• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ‘अयोध्या र राम नेपालकै हाे’ भन्दै भारतबिरुद्ध खनिए प्रधानमन्त्री ओली, नयाँदिल्लीमा हलचल

    3.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनले ठोकुवा गरे ।

    भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा उनले भने,’हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने।

    अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै उनले भने, ‘(दशरथका) सन्तान (राम) पनि भारतीयका हुँदै होइनन्, ठाउँ (अयोध्या) पनि भारतीयको होइन । ठाउँ पनि नेपालको हो ।’

    उनले अयोध्या भारतले दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । त्यसबेला न टेलिफोन न मोबाइल रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कताबाट थाहा होस्, थाहा हुन सम्भव थिएन । नजिकै खोजिन्थ्यो र बिहे भइहाल्थ्यो ।’

    अयोध्या ठोरीमै भएको तर्क गर्दै उनले भने, ‘रामले सीतालाई (अहिले भनिँदै आएको) अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पुर्‍याइदिए, फर्किए ।’

    यसो भन्दा आफूमाथि विद्धानहरुले हमला गर्न सक्ने उनले बताए । प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताए। यसैबीच प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।

    सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषासाहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन्। एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन्।

    उनले सम्मानबापत प्राप्त गरेको रकममध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार रुपैयाँ कोरोना उपचार कोषलाई हस्तान्तरण गरे। ललितकलातर्फ अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे ‘सागर’(धनकुटा), कविराज पोखरेल (मोरङ) र मुनाराज शेर्मा (झापा) सम्मानित भएका छन्।

    यस्तै पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित ‘सिंगल’ (सुनसरी), साहित्य र कलातर्फ डीबी किराँती (सोलु) सम्मानित भए। सम्मानित हुने अन्य स्रष्टामा रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रकर्मीतर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ माया पौडेल (मोरङ), गीतसंगीततर्फ वीरध्वज शिवा (मोरङ) छन्।

    स्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, स्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए।

    उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ। सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई गत वर्षदेखि सम्मान सुरु गरेको हो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ