवेशनको ओलीको प्रस्तावमा दाहालले सहमति जनाएका थिए । सोही दिन साँझ दुवै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । दुई अध्यक्षबीच साउन ४ गते साँझ पनि छलफल भएको थियो । यस्तै, ९ गते ओली र प्रचण्डबीच बालुवाटारमा एक घन्टा लामो भेटवार्ता भएको थियो ।

    त्यसपछि भने साउन १३ गते बालुवाटारमा बहुमत सदस्यको बैठक सुरु गर्नुअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न गएका थिए । त्यहीबेला छोटो भेटघाट भएको थियो ।

    यता पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको पनि गुनासो गरेका छन् ।

    कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । ‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो,’ उनले भने ।

    आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । ‘पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं,’ प्रचण्डको भनाइ थियो ।

    पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुदा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ थियो ।

    ‘पार्टी एकतालाई यो बहसले अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्नेछ । पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, परास्त गरिनुपर्छ । यो सबै एकताबाट हुने हो,’ उनले भने, ‘इतिहासका तितामिठा अनुभवहरूबाट शिक्षा लिएर जनता, कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ । एकता अक्षुण्ण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुनुहुँदैन । तिनको फर्छ्यौट ठीक ढंगले गरिनुपर्दछ भन्नेमा हामी सचेत छौं ।’

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममाप्रचण्डले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको बताएका थिए । नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहबीच विवाद चर्किएको छ । स्थायी कमिटी बैठक जारी रहेको अवस्थामा यो विवाद सतहमा आएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ