• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सार्वजनिक सवारी संचालकले ५० प्रतिशत बढी भाडा लिन पाउने

    9K
    SHARES

    काठमाडाैं । सरकारले अब सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने निर्णय गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताए ।

    सरकारकारकाे यस्ताे व्यवसायी पाेस्ने निर्णयले जनता रूवाउने निश्चित छ । लकडाउनको समयमा आर्थिक मन्दी भोगिरहेका नेपाली जनताहरुसँग अब व्यवसायीहरुले दोब्बर, तेब्बर भाडा असुल्ने निश्चितजस्तै बनेको छ । यस्तो संकटका बेला भाडा घटाउनुको सट्टा सरकारले बढाएपछ्यी जनता निरास बनेका छन् ।

    बुधबार सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ ।

    चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।

    साथै सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ । सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।

    यस्तै सरकारले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियत पूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । सो रकमबाट देशभरका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धिको काम अघि बढ्ने प्रवक्ता डा.खतिवडाले बताए ।

    यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ । भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री र नेपाललाई जोडेर आएका विषयवस्तुप्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मिडियाहरुमा प्रतिबन्ध लगाउनुभन्दा आफैं अनुशासनमा बस्ने भएपनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्ने उनले बताए । राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्र हितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्दै उनले भारतीय मिडियाहरुमा देखिएको पछिल्लो प्रवृत्तिका लागि राजनीतिक र कानूनी उपचार खोज्नुपर्ने उनले बताए ।

    त्यस्तै ट्याक्सी पनि चलाउन दिने निर्णय भएको छ । चालकबाहेक दुई जनासम्म यात्रु राखेर ट्याक्सी चलाउन दिने निर्णय भएको छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ ।

    यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्र चलाउनुपर्नेछ । निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् ।

    एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिका राख्न सकिनेछ । सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने अर्थमन्त्री खतिवडाले बताए ।

    यसैबीच सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको छ । सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए ।

    पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिए ।

    ‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

    भारतीय टिभीबाट प्रसारित समाचारबारे उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’

    सरकारले एकैपटक करिब ६० अर्ब वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गरेको छ । असार २३ मा बसेको मन्त्रिपरिषद् बैठकले थप १८ अर्ब वैदेशिक ऋण लिन समेत वार्ता टोली गठन गरेको छ । सरकारले स्वीकार गरेको कुल वैदेशिक ऋणमध्ये विश्व बैङ्कबाट ७२ अर्ब लिन लागिएको हो ।

    जसमा रणनीतिक सडक सुधार आयोजना र व्यापारिक मार्ग सुधार आयोजनाका लागि ३० करोड अमेरिकन डलर ऋण स्वीकार गर्ने निर्णय भएको छ । त्यस्तै, विश्व बैंकबाटै ‘स्केल अफ फेसिलिटी’ अन्तर्गत १५ करोड डलर ऋण पनि सरकारले स्वीकारेको छ । यी दुवै ऋण रकम करिब ५४ अर्ब बराबरका हुन् ।

    अर्थमन्त्रालयको प्रस्तावमा सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार विकासका लागि विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबाट थप १८ अर्ब ऋण लिन वार्ता टोली पनि गठन भएको अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । यो १८ अर्ब रकम २९ वटा नगरपालिकामा खर्च हुनेछ ।

    त्यसैगरी, नागरिक उड्डयन क्षेत्रमा सुधारको काम गर्न एसियाली विकास बैंक (एडीबी)बाट बजेट सहयोग अन्तर्गत प्राप्त हुने ६ अर्ब बराबरको ऋण सहायता पनि स्वीकार गर्ने निर्णय भएको खतिवडाले बताएका छन् ।

    मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

    मास्क नलगाई हिँड्नेलाई प्रहरीले ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गराउने भएको छ । मास्क/सेनिटाइजर प्रयोग नगर्ने तथा एकअर्काबीच भौतिक दूरी नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि ‘ठाउँको ठाउँ’ जरिवानाको व्यवस्था गर्न लागिएको हो ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई जरिवाना रसिद नै पठाइसकेको छ । परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले प्रशासनबाट १ सय रुपैयाँ दरको जरिवाना रसिद आइसकेको बताए ।

    संक्रामक रोग ऐन २०२० को दफा ३ मा संक्रमक रोग सम्बन्धी नियम उल्लंघन गरे १ सय रुपैवा जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । सोही दफामा नियम पालना गराउने क्रममा काममा अवरोध पुर्‍याए ६ सय रुपैया जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

    ‘प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य सावधानी नअपनाउनेलाई ठाउको ठाउ जरिवाना लिएर कारबाही गर्न निर्देशन दिइसक्नु भएको छ, बिहीबार नै प्रशासनबाट आवश्यक मात्रामा जरिवाना रसिद नै पाइसकेका छौं,’ ज्ञवालीले भने । अब सार्वजनिक स्थल/सडक तथा गल्लीमा प्रहरी परिचालन गरेर मास्क नलगाउनेबाट जरिवाना असुलिने उनले स्पष्ट पारे ।

    ‘जोखिम बढ्यो तर मानिसमा संक्रमणको त्रास र डरको मात्रा घट्दै गएको पाइयो,’ ज्ञवालीले भने, ‘थुनेर पनि सम्भव छैन, जरिवानाको अनुभूति भएपछि कानुन कार्यान्वयनमा सहज हुन्छ भनेरै मास्क नलगाउनेलाई कारबाही गर्न लागिएको हो ।’

    आज थपिए १०८ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

    नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

    कहाँ कति संक्रमित ?

    डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना र झापाका एकजना, जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, डोटीका २ जना, काठमाडौंका एकजना, नुवाकोटका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४ जना, नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    डा गौतमका अनुसार कीटिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महारागंजमा गरिएको परीक्षणमा बाग्लुङका एकजना, काठमाडौंका २ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, तनुहँका एकजना र म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका २ जना कास्कीका ४ जना र लमजुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना र दाङका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ३ जना, मुगुका २ जना र सुर्खेतका १८ जना, डडेल्धुरा अस्पताल डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४ जना, बाजुराका २ जना, कंचनपुरका २ जना र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया