• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारतलाई अहिलेसम्मकै ठुलो झट्का, बन्यो कोरोनाबाट सबैभन्दा प्रभावित तेस्रो मुलुक

    2.3K
    SHARES

    काठमाडौं । भारत कोरोना भाइरस (कोभिड–१९) को कारण सबैभन्दा प्रभावित हुने मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ९७ हजार ४१३ पुगेको छ । यससँगै कोरोना संक्रमित संख्यामा भारतले रुसलाई पछि पारेको हो ।

    जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसका ६ लाख ८० हजार २८८ संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार २४८ नयाँ संक्रमित फेला परेका हुन् ।

    त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार ६९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ४२५ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई लाख ६ हजारभन्दा धेरै संक्रमित फेला पर्दा आठ हजार ८२२ जनाको मृत्यु भइसकेको छ ।

    तामिलनाडुमा अहिलेसम्म एक लाख ११ हजारभन्दा धेरै संक्रमित फेला पर्दा एक हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै दिल्लीमा पनि ९९ हजारभन्दा संक्रमित फेला परेका छन् भने तीन हजार ६७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २७ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७८५ जनाको मृत्यु भएको छ ।

    पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ७५७ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि ११ हजारभन्दा धेरै संक्रमित भेटिँदा ९५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका चार लाख २४ हजार ४३३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ कोरोना संक्रमितका लागि स्याहार गृह

    भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ । उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड-१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ ।

    २० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् । दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो ।

    भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

    एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा बढी प्रभावित अमेरिका छ भने त्यसपछि ब्राजिल प्रभावित मुलुकको रुपमा रहेको छ ।

    यसैबीच विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    यस्तै १ करोड १५ लाख ५५ हजार २८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

    यो समाचार तयार पार्दासम्म ६५ लाख ३१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ६९७ जनाको मृत्यु भएको छ ।

    २४ लाख ७७ हजार ५७२ जना संक्रमित भएकोमा १४ लाख ३० हजार ६२० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७५ हजार ३५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख ८७ हजार ६१९ पुगेको छ । त्यसमध्ये १५ लाख ६४ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा ६२ हजार १६३ जनाको मृत्यु भएको छ । २५ लाख ७९ हजार ४५२ जना संक्रमित भएकोमा १७ लाख ३८ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ९३ हजार ६८५ जनाको मृत्यु भएको छ । २५ लाख १४ हजार १३४ जना संक्रमित भएकोमा १५ लाख ५५ हजार ४८२ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ११ हजार ४०० जनाको ज्यान गएको छ भने ४ लाख ७९ हजार ८४५ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३० हजार १६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ९४ जना संक्रमित भएकोमा ८ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

    उता स्पेनमा फेरि कोरोना भाइरसको महामारी देखिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन सुरू गरिएको छ । कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा पुगिसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियाका विभिन्न ठाउँमा पुनः लकडाउन गरिएको छ ।

    ७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

    यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो । गालिसिया क्षेत्रमा फेरि २५८ जना कोरोना भाइरसका संक्रमित देखिएपछि महामारी फैलन नदिन सरकारी अधिकारी फेरि लकडाउनको निर्णयमा पुगेको बीबीसीले जनाएको छ ।

    वर्ल्डोमिटर्सका अनुसार स्पेनमा सोमबारसम्म २ लाख ९७ हजार ६२५ जना संक्रमित भएकामा ६१७ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २८ हजार ३८५ जनाको मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ