• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक बिदेशी नागरिकको मृत्यु, कुन देशका हुन् उनी ?

    4.1K
    SHARES

    काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक बिदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

    हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएसँगै धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो ।

    त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतको भनाइ छ । अस्पतालका अनुसार ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो।

    ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव अस्पतालमै राखिएको र दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ। मृतक महिलाबारे थप विवरण लिने काम भइरहेको छ। नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।

    यस्तै सरकारले लकडाउन समाप्तीको घोषणा गरेको २४ घण्टा नबित्दै विदेसीसहित थप १ जना कोरोना सक्रमितको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो। यस संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४१ पुगेको छ ।

    उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

    उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो । योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

    उता बारा र पर्सामा थप ९ जनामा कोरोना भाइरस -कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मारुती फर्मास्युटिकल्समा दुईजना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्टमा रहेका अन्यको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये सिम्रौनगढ-८ कचोर्वा घर भई वीरगञ्ज-७ रामटोल बस्दै आएका २९ वर्षीय, पटेर्वासुगौली गाउँपालिका- ५ निचुटा घर भइ वीरगञ्ज-११ रानीघाट बस्दै आएका ५५ वर्षीय र परवानीपुर गाउँपालिका-५ बाराका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    यससँगै मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि मारुतीमा कार्यरत ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ५६ वर्षीय, नारायणी अस्पतालमा कार्यरत ३५ वर्षीय सरसफाइकर्मी, एडभान्स अस्पतालमा भर्ना भएका वीरगञ्ज-५ जेलरोडका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ ।

    त्यस्तै, आफ्नै खर्चमा पीसीआर जाँच गराएका वीरगञ्ज-२१ लिपनीविर्ता परवानीपुर बस्ने ३५ वर्षीय पुरुष, सखुवाप्रसौनी गाउँपालिका-३ कौवावन कटैया घर भई वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका ३१ वर्षीय पुरुष र बाराको प्रसौनी गाउँपालिका-४ खुटुवाजब्दी घर भएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    उनीहरुलाई नारायाणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालमा ल्याउने क्रम जारी रहेको छ । यसअघि गण्डक कोभिड अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

    सरकारले बुधाबरबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर कोरोना संक्रमणको जोखिम भने उतिक्कै बढेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।

    मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए । मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा कोरोना संक्रमण बढी देखिएर घट्दै गए पनि भारतमा संक्रमित भेटिने क्रम बढिरहेको छ । खुला सीमा भएकाले नेपाल जोखिममै रहने देखिएको छ । त्यसैले सरकारले नेपाल प्रवेश गर्ने सबै बिन्दुमा यात्रुको आवागमनलाई साउन ३२ गतेसम्मै रोक लगाउने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार असहज परिस्थितिमा पनि स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई भित्र्याउन सहजीकरण गर्ने र मालसामानको ढुवानी व्यवस्था यथावत् रहने छ ।

    यातायातमा जोरबिजोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । चैत ७ गतेदेखि आन्तरिक र चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।

    भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ । अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ । त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ ।

    कोभिड–१९ को जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो । सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

    मन्त्रिपरिषद्ले व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गर्दै अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने निर्णय गरेको छ । त्यस्ता सामग्री जफत गरी रोगको रोकथाम र उपचारमा उपयोग गर्ने सरकारले जनाएको छ ।

    ‘सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयका सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लेखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिनेछ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया