• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    स्विस बैंकमा पैसा राखेकाे खबर बाहिरिएपछि प्रधानमन्त्रीको सचिवालयले मुख खोल्यो, यस्ताे रहेछ यथार्थ

    3.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै प्रधानमन्त्रीबारे आएका समाचार भ्रामक, गलत र चरित्रहत्या गर्ने खालको भएको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सूर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरुले प्रधानमन्त्रीको बारेमा गैरजिम्मेवारपूर्ण तथा बदनियतपूर्ण सामग्री सम्प्रेषण गरेको बताएका छन् ।

    स्विस बैंकको खातामा प्रधानमन्त्री ओलीको नाममा ५.५ मिलियन अमेरिकी डलर रहेको व्यहोरासहित प्रकाशित रिपोर्टहरु शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि थापाले स्पष्ट पारेका छन् । थापाले विज्ञप्तिमा भनेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।’

    राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला बदनाम गराउन अनेक तत्वहरु सक्रिय रहेको पनि थापाले बताएका छन् ।

    थापाले प्रेस वक्तव्य जारीगर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’

    सल्लाहकार थापाले केही सञ्‍चार माध्यमले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्य गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकायसँग माग गरेका छन् ।

    ग्लोबल वाच एनालिसिसको हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमले तथ्यहीन समाचार प्रकाशित गरेपछि नेपालका केही अनलाइन मिडियाले पनि त्यसैलाई आधार बनाएर गलत समाचार प्रकाशित गरेका थिए ।

    यस्ताे छ विज्ञप्ति:

    “ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

    राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

    आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।”

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ