• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यू आदेश जारी, आजैबाट सुरु

    11.5K
    SHARES

    वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि सरकारले वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

    निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

    महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो ।

    ‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरेका छौं।’

    वीरगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएर समुदायस्तरमा फैलिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको चर्चा सुरु भएलगत्तै स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको थियो ।

    निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।

    मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताए ।

    कोरोना संक्रमणको जोखिम कम भएको भन्दै सरकारले चार महिने लामो लकडाउन अन्त्य गरेपछि मानिसहरुको भिडभाड र आउजाउ बढेको छ । यसले संक्रमणको जोखिम बढाएको भन्दै आफैं सुरक्षित र सतर्क रहन विज्ञहरुले सुझाव दिएका छन् ।

    भारतबाट घर फर्किएर क्वारेन्टिनमा बस्नेहरु घटिसकेका थिए । यससँगै दैनिक भेटिने कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या घट्दो थियो भने निको हुनेहरुको संख्या बढ्दो थियो ।

    लहरो तान्दा गएको पहिरो

    ७२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य र पसलमा काम गर्नेसहित १९ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । उनका परिवारका ५ जना र कार्मचारी र व्यापारिक साझेदारसहित ७ जना पोजेटिभ देखिए ।

    मृतकका ६७ वर्षीया पत्नी, ४५ वर्षीय छोरा, ३६ वर्षीया बुहारी, १७ वर्षीय नाति र ११ वर्षीया नातिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । यस्तै उनका ग्यास पलसमा काम गर्ने ४९ वर्षीय पुरुष र कलेजका साझेदार ३७ बर्षका पुरुषमा संक्रमण देखियो ।

    दुई जनामा संक्रमण देखिएपछि उनीहरुको परिवारका सदस्यको स्वाब भयो । त्यसक्रममा राजविराज-८ का ३७ बर्षका पुरुषकी ३२ बर्षीया पत्नीमा संक्रमण पुष्टि भयो । उनी गजेन्द्रनारायण सिंह अस्पतालकी नर्स हुन् ।

    अस्पतालका नर्समा समेत संक्रमण भेटाएपछि सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी स्वाब संकलन गरिएको छ । कर्मचारीमा संक्रमण देखिएन, तर इमर्जेन्सीका एक जनामा संक्रमण भेटियो ।

    यस्तै मृतकको पसलमा काम गर्ने ४९ वर्षीय पुरुषकी कट्याक ट्रेसिङका क्रममा उनकी ४० वर्षीया पत्नी, १५ वर्षीया छोरी, १७ वर्षीया भतिजी र १५ वर्षीय भतिजामा पनि संक्रमण देखिएको छ । त्यसपछि कट्याक ट्रेसिङको दायरा बढाएर आसपासका छिमेकी लगायतको स्वाब संकलन गरियो । मृतकका छिमेकी ५७ वर्षीय पुरुष र उनकी ४७ वर्षीया पत्नी पनि संक्रमित भएको पुष्टि भयो ।

    कन्ट्याक्ट ट्रेसिङ्कै क्रममा भारतबाट आएलगत्तै वृद्धलाई भेट्न राजविराज ३ का एकजना गएको खुल्न आयो । ६३ वर्षीय पुरुषमा मात्र होइन, २३ वर्षीय छोरा र ३२ वर्षीय भतिजा पनि पोजेटिभ पाइए ।

    कन्ट्याक्ट ट्रेसिङ्गमा परे मृतकलाई उपचार गराउन धरानसम्म लिएर गएका गाडी चालक । ४० वर्षीय चालकको पनि रिपोर्ट पोजेटिभ आयो । मृतकको घरमा गएर भाँडावर्तन सफा गर्ने ५५ वर्षीया महिला पनि पोजेटिभ देखिएका छन् ।

    मृतककै घर अगाडि रहेको चिया नास्ता पसलका सञ्चालक पनि सम्भावित संक्रमितको सूचीमा परे । परीक्षण गर्दा उनीसँगै परिवारका चार सदस्यमा संक्रमण पुष्टि भएको छ । वृद्धको सम्पर्कमा आएका राजविराज ७ का ७० वर्षीय वृद्ध र वडा नम्बर ६ का ४० र ४३ वर्षीय पुरुष पनि पोजेटिभ देखिएका छन् ।

    ‘अहिलेसम्म सम्पर्कमा आएका २९ जनामा कोरोना संक्रमण देखिएको छ’ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले भने, ‘यो समुदायमा कोरोना फैलिसकेको लक्षण हो ।’

    गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा २९ जनामा भेटिएको संक्रमणको स्रोत ७२ वर्षीय वृद्धको परिवार भएको बताउँछन् । उनले भने, ‘उहाँहरु भारतबाट आउनुभएको थियो । परिवारको कुनै सदस्यमा संक्रमण थियो र, त्यहीबाट अरुमा सर्‍यो । र, समुदायमा पुगेको देखिन्छ ।’

    यसरी एउटै व्यक्तिबाट धेरै व्यक्तिमा कोरोना संक्रमण फैलिनु डरलाग्दो भएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘अब पूर्ण लकडाउन गरेर समुदाय स्तरमा व्यापक परीक्षण गर्नु बाहेक अर्को विकल्प छैन ।’

    भारतबाट आएकाहरु कसरी सिधै घर पुगे ?

    २ साउनमा मृत्यु भएका वृद्ध पत्नीको उपचारका लागि लकडाउनभन्दा अगाडि नै छोरा, बुहारी, नाति, नातिनासहित भारत गएका थिए । पत्नीको उपचार त भयो, तर लकडाउन भएका कारण उनीहरु भारतमै अडि्कए । भारतमा लकडाउन खुल्यो भने नेपालमा केही सहज भयो ।

    राजविराजमा व्यवसाय पनि चलाउनु थियो । त्यसैले यो परिवार २० असारमा नेपाल फर्कियो । तर, क्वारेन्टिनमा बसेन । जबकी भारतबाट आउने हरेकलाई सीमाबाट सीधै क्वारेन्टिनस्थलमा लगेर राखिन्छ ।

    राजविराजका मेयर शम्भु यादवका अनुसार भारतबाट आउने हरेक व्यक्तिलाई सुरक्षाकर्मीले उनको घर नजिक भएको क्वारेन्टिनसम्म ल्याएर जनप्रतिनिधिहरुलाई जानकारी गराउँछ । त यो परिवारको बिषयमा सुरक्षाकर्मीले कुनै जानकारी गराएनन्’ उनले भने ।

    जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल भने स्थानीय जनप्रतिनिधिले यो परिवारलाई घरमा लगेर राखिदिएको बताउँछन् । वडाध्यक्ष प्रेम यादवले घरमा ल्याएर राखिदिएको भन्दै उनले भने, ‘हामीलाई जानकारी गराएको भए यस्तो अवस्था आउँदैनथ्यो ।’

    उनीहरुका अनुसार होम क्वारेन्टिनमा नराख्नु राखेपछि त्यसको नियम पालना गरे नगरेको अनुगमन गर्नुपर्ने थियो । तर, त्यसमा कसैले चासो नदिएको र भारतबाट फर्किएर आएकाहरु पसलमा बस्ने, भेटघाट गर्ने जस्ता गतिविधि गरेको छिमेकीहरु बताउँछन् ।

    कोरोना संक्रमणबाट देशभर २६ जिल्लामा मृत्यु देखिएको छ । सबैभन्दा बढी काठमाडौं र कैलालीमा ४/४ जनाको मृत्यु भएको छ । शुक्रबारसम्म भएका कुल ४५ मृत्युका घटनामा ३६ पुरुष (३४ वयस्क र २ बालक) र ९ महिला (८ वयस्क १ बालिका) छन् ।

    एक जना चिनियाँ महिलाको समेत मृत्यु भएको छ । प्रदेशगत हिसाबले वाग्मती र प्रदेश ५ मा सबैभन्दा बढी १०/१० जनाले ज्यान गुमाएका छन् । हालसम्म प्रदेश १ मा संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

    ‘लकडाउनपछि मृत्युको संख्या बढ्दो देखिएको छ,’ कोरोना महामारीसम्बन्धी अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘आईसीयूमा गएका अधिकांशको मृत्यु भएको छ ।’ हाल ७ जना बिरामी आईसीयू/भेन्टिलेटरमा छन् । ‘हाम्रो जस्तो मुलुकले कोरोनाको उपचारलाई धान्न सक्दैन,’ उनले भने, ‘त्यसैले बचाउमै जोड दिनुपर्छ ।’

    वाग्मती प्रदेशमा ९०७ संक्रमितमध्ये १० जनाको मृत्यु हुँदा मृत्युदर १.१० प्रतिशत देखिएको छ । मुलुकभरकै मृत्युदर भने ०.२४ प्रतिशत छ । वाग्मतीमा जति नै मृत्यु भएको प्रदेश ५ मा मृत्युदर ०.२४ प्रतिशत छ, त्यहाँ ४ हजार २३४ संक्रमित छन् । सबैभन्दा कम मृत्युदर सुदूरपश्चिम प्रदेशमा छ ।

    ४ हजार १८५ संक्रमितमध्ये ६ जनाको मृत्यु हुँदा मृत्युदर ०.१४ प्रतिशत रहेको छ । कोरोनाबाट ५० वर्षमुनिका कुल संक्रमित १७ हजार ३८८ मध्ये २६ जनाले ज्यान गुमाएका छन् । ५० वर्षमाथिका ९८६ संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० गरी २१ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमध्ये २५ प्रतिशत व्यक्ति विदेशबाट आएका हुन् । भारतबाट आएका ९, कतारबाट १ र चीनका १ गरी ११ जना बाहिरबाट आएकाको मृत्यु भएको हो । २ जनाको मृत्यु होम क्वारेन्टाइनमा भएको छ । ‘२७ जनाको मृत्युपछि मात्रै कोरोना पोजिटिभ पुष्टि भएको छ,’ डा. बीसीले भने, ‘आधा (२२ जना) को त सरकारले सञ्चालन गरेको क्वारेन्टाइन, आइसोलेसन सेन्टर र अस्पतालमा नै मृत्यु भएको देखिन्छ ।’ यी २२ मध्ये १६ जनाको उपचारका क्रममा र ६ जनाको उपचार नै नपाएर मृत्यु भएको डा. बीसी बताउँछन् । कुल मृत्युमध्ये २६ जना (५९.१ प्रतिशत) मा कोरोना संक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो ।

    संक्रमण समुदायमा फैलिएपछि कोरोनाको ट्रेन्ड बदलिने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले बताए । ‘आगामी दिनमा मृत्युदर बढ्न सक्छ,’ उनले भने । सरकारले प्रति १० लाख कोरोना पोजिटिभमा १.४ मृत्युको आकलन गरेको छ ।

    मुलुकको पूर्वी सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीलार्ई कोरोना पुष्टि भएको छ । मंगलबार दुई जवानमा कोरोना देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार सबै सीमा सुरक्षा बल काँकडभिट्टामा कार्यरत हुन् । उनीहरु विगत ४ महिनादेखि सीमामा तैनाथ थिए ।

    फोकल पर्सन चम्लागाईंले संक्रमित सबैलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पताल लागिएको जानकारी दिए । झापामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ । २९८ उपचारपछि घर फर्किएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ