• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

    11K
    SHARES

    काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि अन्त्य गरेको छ । सरकारले लकडाउन समाप्तीको घोषणा गरेको २४ घण्टा नबित्दै थप १ जना कोरोना सक्रमितको मृत्यु भएको छ ।

    महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो। यस संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ४१ पुगेको छ ।

    उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

    उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो । योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

    नेपालमा कोरोना भाइरसको संक्रमणका कारण कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

    त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

    यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

    त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

    त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

    त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ । त्यस्तै ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको छ ।

    सरकारले बुधाबरबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर कोरोना संक्रमणको जोखिम भने उतिक्कै बढेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।

    मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए । मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

    नेपालमा कोरोना संक्रमण बढी देखिएर घट्दै गए पनि भारतमा संक्रमित भेटिने क्रम बढिरहेको छ । खुला सीमा भएकाले नेपाल जोखिममै रहने देखिएको छ । त्यसैले सरकारले नेपाल प्रवेश गर्ने सबै बिन्दुमा यात्रुको आवागमनलाई साउन ३२ गतेसम्मै रोक लगाउने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार असहज परिस्थितिमा पनि स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई भित्र्याउन सहजीकरण गर्ने र मालसामानको ढुवानी व्यवस्था यथावत् रहने छ ।

    यातायातमा जोरबिजोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । चैत ७ गतेदेखि आन्तरिक र चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।

    भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ । अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ । त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ ।

    कोभिड–१९ को जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ । शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो ।

    सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

    मन्त्रिपरिषद्ले व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गर्दै अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने निर्णय गरेको छ । त्यस्ता सामग्री जफत गरी रोगको रोकथाम र उपचारमा उपयोग गर्ने सरकारले जनाएको छ ।

    ‘सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयका सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लेखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिनेछ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ