काठमाडौँ । बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी र दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विकसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला इन्चार्ज बीसी र विकलाई प्रहरीले पूर्वी चितवनको रातौलीबाट गिरफ्तार गरेको बताइएको छ । बीसी, विकसहित ८ जनालाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । बीसी र विकसँगै गिरफ्तार हुने अन्यको नामावली प्राप्त भएको छैन । सोमबार साँझ घरमा बसिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
सरकार फरक राजनीतिक आस्थाकै आधारमा नेकपाका नेता–कार्यकर्ताहरूलाई घरघरमा छापामारेर गिरफ्तारी, दमन र धरपकडमा उत्रिएको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।
यसअघि सोमाबर मात्रै नेपाल कम्युनिस्ट पार्टीकी नेत्री उमा भुजेल ‘शिलु’ लाई प्रहरीले अदालतको आदेशमा रिहा भएलगत्तै दसौँपटक गिरफ्तार गरेको छ । शिलुका साथै सुमनसिंह पौडेल र मीनप्रसाद तीनजनाको बहस–पैरवी साउन ११ गते सङ्खुवासभाको पुरानो सदरमुकाम चैनपुरमा सम्पन्न भएको थियो ।
उनीहरूलाई सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले सङ्गठित अपराध, आगजनी तथा विस्फोट, विस्फोटक पदार्थ सञ्चय तथा ओसारप्रसार र उस्तै प्रकृतिको विस्फोटक पदार्थ ओसारप्रसार, सञ्चय र प्रयोग मुद्दा लगाएको थियो ।
प्रहरीले उनीहरूलाई खरखजाना मुद्दा पनि लगाएको छ । राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका नेताहरूका पक्षबाट अधिवक्ताहरू भवानीप्रसाद आचार्य र चेतनाथ ढकालले पैरवी गरेका थिए । जिल्ला न्यायाधीश कान्तिराम आचार्यले थुनछेक आदेश गरेका हुन् ।
साउन १२ गते भएको थुनछेक आदेशअनुसार, उमा भुजेललाई ३ वटा मुद्दामा जम्मा १ लाख धरौटी र २ वटामा साधारण तारिखमा रिहा गर्ने फैसला भएको थियो । नेता पौडेललाई ३० हजार धरौटीमा रिहा गर्ने फैसला भएको छ भने मीनप्रसाद पोखरेल साधारण तारेखमा रिहा भएका छन् ।
उमा भुजेल ‘शिलु’ लाई दसौं पटक गिरफ्तार गरी सुनसरी लगिएको भुजेलको पारिवारिक स्रोतले बताएको छ । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा जिल्ला स्तरका सबै सरकारी कार्यालय चैनपुरबाट स्थानान्तरण गरिएको भए पनि जनदबाबका कारण जिल्ला अदालत भने चैनपुरमै रहेको छ । अभियुक्त बनाइएका नेताहरूलाई जिप्रका खाँदबारी नलगी आइतबार चैनपुरमै राखिएको थियो ।
प्रतिक्रिया