• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    कोरोना कोषबाट यतिधेरै रकम निकासा, कसलाई कति बाँडियो ? हेर्नुहाेस विस्तृतमा

    434
    SHARES

    काठमाडौँ। सरकारले ‘कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट सात प्रदेश र नेपाली सेनालाई गरी साढे ५५ करोडभन्दा बढी रकम निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलको अध्यक्षतामा बुधबार बसेको कोषको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बिहीबार रकम निकासा गरिएको हो । बलराम बानियाँले कनातिपुर दैनिकमा समाचार लेखेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार कोरोनाको जोखिम नियन्त्रण, आइसोलेसन स्थापना तथा सञ्चालन र संक्रमितको उपचार गर्न सात प्रदेशलाई कुल ३८ करोड रुपैयाँ उपलब्ध गराइएको छ । प्रदेश १ लाई ४ करोड, प्रदेश २ लाई ७ करोड, वाग्मतीलाई ४ करोड, गण्डकीलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णालीलाई ६ करोड र सुदूरपश्चिम प्रदेशलाई ६ करोड रुपैयाँ उपलब्ध गराइएको हो । प्रदेशगत संक्रमण प्रक्षेपणका आधारमा रकम उपलब्ध गराइएको निर्णयमा उल्लेख छ । यसअघि स्थानीय तह र अस्पताललाई मात्र कोषबाट रकम दिइएको थियो ।

    सरकारले कोरोना कोषबाट सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ । सैनिक अस्पताललाई आईसीयू कक्षलगायतका भौतिक पूर्वाधार निर्माण गर्न र औषधिलगायत स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न रकम दिइएको हो । सातै प्रदेशका ८४ पालिकालाई क्वारेन्टाइनको मर्मतसम्भार, खानपिन र बसोबासका लागि ७ करोड २२ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाहरूलाई घटीमा करिब ३ लाखदेखि बढीमा १७ लाख रुपैयाँसम्म रकम दिइएको छ ।

    स्वाब संकलन गर्न प्रयोग भएका नेपाली सेना, नेपाल वायु सेवा निगम र निजी क्षेत्रका हेलिकप्टर र जहाजको भाडाका लागि कोषबाट ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र त्रिवि शिक्षण अस्पतालका १२ जना बिरामी र संक्रमित १० स्वास्थ्यकर्मीको उपचारका लागि २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । कोषले आफूले निकासा गरेको रकम कानुनबमोजिम खर्च गर्न र त्यसको लेखा परीक्षण गराई प्रतिवेदन पेस गर्नसमेत सबै निकायलाई सर्कुलर गरेको छ ।

    सरकारले कोषबाट पहिलो पटक जोखिमयुक्त क्षेत्रका अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई ५ करोड १७ लाख ७९ हजार र दोस्रो पटक कोरोना परीक्षण प्रयोगशाला, क्वारेन्टाइन र सीमा क्षेत्रका होल्डिङ सेन्टरलाई २४ करोड रुपैयाँ निकासा गरेको थियो । तेस्रो पटकको निर्णयसँगै कोषबाट निकासा भएको रकम साढे ८४ करोड रुपैयाँ पुगेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको कोषमा अब १ अर्ब ५१ करोड रुपैयाँ बाँकी रहेको छ ।

    प्रदेश १ लाई ४ करोड, प्रदेश २लाई ७ करोड, वाग्मती प्रदेशलाई ४ करोड, गण्डकी प्रदेशलाई ४ करोड, प्रदेश ५ लाई ७ करोड, कर्णाली प्रदेशलाई ६ करोड, सुदूरपश्चिम प्रदेशलाई ६ करोड, ८४ पालिकालाई ७ करोड २२ लाख ६८ हजार, सैनिक अस्पताललाई ९ करोड २६ लाख ८० हजार, विमान भाडा  वाफत ८८ लाख ५५ हजार र दुई अस्पतालका संक्रमित स्वास्थ्यकर्मी र उपचारलाई २५ लाख बाँडिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ