• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्री बादलकाे यस्तो अभिव्यक्तिले नेकपामा खैलाबैला, नेताकार्यकर्ता रुष्ट

    5.8K
    SHARES

    काठमाडौँ । पार्टीभित्रको झगडाबारे सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिले सत्तारुढ दल नेकपामा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओली हटाउन केही दिनदेखि नेकपामा ओलीविरोधी खेमाका बैठक र भेलामा सहभागी थापाले मंगलबार भने ठीकविपरीत अभिव्यक्ति दिएका छन् ।

    गृहमन्त्रीसमेत रहेका थापाका दुई परस्परविरोधी अभिव्यक्तिले नेकपाभित्र चर्किएको सत्ता संघर्षलाई थप रहस्यमयी बनाएको केही नेताहरुको भनाइ छ । तर, मिडिया रिपोर्टमा एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिबारे थापाको चाहिँ कुनै प्रतिक्रिया आएका छैनन् ।

    नेकपाको सत्ता संघर्ष र विवादबारे थापाले असार १७ र २३ मा दिएका अभिव्यक्तिले उनको भनाइमा देखिएको अन्तर दर्शाउँछ ।१७ असारमा झम्सिखेलमा नेकपाको ओलीविरोधी समूहको भेलामा थापा सहभागी थिए । उनीबाहेक भेलामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित क्रमशः झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सचिवालयका ६ जना नेताबाहेक स्थायी कमिटीका अरु २४ नेता पनि भेलामा थिए ।

    भेलामा गृहमन्त्री थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने सुनाएका थिए । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा थापा सरकार बचाउने वा गिराउने कुन पक्षमा लाग्छन् भन्ने चासो भैरहेका बेला झम्सिखेल भेलामार्फत उनले आफ्नो कित्ता स्पष्ट पारेका थिए । त्यस दिन थापाले अब ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएका थिए ।

    त्यसदिन थापाले भनेका थिए–‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन र उपलब्धि जोगाउन अहिलेको सरकारको नेतृत्वबाट सम्भव छैन अब बदल्नुपर्छ । अहिले प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको लडाइँ चलेको छ । त्यसैले पार्टी र सरकारमा नयाँ नेतृत्व ल्याउनुपर्छ ।’

    जबकी असार १६ को स्थायी कमिटी बैठकमा अध्यक्ष दाहाल, वरिष्ठद्वय नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र सचिवालय सदस्य श्रेष्ठसहित १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागे पनि बादल बोलेका थिएनन् । तर, त्यसको अर्को दिन असार १७ मा उनी ललितपुरमा भएको दाहाल–नेपाल समूहका नेताको भेलामा सहभागी भएर ओलीको राजीनामा मागेका थिए ।

    यहीबीचमा शुक्रबार अर्थात् असार १९ सम्म आउँदा नेकपाको शक्ति संघर्षमा नयाँ मोड आयो । यस दिन प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाए । अनि आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र भएको सुनाए । योसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सिधासिधा भने–‘गम्भीर षड्यन्त्र भएको छ, तपाईंहरु सरकारको पक्षमा हो वा विपक्षीमा अब कित्ता स्पष्ट पार्नुस् ।’

    त्यसपछि पनि दाहाल, खनाल, नेपाल, गौतम, श्रेष्ठ र थापाबीच दाहाल निवासमा पटक–पटक छलफल भए । तर, मंगलबार अर्थात् असार २३ मा आफूलाई भेट्न पुगेका ओली निकट नेताहरुसँग थापाले असार १७ को भन्दा विल्कुलै फरक भनाइ राखे । उनले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताए ।

    राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको भेटमा थापाले सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तनले पार्टी एकताको भावना भत्किने र प्रतिक्रान्ति हुने धारणा राखेको प्रचार भएको थियो ।

    भेटपछि प्रमुख सचेतक भट्टराईले भनेअनुसार थापाले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्दा प्रतिक्रान्ति निम्तिने भएकाले सरकार गिराउन नहुने र पार्टी नेतृत्व पनि परिवर्तन गर्न नहुने धारणा राखेका थिए ।

    ‘कुनै नेतालाई निषेध गरेर जानु हुँदैन । अहिले पार्टी नेतृत्वलाई विस्थापित गर्दा प्रतिक्रान्तिहरु अगाडि आउँछन्, उनीहरुले जित्ने स्थिति हुन्छ । त्यसकारण पार्टी एकतालाई थप सुदृढ गरेर जाने हो, समस्या पैदा गर्ने हैन । मंसिर ४ मा जे समझदारी भएको थियो, त्यो समझदारीलाई थप व्याख्या गरेर अगाडि बढ्दा भइहाल्छ । अहिलेको समाधान त्यही हो भनेर उहाँले स्पष्ट रुपमा भन्नु भयो,’ भट्टराईले भने ।

    सचेतक भट्टराईका अनुसार थापाले असार १७ को ललितपुर भेलामा थापाले बोलेका कुरा गुटले कुप्रचार गरेको बताएका छन् । ‘ललितपुरको अगेनो रेस्टुरेन्टमा भएको भेलाको विषयमा मैले बोलेका कुरा गुटभित्रबाट कुप्रचार गर्न खोजियो । मेरो दृष्टिकोण त्यस्तो हैन,’ थापाको भनाई उद्धृत गर्दै भट्टराईले भने ।

    यसअघि गत वैशाख १७ मा नेकपाका सचिवालय बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । यो बैठकमा थापा ओलीले राजीनामा दिनुनपर्ने पक्षमा उभिएका थिए ।

    त्यो दिनपछि वैशाख २० मा बसेको सचिवालय बैठकमा नेकपामा ‘युद्धविराम’ भएको थियो । बैठकमा ओली र दाहालसहितका नेताहरूले आत्मालोचना गरेका थिए । त्यसदिन विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा पार्टी चलाउने र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय भएको थियो ।

    तर, पनि ओली र दाहाल–नेपाल समूहवीच विवाद र टकराव रोकिएन । र, असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा फेरि उठ्यो । यही श्रृंखलाबद्ध विवादमा थापाले आन्तरिक छलफल र भेटमा भिन्दाभिन्दै अभिव्यक्ति दिएको प्रचार भयो ।

    तर, विगतमा जस्तै पार्टी विवादमा सार्वजनिक अभिव्यक्ति दिनबाट भने उनी बचेका छन् । त्यसैले थापा निकट नेकपाका एक केन्द्रीय सदस्यले सुनाए, ‘पार्टीभित्र विकसित र फेरबदल भइरहने शक्ति सन्तुलनमा तराजु कता ढल्किएको छ र कता बस्दा सुरक्षित भइन्छ भन्ने हिसाबमै बोल्नु भएको होला नि !’

    दाहाललाई थापाको स्पष्टिकरण
    थापाको कुरा मिडियामा आएपछि अर्का अध्यक्ष दाहालले चासो राखेका थिए । खुमलटार स्रोतका अनुसार बुधबार दाहाल र थापाबीच यस विषयमा कुराकानी भएको थियो । ‘उहाँहरुसँग सामान्य रुपमा सैद्धान्तिक कुरा गरेको हो । तर, त्यहाँ भएका कुरा तोडमोड गरेर, बनाएर बाहिर आएछ । म आफ्नो अडानमा स्पष्ट छु,’ बादलले दाहाललाई भनेको भनाइ उद्धृत गर्दै सचिवालयका एक नेताले भने ।

    मंगलबार दुई अध्यक्षबीचको छलफलपछि सचिवालयका पाँच नेताबीच दाहाल निवास खुमलटारमा छलफल भएको थियो । वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ साँझ ५ बजे खुमलटार पुगेका थिए । मन्त्रिपरिषद्को बैठक भएकाले जानकारी दिएर थापा त्यो छलफलमा सहभागी नभएको ती नेताले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया