• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    चौतर्फी आलोचला भएपछि अयोध्याबारे सरकारले निकाल्यो फेरी बिज्ञप्ति

    9.6K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान राम’ को जन्मभूमिबारे दिएको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ।

    मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको फरक व्याख्या भएको भन्दै त्यसमा स्पष्ट पारेको हो । उक्त अभिव्यक्ति कसैको भावनामा चोट पुर्‍याउने मनसायबाट नआएको समेत परराष्ट्रले जनाएको छ।

    राम र उनीसँग जोडिएका धार्मिकस्थलबारे धेरै मिथ र सन्दर्भ सामग्री रहेको भन्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीले ‘रामायणले समेट्ने विशाल सांस्कृतिक क्षेत्र, राम, रामायण र यो समृद्ध सभ्यताबारे थप अध्ययन र अनुसन्धानमा जोड दिएको’ दाबी गरेको छ।

    ‘प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको महत्व र यसको सांस्कृतिक मूल्यको अवमूल्यन गर्नका लागि थिएन’, विज्ञप्तिमा भनिएको छ। हरेक वर्ष विवाह पञ्चमीको अवसरमा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म जन्ती आउने प्रचलन रहेको समेत जनाइएको छ

    दुवै देशका प्रधानमन्त्रीले सन् २०१८ को मे महीनामा रामायण सर्किटको उद्घाटन गर्दै जनकपुर-अयोध्या यात्रुवाहक बस सेवा सञ्चालन गरेको सन्दर्भ जोड्दै परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘यस्ता तथ्यले दुई देशका संस्कृति र जनताबीचको सौहार्दपूर्ण सम्बन्धबारे प्रकाश पार्छन्।’

    नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्धलाई नेपालले महत्त्वका साथ लिएको पनि जनाइएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिको सत्तारुढ नेकपाका नेताहरूले नै आलोचना गरिरहेका छन् । उनको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएको उनीहरूको भनाइ छ ।

    २९ असारमा भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाएका थिए। प्रधानमन्त्रीको अभिव्यक्तिको नेपाल र भारतमा समेत सार्वजनिक रुपमा आलोचना भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारि गरेको हो ।

    परराष्ट्र मन्त्रालयको वक्तव्यको अनौपचारिक नेपाली अनुवाद
    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आदिकवी भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती समारोहमा व्यक्त गर्नुभएका विचारहरुलाई लिएर भइरहेका विविध व्याख्याहरुमाथि सरकारको ध्यानाकर्षण भएको छ । उक्त सन्दर्भलाई परराष्ट्र मन्त्रालय यसप्रकारले स्पष्ट पार्न चाहन्छ :  १) प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पु¥याउने आशय राखिएको थिएन ।

    २ श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो । ३) टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य राखेको छैन ।

    स्मरणीय यो छ कि विवाह पञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ । यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।

    यसैबीच नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

    प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै गौतमले ओलीलाई आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न फेसबुकमा सुझाव दिएका हुन् । यस्तो छ गौतमले प्रधानमन्त्रीलाई दिएको सुझाव–

    ”राम जन्मभूमि र विवाद
    नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो ।

    मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।

    क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्दथ्यो ।

    भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ ।

    संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौं ।

    राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।”

    यस्तै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले पनि ट्वीट गर्दै आलोचनात्मक चेत बिना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । उनले ट्वीटमा प्रधानमन्त्री ओलीको नाम भने उल्लेख गरेका छैनन् । तर, यो ट्वीट भने ओलीको विवादास्पद अभिव्यक्ति आएपछि लेखेका हुन् ।

    नेकपा नेता भीम रावलले सीमा विवादमा भारतसँग बहस गर्नुपर्ने बेला अयोध्याबारे बहस गरेको भन्दै ओलीको आलोचना गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्– ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

    प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा सोमबार नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका थिए । उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा चर्को विरोध भएको छ

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै प्रधानमन्त्रीबारे आएका समाचार भ्रामक, गलत र चरित्रहत्या गर्ने खालको भएको बताएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सूर्य थापाले ‘ग्लोबल वाच एनालिसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरुले प्रधानमन्त्रीको बारेमा गैरजिम्मेवारपूर्ण तथा बदनियतपूर्ण सामग्री सम्प्रेषण गरेको बताएका छन् ।

    स्विस बैंकको खातामा प्रधानमन्त्री ओलीको नाममा ५.५ मिलियन अमेरिकी डलर रहेको व्यहोरासहित प्रकाशित रिपोर्टहरु शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि थापाले स्पष्ट पारेका छन् । थापाले विज्ञप्तिमा भनेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।’

    राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला बदनाम गराउन अनेक तत्वहरु सक्रिय रहेको पनि थापाले बताएका छन् ।

    थापाले प्रेस वक्तव्य जारीगर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’

    सल्लाहकार थापाले केही सञ्‍चार माध्यमले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरीत कार्य गरेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरोकारवाला निकायसँग माग गरेका छन् ।

    ग्लोबल वाच एनालिसिसको हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमले तथ्यहीन समाचार प्रकाशित गरेपछि नेपालका केही अनलाइन मिडियाले पनि त्यसैलाई आधार बनाएर गलत समाचार प्रकाशित गरेका थिए ।

    यस्ताे छ विज्ञप्ति:

    “ग्लाेबल वाच एनालाइसिस”काे हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेकाे अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठाे सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएकाे छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेकाे वा यस्तै व्यहाेराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपाेलकल्पित रहेकाे स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकाे रवैया खेदजनक छ ।

    राष्ट्रिय हितकाे रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनकाे साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशाेधनजस्ताे महत्वपूर्ण निर्णयमा सिंगाे राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रकाे नेतृत्व सम्हालिरहनु भएकाे निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियाेजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेकाे प्रष्ट नै छ ।

    आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारकाे भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताकाे न्यूनतम जवाफदेहिता, जिम्मेवारीबाेध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।”

    अयोध्याबारे परराष्ट्र मन्त्रालयले निकालेको बिज्ञप्ति

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ