काठमाडौं । नेपालमा मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाका कारण बाढीपहिरोले पुर्याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् ।
पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’
यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । ‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’
शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् ।
बुधबार राति मात्रै सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता भएका छन् । बाढी पहिरोले पुल, सडकलगायतका भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भइहेको छ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा ठूलो वर्षा भइरहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।
सिन्धुलीको हरिहरपुरगढी र आसापस ४ घण्टासम्म भारी वर्षा भएकाले सिस्नेरी, कोखाजोर, मरिन, बकैया तथा बागमती नदीमा बहाव खतराको तहभन्दा माथि पुगेको छ । यी नदी आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।
यस्तै मकवानपुर, उदयपुर तथा प्रदेश १ को तराई क्षेत्र र प्रदेश २ मा लगातार ६ घण्टासम्म वर्षा हुने भएकाले ती क्षेत्रका ससाना खोलाहरूमा समेत बाढी आउने खतरा रहको भन्दै सतर्क रहन महाशाखाले अपिल गरेको छ ।
यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्भर्ट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले बताए । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो ।
सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरुमा दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा बेलझुण्डीमा सबैभन्दा धेरै ८९.८ मिलिलिटर, उदयपरमा ८१.८ मिलिलिटर पानी परेको छ ।यस्तै बर्दघाटमा ७९.४, परासीमा ७८.२, धनुषामा ५७.२, पश्चिम राप्तीमा ५०.६, इलाममा ४८.८ र सिन्धुलीमा ४२.६ मिलिलिटर पानी परेको छ ।
जुलाई यता काठमाडौँमा ५६.७० मिलिलिटर, पोखरामा ५०८.५० मिलिलिटर, वीरेन्द्रनगरमा ११०.५० मिलिलिटर, विराटनगरमा २७.९० मिलिलिटर पानी परेको छ ।
यस्तै धनगढीमा १४.९, वीरेन्द्रनगरमा १४.३, नेपालगञ्जमा ७४, जुम्लामा ९.९, घोराहीमा ३३, भैरहवामा १३५.३, काठमाडौँमा २८.४, ओखलढुंगामा १३.६, धनकुटामा ४२.१, विराटनगरमा ३.७, धरानमा ५०.५, लुम्लेमा ८४.३, जनकपुरमा ८.४ र जिरीमा ८३ मिलिलिटर वर्षा भएको छ ।
भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार बेलुकासम्म देशभर २३ जनाले ज्यान गुमाएका छन् ।अन्य ३६ जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया