• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सार्वजनिक निकायका प्रमुखहरुलाई बोलाएर गृहमन्त्री बादलले दिए यस्तो कडा निर्देशन

    361
    SHARES

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताको शतप्रतिशत परिणाम निकाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।  गृहमन्त्रालयअन्तर्गतका सार्वजनिक निकायका प्रमुखसँग शुक्रबार भएको कार्यसम्पादन सम्झौतापछि आयोजित समारोहमा गृहमन्त्री थापाले सम्झौताअनुसारको नतिजा निकाल्ने विषयमा कुनै पनि कसर बाँकी नराख्न सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

    ‘राष्ट्र र जनताप्रति निष्ठावान हुने छौँ’ भनेर सम्झौतापत्रमा हस्ताक्षर गरी दृढ प्रतिबद्धता जाहेर गरेकामा धन्यवाद दिँदै गृहमन्त्री थापाले राष्ट्रको विकास, समृद्धि र सुरक्षाको मुख्य जिम्मेवारी सार्वजनिक निकायको हो भने । विश्वमा समृद्धिको उचाइ छुने मुलुकको अध्ययन गर्दा पनि मुलुकको समृद्धिका लागि सार्वजनिक प्रशासनको मुख्य हात रहेको उनले बताए ।

    ‘सार्वजनिक प्रशासन राष्ट्र र जनताप्रति प्रतिबद्ध भए मात्रै मुलुकले प्रगति गर्नसक्छ, जनतालाई सुरक्षा दिन सक्छ र त्यही मुलुकमा मात्रै राष्ट्रिय अखण्डता स्वाधीनता र नागरिकको सुरक्षा प्रबल छ’, गृहमन्त्री थापाले भने, ‘समृद्धि हासिल गर्न पनि त्यसले ठूलो भूमिका खेल्छ ।’

    उनले सम्झौताप्रति हस्ताक्षर गर्नु भनेको राष्ट्रको विकास, समृद्धि, नागरिकको सुरक्षा तथा सेवा प्रवाहमा निष्ठावान र प्रतिबद्धताको शपथ ग्रहण हो भने । मन्त्री थापाले अझै पनि प्रशासनिक संयन्त्रलाई सक्षम र सबल बनाउन जरुरी रहेको औँल्याए । गृहमन्त्री थापाले कामलाई परिणाममुखी बनाउन प्रशासन कार्यालय तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

    गृहमन्त्री थापाको उपस्थितिमा गृहसचिव महेश्वर न्यौपानेसँग विभिन्न सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका महाशाखाका प्रमुख, कारागार तथा अध्यागमन विभागका प्रमुखले कार्य सम्पादन सम्झौता गरेका थिए ।

    यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको जानकारी दिएका हुन् ।

    डा गौतमले हिजो (बिहीबार) सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने निश्चित भएको चेतावनी दिएका छन् ।

    ‘काठमाडौंमा फाटफुट केसहरु भेटिन थालेका छन्,काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ,’ डा गौतमले भने, ‘यसबाट बच्नुपर्ने कुराहरु हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको अवस्था छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने कुरा जानकारी गराउन चाहन्छु ।’

    डा गौतमले खुल्ला सिमानाकाहरुमा आवतजावत नरोकिएको पनि बताए । उनले केहीदिन अघि भारतबाट कामदार लिएर ओखलढुंगा पुर्‍याइएका २१ जना कामदारमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

    उनले भारतबाट आएर कोरोना पुष्टि भएका उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको पनि बताए । डा डौतमले सामूहिक रुपमा बसोबास गर्नेहरुमा कोरोना संक्रमणको बढी जोखिम देखिएको बताए । ‘समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढिरहेको छ, यसको उदाहरण प्रहरीहरुमा पोजेटिभ केश देखिनु, स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हुनु,’ डा गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मान्छेहरुमा कोरोनाको दर बढ्दो छ ।’

    डा गौतमले जनस्वास्थ्यको मापदण्ड पूरा नगरेमा आगामी दिनमा कोरोना संक्रमितले अस्पतालमा वेड नपाउने समस्या समेत भोग्ने दिन आउन सक्ने चेतावनी दिए । डा गौतमका अनुसार कोरोनाबाट बच्न मास्क अनिवार्य गरिए पनि मास्क नलगाएका २ लाख जना कारबाहीमा परेको पनि जानकारी दिए । मास्क लगाउन पटक-पटक अनुरोध गरिएपछि २ लाख व्यक्ति मास्क नलगाएकाले कारबाहीमा पर्नु दुखद भएको उनले बताए ।

    डा गौतमले सबैले कोरोनाबाट बच्न सचेत हुन पनि आग्रह गरेका छन् । उनले भारतीय सिमा नाकाका ४ वटा राज्यहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा सचेत हुनुपर्ने बताए । उनले वीरगंजमा मात्र ८ चिकित्स ६ नर्सिङ र पारामेडिक्स सहित २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको पनि बताए । अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना संक्रमण देखिएको डा गौतमको भनाइ छ ।

    काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन । शुक्रबार देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म ५ हजार ३१६ सक्रिय संक्रमित रहेका छन् ।

    कहाँ कति थपिए ?

    डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा गरिएको परीक्षणमा झापाका एकजना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जना, मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, बाराका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २४ जना, कैलालीका १५ जना, काठमाडौंका ८ जना र नुवाकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ३ जना ललितपुरका २ जना र रौतहटका २ जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १६ जना, कंचनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना,प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, म्याग्दीका २ जना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना र रुपन्देहीका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका एकजना र दाङका एकजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रवक्ता डा गौतमका अनुसार दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकाएकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १० जना र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

    पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यसमा सचेत हुन मन्त्रालयले आग्रह गरेको छ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ