• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौं उपत्यकामा मात्रै ३४७ कोरोना संक्रमित, सरकारले थाल्यो यस्तो तयारी

    1.8K
    SHARES

    काठमाडौँ । नेपालका अन्य जिल्लामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण कम हुँदै गए पनि काठमाडौं उपत्यकामा भने बढ्दो क्रममा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा संक्रमण बढ्दा चिन्ता बढेको बताए ।

    डा. पाण्डेले उपत्यकाका तीन जिल्लामा शनिबारसम्म ३ सय ४७ जना संक्रमित भएको बताउँदै महाशाखाले समुदायमा संक्रमण हो कि होइन भन्ने एकीन गर्न लागि परेको जानकारी दिए । ‘हामीलाई चिन्ताको विषय बाहिर जिल्लामा संक्रमण कम भएको तर काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमितको संख्या बढिरहेको छ ।

    हालसम्म ३ सय ४७ जनामा संक्रमण भएको देखिन्छ । जसमा बाहिरबाट उद्धार गरी ल्याएका बढी छन् भने कहीँ पनि यात्रा नगरेका व्यक्तिमा पनि संक्रमण देखिएको छ,’ उनले भने, ‘समुदायमा संक्रमण एकीन गर्न परीक्षणको दायरा बढाउनै पर्छ, सुरु गरिसकेका छौं ।’

    उपत्यकाका ललितपुरको नखुटोल, भक्तपुर बोडे, काठमाडौं कोटेश्वर, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका शंखमुल, कपन, एयरपोर्ट, डिल्लीबजार लगायत ठाउँमा ३ हजार नमुना संकलन गरी परीक्षण गरिएकोमा ३ जनामा संक्रमण देखिएको निर्देशक पाण्डेले जानकारी दिए ।

    उनका अनुसार संक्रमितहरू कहिँ नगएकोले उनीहरूको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । उनका अनुसार देशभर हेर्दा समुदायमा संक्रमण ६ देखि ७ प्रतिशत रहेको छ ।

    पीसीआर विधिबाट परीक्षणलाई व्यापक बनाउने भन्दै डा. पाण्डेले दोस्रो चरणमा ४५ हजार नमुना लिने योजना रहेको जानकारी दिए । त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार जनाको स्याब लिइने छ । नमुना संकलन विशेष गरी भीडभाड हुने बैंक, कर कार्यालय, जोखिममा रहेका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरिएको उनले बताए ।

    त्यस्तै, विदेशबाट उद्धार उडानबाट आएकाहरूको पनि चाँडो परीक्षणको व्यवस्था मिलाइएको पनि डा. पाण्डेले जानकारी दिए । उनले भने, ‘रेस्क्यू फ्लाइटबाट आउने व्यक्तिहरूलाई होल्डिङ सेन्टर होस् वा क्वारेन्टाइनमा होस् । आएपछि ५ देखि १० दिनभित्र पीसीआर टेस्ट गर्छौं । सुरक्षित भएको अवस्थामा घर पठाउँछौं ।’

    भारतका विभिन्न नाकाहरूबाट आउने आउनेको पनि ५ दिन पुगिसकेपछि तुरुन्त परीक्षण गरिने जनाइएको छ । डा. पाण्डेले उच्च जोखिममा रहेका रौतहट, डडेलधुरा, पाल्पा लगायत १० जिल्लामा कोरोना परीक्षणका लागि नमूना लिने योजना रहेको जनाउँदै समुदायमा संक्रमण छ कि छैन भन्ने हेरिने बताए ।

    नेपालमा नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवलपरासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखाका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार योसँगै नेपालमा १६ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा थप १४७ जना निको भए

    पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ