• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा फेरी बज्यो खतराको घन्टी

    14.8K
    SHARES

    मोरङ । विराटनगरमा ‘ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पुष्टिसंगै नेपालमा फेरी खतराको घन्टी बजेको अनुमान बिज्ञहरुले गरेका छन् । ‘ट्राभल हिस्ट्री’ नभएका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छ । कतै नगएका व्यक्तिहरुमा संक्रमण देखिएकाले समुदायमै कोरोना फैलिएको निष्कर्ष निकालिएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

    समुदायमा कोरोना फैलिएको भन्दै महानगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा सोमबारबाट बन्द गर्ने निर्णयसमेत भएको छ । यसका साथै महानगरमा लाग्दै आएको साप्ताहिक हाटबजार अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । यस्तै, मास्क नलगाउनलेहरुलाई पहिलो पटक १० रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताइन् ।

    ‘मास्क नलगाई पसल सञ्चालन गर्नेको १५ दिनसम्म पसल बन्द गर्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सार्वजनिक स्थलमा भीडभाड नियन्त्रणका लागि महानगरस्थित सरकारी कार्यालयहरुको सेवा बन्द गर्नका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको छ ।’

    कोरोना संक्रमण नियन्त्रणका लागि मास्क लगाउने, साबुनपानीले पटक पटक हात धुने, सेनिटाइज गर्ने, भीडभाडमा नजाने लगायतका जनचेतना अभिवृद्धि, समुदायस्तरमा स्वाब परीक्षणको काम भइरहेको जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।

    ‘महानगरमा स्वाब परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग माग गरेका छौं,’ उनले भने, ‘यसअघि दैनिक ५० जनाको स्वाब संकलन भइरहेको थियो भने अहिले १ सय ५० देखि २ सय जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरेका छौं ।’

    प्रदेश १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले समुदायमा कोरोना फैलिएको खण्डमा संक्रमितहरुको संख्या पनि ह्वात्तै बढ्ने बताए । ‘समुदायमा फैलिए पहिलो दिन ५ जनामा संक्रमण पुष्टि भए अर्को दिन २५ जनामा संक्रमण देखिन्छ,’ उनले भने, ‘महानगरमा समुदाय स्तरमा स्वाब संकलन भइरहेको र त्यसको नतिजा नआउञ्जेल समुदायमै फैलिसकेको भन्न सकिँदैन ।’ तर महानगरभित्र समुदायमा फैलिएको भन्न मिल्ने विभिन्न कारण मध्ये एउटा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा संक्रमण देखिनु रहेको मेहताको तर्क छ ।

    आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित)

    नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्।

    डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका एकजना, इलामका ८ जना र सिराहाका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २ जना, उदयपुरका एकजना, तेह्रथुमका १ जना र मोरङका २३ जना संक्रमित थपिएका छन् ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दाङका एकजना, काठमाडौंका २ जना,नुवाकोटका एकजना र सोलुखुम्बुका २ जना पनि संक्रमित भएका छन् ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र मकवानपुरका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना र अर्घाखाँचीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना बर्दियाका ६ जना र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका ३ जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ जना कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

    यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा हाल दैनिक १८ हजार १६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताएका हुन् ।

    हाल नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६ हजार ३ सय ६० मात्र रहेको डा गौतमको भनाइ छ । डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गर्ने क्षमता रहेको डा गौतमले बताए ।

    डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले छिट्टै दैनिक १८ हजार १६० जनाको पीसीआर परीक्षण गर्न सक्ने जानकारी पनि दिए । यसैबीच लकडाउन खुलेपछि प्रदेश १ का विभिन्न नाका हुँदै भारतबाट ६ सय ८५ जना नेपाल भित्रिएका छन् । भारतमा कोरोना महामारीले भयावह रुप लिइरहेका बेला नेपाल भित्रिने क्रम बढेको भन्दै स्थानीयहरु भने संक्रमणको जोखिम बढेको बताउँछन् ।

    प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दिपक पोखरेलका अनुसार यसबीचमा ४ सय ९९ जना भारततर्फ गएका छन् । भारतबाट नेपाल प्रवेशका लागि प्रदेश १ मा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, मोरङको रानी र रंगेली तथा सुनसरीको भण्टाबारी नाका खुला गरिएको छ । यसरी भित्रिनेहरुलाई इलाम, झापा, मोरङ र सुनसरीस्थित होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहलाई क्वारेन्टाइनमा राख्नका लागि जिम्मा लगाउने व्यवस्था गरेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

    होल्डिङ एरियाबाट जिम्मा लिएर गएपछि स्थानीय तहले उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । सीमामा प्रहरीले कडाइ गरेको भनिए पनि सुरक्षाकर्मीको आँखा छलेर आउने जाने क्रम चलिरहेको जहदा–७ का वडाध्यक्ष भगवान बेसराले बताए । यसकारण पनि सीमा क्षेत्रका बासिन्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको उनले दाबी गरे ।

    ‘आफ्नो वडामा भारतबाट कोही लुकिछिपी आएको सूचना पाउनासाथ क्वारेन्टाइनमा लगेर राख्ने गरेका छौं,’ उनले भने । लकडाउन अवधिमा प्रदेश १ का नाकाहरुबाट १९ हजार ४ सय ५८ जना भारतबाट नेपाल भित्रिएका थिए भने २८ हजार २ सय २२ जना भारततर्फ गएको प्रहरीको तथ्यांक छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ