• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीले सुवास नेम्वाङमार्फत देउवालाई पठाए फेरी यस्तो सन्देश, नेकपादेखि कांग्रेससम्म हलचल

    812
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार देउवालाई भेटेका हुन् ।

    देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।

    संवैधानिक परिषदको बैठक बस्न नसकेका कारण अख्तियार,निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका हुन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् ।

    प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको साझेदारीमा सरकार सञ्‍चालन गर्नेसम्मको बारेमा छलफल भएको स्रोतको दाबी छ । औपचारिक रुपमा भने कांग्रेसँग सरकारको साझेदारी र ओलीलाई काँध थाप्ने कुरा नभएको नेताहरु बताउँछन् ।

    सभापति देउवाले जारी केन्द्रीय कार्यसमिति बैठकमै ओलीसँग असार १७ गते र आइतबार नेता सुवास नेम्वाङसँगको भेटबारे संक्षिप्त जानकारी गराएका थिए । उनले आफूलाई भन्दा भेटको चाँजोपाँजो मिलाउने कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बढी जानकारी भएको भन्दै भित्री कुरा भने खोल्न चाहेनन् ।

    सत्ता गठबन्धनका खेलाडी मानिने देउवाले दुवै भेटलाई संवैधानिक आयोगको पदाधिकारीहरुको नियुक्तिसँग जोडेका छन् । उनले आफूनिकट नेताहरुसँग असार १७ गतेकै भेटमा आयोगका पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटेको जानकारी गराएका थिए । नेम्वाङसँगको भेटमा संवैधानिक आयोगको नियुक्तिको विषयलाई जोड दिइएको छ ।

    आइतबारको भेटमा सहभागी नेता रिजालले सरकार निर्माण, सरकारको साझेदारी, ओलीलाई समर्थन दिने जस्ता विषयमा छलफल नभएको दाबी गरे । ‘न अहिले नेकपा विभाजन भएको सूचना निर्वाचन आयोगमा पुगेको छ, न त संसदमा अविश्वास आएको छ,’ रिजालले भने, ‘संवैधानिक आयोगमा विगतमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बाइपास गरिएर भएका नियुक्ति, आगामी दिनमा गरिने निर्णय र सत्तारुढ दलभित्रको क्राईसिसका बारेमा सामान्य छलफल भएका हुन् ।’

    ओलीले कांग्रेससँग निकटता बढाउन खोज्नु आफ्नो पार्टीभित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई दबाबमा राख्ने रणनीति हुनसक्ने आकलनसमेत गरिएको छ । जसलाई रिजालले पनि स्वीकारे । ‘नेकपाभित्रकै विवाद मिलाउनका लागि अर्को पक्षलाई दबाब दिनका लागि हुनसक्छ,’ रिजालले भने ।

    नेकपा नेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा सभापति देउवाले नेकपाभित्रको विवादमा आफू ओली र दाहाल कुनै पक्षतिर पनि देखिन नचाहेको बताएका थिए । ‘यो तपाईंहरुको आन्तरिक समस्या हो, म कुनै पक्षतिर पनि देखिन चाहन्न,’ देउवाको भनाइ उद्धृत गर्दै रिजालले भने । नेम्वाङले पनि आन्तरिक समस्या देखिए पनि मिलाउने प्रयास जारी रहेको जानकारी त्यस अवसरमा गराएका थिए ।

    यसैबीच ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।

    शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै यसका विरुद्ध लड्ने रणनीति सार्वजनिक गरेका थिए । त्यसको अर्को दिन भेटमा ओली र दाहालबीच सवालजवाफ भएको हो । दाहाल र ओलीबीच भएको संवादबारे दुवै समूहले आ–आफ्ना निकट नेताहरुलाई बताएका छन् ।

    छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्दै असन्तुष्टि पोखेका थिए । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस्’ भनेको नेकपाको उच्चस्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटारमै मन्त्रीहरु बोलाएर गलत सूचना प्रभाह गरेको भन्दै दाहालले पनि असन्तुष्टि पोखेका थिए ।

    दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाएका थिए । जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको स्रोतले जानकारी दियो ।

    शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए ।

    स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिएका थिए । बालुवाटारबाटै प्रधानमन्त्री आफैंले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको बताएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो ।

    ओलीसँग भेट गर्नुअगाडि दाहाल पार्टीका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई लिएर प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न राष्ट्रपतिकहाँ पुगेका थिए । राष्ट्रपतिलाई महाअभियोगको हल्ला सत्य नभएको भन्दै विश्वस्त हुन आग्रह गरिएको नेता खनालले बताए । हल्ला बालुवाटारबाटै फैलाइएको भन्दै उनीहरूले राष्ट्रपतिको संस्थालाई आफूहरूले विवादमा नपार्नेसमेत बताएका थिए ।

    ‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने ? कि प्रधानमन्त्रीको विपक्षमा जाने ? तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस् । तर, म तर अन्तिमसम्म यसको सामना गर्छु’प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुसँग भनेका थिए ।

    प्रधानमन्त्रीको भनाईमा कृषि मन्त्री घनश्याम भुसाल र उर्जा मन्त्री बर्षमान पुनले आपत्ति जनाएका थिए । उर्जामन्त्री पुनले यस्ता कुरा पार्टी बैठकमै गर्नुपर्ने भन्दै शंकाका भरमा षड्यन्त्र भयो भन्दै हिँड्न नहुने बताएका थिए । मन्त्री भुसालले शीर्ष नेताहरू अनावश्यक हल्लाको बहकाउमा लागेको उदाहरण आफूसँग धेरै भएको भन्दै सूचनाको दुरुपयोग भएको कुरा बुझ्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

    आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्ष ओली र दाहालबीच सवालजवाफपछि थप संवाद सोमबार गर्ने सहमति बनेको थियो । त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । चार नेताको गृहकार्यपछि सोमबार ओली–दाहालबीच संवाद गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठक बस्ने नेताहरुको तयारी छ । आइतबार दाहाल र ओलीसँगै पौडेल, पुन, पोखरेल र शर्मा पनि बालुवाटार छलफलमा उपस्थित थिए ।

    नेकपाको स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ । नेकपामा दाहाल–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने अडानमा छ । ओलीले अन्तिमसम्म लड्ने तर राजीनामा नदिने जवाफ दिएका छन् । यही विवादले असार १० बाट बसेको स्थायी कमिटी बैठक पटक–पटक स्थगित भएको छ । दुवैपक्ष भावी कदमबारे विमर्शमा जुटेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ