• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बालुवाटार पस्यो कोरोना, यी कर्मचारीमा संक्रमण पुष्टि

    1K
    SHARES

    काठमाडौँ । लकडाउन अन्त्य गरे संगै काठमाडौँ पछिल्ला केहि दिन यता उपत्यकामा पनि कोरोना संक्रमण बढेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० भन्दा बढीको स्वाब संकलन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ती पुरुष कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

    यस्तै महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।

    त्यसैगरी साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

    नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ । सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    यस्तै छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

    अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ ।

    ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ । यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ । मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ