• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानमन्त्रीलाई यस्ताे अवस्थामा देखेपछि एकाएक खुमलटार फिर्ता भए प्रचण्ड, के हाे कारण ?

    896
    SHARES

    काठमाडौं । भगवान रामचन्द्रको जन्मभूमि नेपाल नै हो भनेर सोमबार भानुजयन्तीका दिन दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निकै थकित एवं गलेको अवस्थामा देखिए । प्रधानमन्त्रीको थकानकै कारण नेकपाका दूई अध्यक्षवीच हुने भनिएको आन्तरिक छलफल विषयमा प्रवेश गर्न नसकी बुधबारका लागि सर्‍यो ।

    प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण भारतमा सोमबारदेखि नै निकै ठूलो तरंग आइसकेको थियो । नेपालले नक्सा जारी गर्दासमेत विज्ञप्ति जारी नगरेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विज्ञप्ति नै जारी गरेर ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको थियो ।

    स्वदेशमा पनि नेकपा उपाध्यक्ष वामदेव गौतमदेखि लिएर विभिन्न नेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरे । जनस्तरमा पनि प्रधानमन्त्रीको आलोचनाका स्वरहरु सुनिए । देश-विदेशमा भएको चर्को विरोधसँगै प्रधानमन्त्री ओली आफ्नै बोलीका कारण घेराबन्दीमा परे ।

    प्रधानमन्त्री ओली आफ्नै कारणले चौतर्फी दबाव र घेराबन्दीमा परेकै बेला कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो पार्टीको आन्तरिक विषयमा छलफल गर्न भन्दै बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई थकित अवस्थामा देखेपछि प्रचण्ड पार्टीको आन्तरिक विषयमा कुरा नगरी खुमलटार फर्किए । ‘तपाई थाक्नुभएको रहेछ, आज आराम गर्नुहोस्, भोलि कुरा गरौंला’ भन्दै प्रचण्ड बालुवाटारबाट निस्किएको स्रोतले बतायो ।

    तर बुधबार भने छलफलमा हुने बताइएकाे छ । छलफलको समय तय भइनसके पनि बिहान ११ बजेअघि नै अध्यक्षद्वयबीच वार्ताको सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ ।

    पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

    यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् । जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

    तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

    मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् । त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

    परराष्ट्र मन्त्रालयबाट प्रधानमन्त्रीको खण्डन ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यसको खण्डन गर्ने प्रयास परराष्ट्र मन्त्रालयमार्फत गरिएको छ । मंगलबार निकालिएको परराष्ट्रको विज्ञप्तिले रामायण सर्किट र त्यसैको कम्पोनेन्टका रुपमा अयोध्या-जनकपुर बस सेवासम्बन्धी सम्झौतालाई स्मरण गरेको छ, जुन सम्झौतामा सन् २०१८ मा नेपाल र भारतका प्रधानमन्त्री ओली र मोदीले गरेका थिए ।

    प्रधानमन्त्री ओलीले भगवान रामको जन्म पर्साको ठोरीमा भएको दाबी गरेकै भोलिपल्ट परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर विवाश पञ्चमी, रामायण सर्किट र अयोध्या-जनकपुर बससेवाको स्मरण गर्नु भनेको प्रधानमन्त्रीको दाबीको सांकेतिकरुपमा खण्डन गरिएको अर्थमा सहजै बुझ्न सकिन्छ ।

    प्रधानमन्त्री ओलीले सोमबार व्यक्त गरेको धारणाबारे कुनै पनि थप ब्याख्या गरेका छैनन् । तर, उनको सबैभन्दा निकटमा रहेका नेताहरुसमेत ‘प्रधानमन्त्रीज्यूले यस्तो नबोल्नुभएको भए राम्रो हुन्थ्यो’ भन्छन् ।

    उता पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने प्रधानमन्त्रीको अभिव्यक्तिको खुलेरै आलोचना गरेका छन् । यस्तो तथ्यहीन अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने नेता गौतमको भनाइ छ ।

    उपाध्यक्ष गौतमले भनेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’

    भगवान रामको जन्मभूमिबारे विवाद निकालेर प्रधानमन्त्री ओलीले मूल राजनीतिक समस्याहरुलाई विषयान्तर गर्न खोजेको नेकपाका अर्का नेता भीम रावलको टिप्पणी छ । नेपाली कांग्रेसका नेताहरु डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा लगायतले पनि प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलल पुर्‍याउन सक्ने भन्दै आलोचना गरेका छन् ।

    पूर्वपरराष्ट्रमन्त्रीहरु कमल थापा, रमेशनाथ पाण्डे लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले चर्को आलोचनाको सामना गर्नुपरेको छ ।

    प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिका कारण आगामी साउन २ गते बस्ने भनिएको पार्टीको स्थायी कमिटीको बैठक फेरि विषयान्तर हुन सक्ने सो पार्टीका नेताहरुले चिन्ता प्रकट गरेको छन् । यसखघि पनि मदन भण्डारी जयन्तीका दिन प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको टिप्पणी गरेपछि पार्टीको बैठक भड्किएको थियो ।

    प्रधानमन्त्री ओलीले अयोध्याका विषयमा गरेको टिप्पणीका कारण भारतीय सन्त एवं त्यहाँका हिन्दूवादीहरु उत्तेजित हुने संकेतहरु देखिएका छन् । भारतीय मिडियामा आएका कतिपय सन्तको अभिव्यक्ति हेर्दा उनीहरुले सडक आन्दोलन गर्नेसम्मको चेतावनी दिएको पाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ