• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज राति १२ बजेबाट लागु हुने गरि ओली सरकारले गर्यो यस्तो निर्णय

    18.5K
    SHARES

    काठमाडौँ । ओली सरकारले आज राति १२ बजेबाट लागु हुने गरि फेरी अर्को ठुलो निर्णय गरेको छ । सरकारले मंगलबार आज मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

    ‘आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,’ खतिवडाले भने, ‘कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं।’

    सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको छ । मन्त्रिपषिद्को बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो ।

    त्यस्तै साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमति छ ।

    यस्तै भदौ १ गते देखि विद्यालयहरुले विद्यार्थी भर्ना लिन पाउने भएका छन्। अब स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउने भएका छन्। भर्ना प्रक्रिया तथा परीक्षा सञ्चालनका क्रममा सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ।

    तर अध्ययन अध्यापन गर्नेगरी शैक्षिक संस्था, कलेज, ट्युसन क्लास भने सञ्चालन गर्न नपाइने उनले बताए। शैक्षिक संस्थाहरु सञ्चालन गर्नेबारे पछि निर्णय हुने उनले बताए। यस्तै सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री खतिवडाले जानकारी दिए ।

    हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

    तर सरकारले छिमेकोलगायत अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ । नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

    छिमेको राष्ट्र लगायतका अरु राष्ट्रले चालेका सो रोगको संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए । पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

    तर, जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको असहज परिस्थितिमा स्वदेश आउनै पर्ने नागरिकहरूलाई भने तोकिएबमोजिम स्थलमार्गबाट प्रवेश दिइने प्रवक्ता खतिवडाले बताए । उनले जबर्जस्ती प्रवेश गरेमा वा प्रवेश गराएर लुकाउने काम गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिए । उनका अनुसार मालसामान ढुवानीको व्यवस्थालाई भने यथावत राखिएको छ ।

    विज्ञ भन्छन्- लकडाउन सकियो, जोखिम बढ्यो

    सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै सम्बन्धित विज्ञहरूले यसबाट कोरोना संक्रमणको जोखिम थप बढेको बताएका छन्। कोरोना जोखिम कायम रहेकाले अब आफैं सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

    ‘लकडाउन सकिए पनि कोरोना सकिएको छैन। आगामी दिनमा थप सजग हुनुपर्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मन्त्रिपरिषदको निर्णयपछि भने, ‘लकडाउन सकियो भन्दैमा कोरोना नै सकिएजस्तो व्यवहार नदेखाऔं। शारीरिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्कको अनिवार्य प्रयोग गर्न हेलचेक्र्याइँ नगरौं।’

    सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

    विज्ञहरूले भने काठमाडौंजस्तो ठूलो जनघनत्व भएका ठाउँमा यसले थप जोखिम बढेको बताएका छन्। यहाँ संक्रमण कायम रहेकाले लकडाउन अन्त्य भएको अवस्थामा थप सतर्क हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

    ‘अधिकांश संक्रमितलाई लक्षण देखिएको छैन। कोबाट कसलाई संक्रमण सर्छ भन्ने टुंगो छैन। अब हरेक व्यक्तिलाई संक्रमित हो कि भन्ने सोचेर आफैं सावधानीका उपाय अपनाउनुपर्छ,’ डा. पुनले भने।

    उनले लकडाउन अन्त्य गर्ने सरकारको निर्णय भने स्वाभाविक नै रहेको तर्क गरे। ‘तथ्यांकले संक्रमण कम हुँदै गएको देखाएको छ। लकडाउन गरेको धेरै भइसकेको थियो। यो दीर्घकालीन उपाय पनि होइन,’ उनले भने, ‘कुनै न कुनै दिन त हामीले आफैं सतर्क भएर सावधानीका उपाय अपनाउनैपर्ने थियो।’

    लकडाउन खुलेको नाममा व्यक्तिगत सावधानीमा सम्झौता गरियो भने आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना उनले औंल्याए। यस्तो अवस्थामा बढी जोखिममा रहेका वृद्धवृद्धा र दीर्घरोगका बिरामीलाई सुरक्षित रहन उनले सुझाए।

    ‘परिवारमा वृद्धवृद्धा छन् भने उहाँहरूलाई सुरक्षित राख्नुपर्छ। यसमा युवा उमेरका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुन्छ। कामको सिलसिलामा धेरै बाहिर घुलमिल हुने र रोग सार्नसक्ने कामकाजी युवा समूहले नै हो। उहाँहरूले आफ्नो परिवारमा रहेका त्यस्ता जोखिमपूर्ण सदस्यहरूको ख्याल राख्नुपर्छ,’ डा. पुनले भने।

    लकडाउन अन्त्यपछि जोखिम बढे पनि संक्रमण ठ्याक्कै कुन अवस्थामा पुग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने उनले बताए। सरकारलाई कोरोना रोकथाममा सुझाव दिइरहेका नेपाल मेडिकल काउन्सिलका अध्यका डा. भगवान कोइरालाले पनि लकडाउन अन्त्यको निर्णय ठिक रहेको भन्दै अब सतर्कता र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने बताएका छन्।

    ‘समुदायमा संक्रमण फैलिनसकेकाले लकडाउन अन्त्य गर्नु ठिकै हो, तर अब थप सतर्कता अपनाउनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘लापरबाही गरियो भने फेरि ह्वात्तै फैलिन्छ।’ सरकारले अब दुई-दुई साताको अवस्था विश्लेषण गरेर थप निर्णय लिँदै जानुपर्ने उनको सुझाव छ। ‘संक्रमण दर बढ्यो भने जुनसुकै अवस्थामा थप कडाइ गर्ने गरी निर्णय गर्न सरकार तयार रहनुपर्छ,’ उनले भने।

    पछिल्लो समय संक्रमण घटे पनि समुदायमा फैलिएको छैन भनेर ढुक्क नबस्न उनले भनेका छन्। लकडाउन खुलेपछि होटल, रेस्टुरेन्ट, जिमजस्ता बढी आवतजावत हुने स्थानमा थप सतर्कता अपाउनुपर्ने उनले बताए।

    त्यस्तै मापदण्ड पालना नगर्नेहरूलाई कानुनको दायरामा ल्याउन पनि विज्ञहरूले जोड दिएका छन्। लापरबाही र मापदण्ड पालना नगर्दा नै संक्रमण फैलिने भन्दै सरकारले यी कुराको कडा निगरानी गर्नुपर्ने उनीहरूले बताएका छन्। जनस्वास्थ्यविद् डा. राजेन्द्र बिसीले अबको संक्रमणको जोखिम भनेको वृद्धावृद्धा र दीर्घरोगीहरूलाई जोगाउनु रहेको बताए।

    ‘संक्रमणको दर त बढ्छ नै, तर बढी जोखिम बुढापाका र दीर्घरोगीहरूलाई छ,’ उनले भने, ‘अधिकांश संक्रमितलाई लक्षण देखिँदैन अनि लक्षण नदेखिएपछि मानिसहरू कसरी परीक्षण गर्न जान्छन्? परीक्षण नभएपछि उनीहरू आफ्ना परिवारमा रहेका बुढापाका र दीर्घ रोगीको सम्पर्कमा पुगे भने सबभन्दा जोखिम त्यहाँ रहन्छ।’

    उनले अगाडि भने, ‘अब जे गर्नुपर्छ मैले नै गर्नुपर्छ भन्ने सोच सबैले लिनुपर्यो। मेरो परिवारलाई म आफैं बचाउँछु भनेर सोच्नुपर्यो। यसरी सोचियो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ।’ स्वास्थ्य मन्त्रालयको विज्ञ टोली भने सरकारको निर्णयबाट असन्तुष्ट छ।

    ‘हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन,’ विज्ञ टोलीका एक सदस्यले भने, ‘कम्तीमा दुई-दुई साताको अवस्था विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’

    उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटि लकडाउन अन्त्य गर्न दबाब भयो,’ उनले भने।

    सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।

    ‘हामीले त अहिले एकैचोटि सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। माेटरसाइकलमा पनि केही समय जोर-बिजोर प्रणाली यथावत् राखौं भनेको हो,’ उनले भने, ‘तर यहाँ सबैको आ-आफ्नै स्वार्थले यो कायम रहन सकेन। हामीले कम्तिमा साउन २० गतेसम्म अहिलेको स्थिति यथावत् राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’

    सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भए पनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।

    लकडाउन एकैपटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ‘काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन। कति मानिस लुकिछिपी प्रवेश गरेका छन्,’ विज्ञ समूहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’

    सञ्चारगृहलाई राहत दिन संसदीय समितिको निर्देशन

    प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सञ्चारगृहलाई राहत र सहुलियत दिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार पत्रकार महासंघ र मिडिया सञ्चालकहरुसँग छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देश गरेको हो ।

    ‘विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले आमसञ्चार क्षेत्रमा पारेको नकारात्मक असरको विस्तृत अध्ययन गरी त्यसको प्रभावका बीचमा प्रकाशन प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा पुर्याएको योगदानको आधारमा सञ्चारगृहलाई सहुलियत, राहत र सुरक्षाको प्रवन्ध मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ’ बैठकपछि समितिले जारी गरेको निर्देशनमा उल्लेख छ ।

    समितिले सञ्चारमाध्यममा कार्यरत पत्रकार र कर्मचारीहरुलाई रोजगारीबाट हटाइएको पाइए कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

    ‘कोभिड–१९ ले सिर्जना गरेको सुरक्षाको असहज जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेशागत दायित्व निर्वाह गरीररहेका श्रमजीवि पत्रकार र सञ्चारमाध्यममा कार्यरत कर्मचारीहरुलाई जबरजस्ती रोजगारीबाट हटाउने, बेतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता श्रमजीवि पत्रकार ऐन २०५१ विपरीतका कार्यहरु हुन नदिन र भएको पाइएमा कानुन बमोजम कारबाहीको प्रक्रिया अगाडि बढाउन समिति सूचना प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ बैठकपछि जारी निर्देशनमा भनिएको छ ।

    विकास तथा प्रविधि समितिले विपदमा तीनवटै तहका बीच समन्वयमा काम गर्न पनि सरकारलाई निर्देशन दिएको छ । हालैका दिनमा भइरहेको वर्षाका कारण मुलुकका अधिकांश ठाउँहरुमा बाढी पहिरो र डुबानमा परी भौत्तिक संरचनाहरु क्षेति हुनुका साथै मानवीय जीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै समितिले राहत तथा उद्धार तथा पुनर्स्थापनाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो। समितिले जोखिममा परेका नागरिकहरुलाई हरसम्भव सहयोग गर्न सुरक्षा निकाय, नागरिक समाज एवं आम नागरिकलाई अपिल गरेको छ ।

    सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेका बेला यस्तो छ नेपालमा कोरोनाको अवस्था
    नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    २७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ